• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:१६:००
सम्पादकीय

घरेलु श्रमिकको मोह

नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:१६:००

घरेलु कामदारको नेपाली परिभाषा अहिलेसम्म पनि परम्परावादी छ । दुई पुस्ता पहिलेसम्म नेपालमा धनीमानीले दासदासी राख्ने चलन थियो । तिनको सारा जीवन र श्रम आफ्ना मालिकका लागि समर्पित हुन्थ्यो ।  आफ्नो भन्ने केही नभएका यस्ता दासदासी राख्ने परम्परामाथि चन्द्रशमशेरले हस्तक्षेप गरे । तैपनि सस्तो ज्यालामा वर्षौंसम्म घरेलु नोकरका रूपमा तराईतिर हरूवाचरुवा राख्ने चलन कायमै रह्यो । पहाडमा गोठालाका नाममा घरेलु श्रमिक कायमै रहे । काठमाडौंका सम्भ्रान्त र उच्चवर्गीय परिवारमा सहयोगीका रूपमा भान्से बाहुन या बाहुनी राख्ने, गोठाला या नोकरचाकर राख्ने परम्परा तोडिएन ।

उता पश्चिम तराईका थारूहरू त पहाडिया मालिकको सेवा गर्नै जन्मेको जस्तो गरी कमैया या कमलरी बस्ने बाध्यताका सिकार बनिरहे । यता पछिल्लो समय उठिरहेका बालअधिकार र घरेलु कामदारका नयाँ परिभाषासम्बन्धी बहसले यस्तो परम्परामा हस्तक्षेपको प्रयास गरेको भए पनि व्यवहारमा भने अनेक रूपमा यो विद्यमान छ । अहिले पनि उच्च ओहोदाका सरकारी कर्मचारी, सेना र प्रहरीका हाकिम, नेता तथा कथित साहु–महाजनले घरेलु श्रमिक राखिरहेका छन् ।

यहाँनेर के प्रस्ट हुनु जरुरी छ भने घरेलु श्रमिक राख्न पाइने र नपाइने बहस यहाँ गर्न लागिएको होइन । बरु घरेलु श्रमिकले पनि अरू सेवा क्षेत्रका उद्योग तथा व्यवसायमा काम गरेसरहको पेसागत सुरक्षा र अधिकार पाउनुपर्छ भन्ने नयाँ परिभाषा ठीक हो भन्ने अर्थमा घरेलु श्रमिकको परिभाषामा परिवर्तन ल्याउनु जरुरी देखिएकाले बहस उठाउन गरिएको हो । काठमाडौंमा एक वर्षका बीचमा भएका दुईवटा हत्याकाण्डमा घरेलु श्रमिक संलग्न रहेको देखिएपछि यस्तो बहस पनि सतहमा आएको छ ।

बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्ने, नपढाउने, काम धेरै लगाउने तर ज्याला एकदम थोरै दिने या खान–लाउन दिएकै भरमा उनीहरूको श्रमशोषण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसप्रति सजग भइएन र घरेलु श्रमिकलाई पनि अन्य संस्थागत तथा अनौपचारिक सेवा क्षेत्रका कामदारसरह सुविधा निश्चित गरिएन भने यसलाई शोषणकै अर्को रूप या दासदासी प्रथाकै अर्थमा बुझिनु जरुरी छ ।

अहिले पनि उच्च ओहोदाका सरकारी कर्मचारी, सेना र प्रहरीका हाकिम, नेता तथा कथित साहु–महाजनले घरेलु श्रमिक राखिरहेका छन्

यता नेपालमा एकपटक शक्तिमा पुग्नेहरूले सरकारी सुविधाबाटै  आफ्ना लागि सेवक राख्ने पुरानो चलन खासगरी सुरक्षा निकायमा कायम छ । कतिसम्म भने एकपटक उच्च पदमा आसीन भएर सेवा गरेपछि राज्यकोषबाट तलब खाने गरी सैनिक र प्रहरी जवानलाई घरेलु नोकरसरह काममा लगाइरहने सामन्ती चिन्तन हाम्रो राजनीतिक नेतृत्वमा पनि हाबी छ । यस मामिलामा पूर्वगृहमन्त्रीहरू सबैभन्दा बदनाम छन् ।

आफूलाई प्रजातन्त्रवादी, समाजवादी या जनवादी प्रगतिशील भन्ने भ्रष्टाचारको विरोधीका रूपमा पनि चिनाउन चाहने र आफूले भने भूतपूर्व भइसकेको वर्षौंसम्म गृह मन्त्रालयमातहतको सुरक्षा निकायबाट सरकारी तलब खाने गरी घरेलु नोकर राख्ने घिनलाग्दो परम्परा हाम्रा नेताहरूले विकास गरेका छन् । अरू विषयमा बाझाबाझ र हानाहान गर्ने सत्तारुढ र प्रतिपक्षी दलका नेताहरू यस मामिलामा भने एकमत हुने गरेका छन् ।

भूतपूर्व भइसकेपछि पनि सरकारी गाडी लिने, प्रहरीलाई नै ड्राइभर, भान्से र गार्डका रूपमा राख्ने र रवाफ देखाउने घोर सामन्ती चिन्तन बोकेकाहरूले घरेलु श्रमिकका पक्षमा निर्णय गर्ने सम्भावनै भएन । राणाशासनमा जन्मँदै जर्नेल हुने र राज्यबाट सुविधा लिने गरेको इतिहास अहिले हाम्रा राजनीतिक दलका नेताले पनि कायम राख्न चाहेका छन् । यिनीहरूको यो ढस्साबाट मुक्त नभई लोकतन्त्र कसरी बलियो हुन्छ ?