मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २ शुक्रबार १०:०९:००
Read Time : < 1 मिनेट
समाचार

रसुवागढी, सान्जेन र माथिल्लो सान्जेनले स्थानीयलाई सेयर दिने 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १०:०९:००

रसुवामा निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाले जिल्लावासीलाई सेयर निष्कासन गर्ने भएको छ । गोसाइँकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी हाइड्रोपावरले प्रभावित स्थानीयवासीलाई ६८ लाख ४१ हजार १ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ । त्यसैगरी आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधीन ४२.५ र १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा सान्जेन जलविद्युत्ले प्रभावित स्थानीयलाई ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । 

रसुवागढी जलविद्युत्को सेयरमा गोसाइँकुण्ड गाउँपालिका १ थुमन र २ टिमुरेका स्थानीयलाई अतिप्रभावित वर्गमा राख्ने निर्णय भएको छ । त्यसैगरी, आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ लाई प्रभावित वर्गमा तथा बाँकी जिल्लावासीलाई सामान्य प्रभावित वर्गमा राखिने भएको छ । सेयरमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित वर्गमा पर्ने बासिन्दालाई क्रमशः ४.५ः१.५ः१ का आधारमा सेयर बाँडफाँड हुनेछ ।

त्यस्तै, सान्जेन जलविद्युत्को सेयरमा आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेलाई अति प्रभावित, आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङलाई प्रभावितमा र आमाछोदिङमो गाउँपालिकाका बाँकी वडाहरूलाई सामान्य प्रभावितमा राखिने भएको छ । त्यसैगरी, सम्पूर्ण जिल्लावासीलाई न्यून प्रभावित वर्गमा राख्ने निर्णय भएको छ । सेयर बाँडफाँड गर्दा क्रमशः ४.२५ः३ः१.५ः१ को व्यवस्था मिलाउन कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ ।