१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रकाश कँडेल काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:५६:००
Read Time : > 1 मिनेट
खेलकुद

जुमानुको ह्याट्रिकसँगै पुलिस शीर्ष ६ मा

Read Time : > 1 मिनेट
प्रकाश कँडेल, काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:५६:००

यसपटकको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ह्याट्रिक दुर्लभ बनेको छ । फुटबल समर्थकले लिगको ८७औँ खेल समाप्तिसम्म केवल दुई ह्याट्रिक मात्र देख्ने अवसर पाए । लिगको पहिलो ह्याट्रिक ६४औँ खेलमा थ्री स्टारका संजोग राईले सरस्वतीविरुद्ध गरेका थिए । त्यसपछि दोस्रो ह्याट्रिक लिगको ८५औँ खेलमा बिहीबार सम्भव भयो । एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा नेपाल पुलिसले फ्रेन्ड्सलाई ३–० ले पराजित गर्दा अनुभवी खेलाडी जुमानुले लिगमा आफ्नो पहिलो गोल मात्र गरेनन्, ह्याट्रिकसमेत प्रहार गरे । उनको उत्कृष्ट प्रदर्शनमा पुलिसले लिगको शीर्ष ६ मा स्थान पक्का गर्‍यो । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि प्रशिक्षक अनन्तराज थापाले जुमानुलाई ४६औँ मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान पठाएका थिए । जुमानुले ४९औँ मिनेटमा पहिलो गोल गरे । त्यसपछि जुमानुले ५६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । मैदान प्रवेश गरेको ४० मिनेट अर्थात् खेलको ८५औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरे । जुमानुको उत्कृष्ट प्रदर्शनमा पुलिस २० अंकका साथ पाँचौँ स्थानमा उक्लिन सफल भयो । यससँगै अब अन्य टोलीको शीर्ष ६ मा पुग्ने सम्भावना समाप्त भएको छ । 

फ्रेन्ड्सविरुद्ध तीन अंक बटुलेपछि पुलिसका प्रशिक्षक अनन्त थापाले ठूलै राहत महसुस गरे । उनले भने, ‘हाम्रा लागि लिग उतार–चढावपूर्ण रह्यो । यद्यपि, हामी शीर्ष ६ मा स्थान बनाउन सफल भयौँ । समग्र टोलीका लागि यो राम्रो नतिजा मान्नु पर्छ ।’ उनले लिग अवधिभर पुलिसले एकरूप प्रदर्शन गर्न नसकेको बताए । उनले लिग अवधिभर डिफेन्समा कमजोरी देखिएको बताए । 

संकटाको गोल वर्षा

शीर्ष ६ स्थान बनाउन नसके पनि जितका साथ संकटाले लिगको सुखद अन्त गरेको छ । लिगको १२औँ चरणमै रेलिगेसनमा परेको सरस्वतीमाथि संकटाले ६–२ को प्रभावशाली जित निकाल्यो । संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यसैगरी, सुवास गुरुङ, टीकाराज गुरुङ र रोशन पहाडीले एक–एक गोल गरे । संकटाले एक आत्मघाती गोल उपहारका रूपमा पायो । सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । संकटा र सरस्वतीबीचको खेल जारी लिगकै हाई स्कोरिङ रह्यो । दुवै क्लबले समग्रमा आठ गोल गरेका थिए । संकटाका प्रशिक्षक विजय महर्जनले टोलीको लक्ष्य पूरा नभएको बताए । साबिक उपविजेता संकटा शीर्ष ६ सम्म पनि नपुग्दा दुःख लागेको महर्जनले बताए । 

आशिष सर्वाधिक गोलकर्ता

एपिएफले ब्रिगेड ब्वाइजविरुद्ध १–१ को बराबरी नतिजा निकाल्दा स्ट्राइकर आशिष लामाले एक गोल गरेका थिए । लामाले लिगमा नौ गोल पूरा गरे । यससँगै उनले लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थान बलियो बनाएका छन् । लिगमा खराब प्रदर्शन गरेको एपिएफका लागि आशिषको प्रदर्शन भने सम्झनलायक रह्यो । युवा स्टार आशिषले आफूलाई राष्ट्रियस्तरको खेलमा अब्बल खेलाडीका रूपमा स्थापित गर्दै लगेका छन् । गत वैशाखमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आशिषले ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनाएका थिए । जारी लिगमा आशिषलाई च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले पछ्याइरहेका छन् । साहुखलले लिगमा सात गोल गरेका छन् । आशिषलाई पछि पार्न साहुखलले थ्री स्टारविरुद्धको अन्तिम खेलमा कम्तीमा तीन गोल गर्नुपर्नेछ ।