मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०७:५४:००
Read Time : > 1 मिनेट
अर्थ

काँकडभिट्टादेखि पथलैयासम्म ४ लेनको सडक बनाइँदा ७२ हजार रूख काटिने

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०७:५४:००

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि पथलैयासम्मको २ लेन सडकलाई ४ लेनमा विस्तार गर्न ७२ हजार ८८ रूख काट्नुपर्ने अध्ययनले देखाएको छ । सडक विभागले गरेको वातावरणीय तथा सामाजिक मूल्यांकन प्रतिवदेनका अनुसार झापाको काँकडभिट्टादेखि बाराको पथलैयासम्मको ३ सय ६६ किलोमिटर सडक विस्तार गर्दा सबैभन्दा धेरै मोरङमा २८ हजार ३ सय २७ रूख काट्नुपर्ने देखिएको छ । 

त्यसपछि झापा र रौतहटमा क्रमशः १५ हजार २ सय २६ र १० हजार ६ सय ६६ रूख काट्नुपर्ने हुन्छ । नियमानुसार काटिने एक रूखको बदला २५ बिरुवा रोप्नुपर्ने हुन्छ । ७२ हजार रूख काटनुपर्दा १८ लाख बिरुवा रोपिदिनुपर्ने हुन्छ । बिरुवा मर्ने र सुक्नेसमेतको गणना गरी करिब २४ लाख ७१ हजार १ सय २३ बिरुवा रोप्नुपर्ने अध्ययनले देखाएको छ । यसका लागि १ हजार १ सय २६ हेक्टर आवश्यक पर्छ । 

वातावरणमा उच्च जोखिम 
अध्ययनले यो आयोजनालाई उच्च जोखिममा राखेको छ । सडक विस्तार गर्दा वन्यजन्तुको बसाइँसराइ र आवत–जावतमा पनि असर पर्ने उल्लेख छ । यस क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्ष पर्छन् । काँकडभिट्टादेखि पथलैयासम्म १० जिल्ला पर्छन् । धनुषा, सिराहा, सप्तरी र सुनसरीमा भने न्यून मात्रामा मात्र रूख काट्नुपर्ने उल्लेख छ । सडक विस्तार गर्दा ३ सय ४१ हेक्टर थप जमिन प्रयोग हुनेछ । 

१ हजार २ सय ४९ घर भत्काउनुपर्ने 
प्रतिवेदनले सडक विस्तार गर्दा १ हजार २ सय ४९ घर भत्काउनुपर्ने औँल्याएको छ । यसबाट ५ हजार ९ सय ७१ जना प्रभावित हुनेछन् । त्यस्तै, २ सय ६ वटा सार्वजनिक संरचनामा असर पर्ने देखिएको छ । यसबाहेक १ सय ८ बसपार्क, ६६ मन्दिर, १ सय ४० पुल, ३० पोखरी, ६ पार्क र ८ सय ८५ वटा धार्मिक रूख (बरपीपल, चौतारा) र ३५ दाहसंकार स्थलसमेत प्रभावित हुनेछन् । ५ हजार ३ सय २९ विद्युतीय खम्बा, ९ सय ३७ वटा खानेपानी वितरणका पाइप र ८ सय ३९ वटा विद्युत् तथा टेलिफोन केबलमा असर पर्ने वातावरणीय तथा सामाजिक मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

काँकडभिट्टादेखि पथलैयासम्म ४ खण्डको अवस्था 
सडक विभागले काँकडभिट्टादेखि पथलैयासम्मको ३ सय ६६ किलोमिटर सडकलाई ६ खण्डमा विभाजन गरेर विस्तार गर्ने योजना बनाएको छ । काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ दशमलव ५२ किलोमिटर अहिल्यै स्तरोन्नति गर्ने आयोजनामा छ । बिर्तामोड कञ्चनपुरको १ सय ३१ किलोमिटरमा विस्तार तयारी चरणमा छ । त्यस्तै, कञ्चनपुर कमलाखण्डको ८७ दशमलव २९ किलोमिटरको ठेक्का लाग्ने प्रक्रियामा छ । कमला–ढल्केबर–पथलैया खण्डको १ सय ३० किलोमिटर खण्डमा भने सम्भाव्यता अध्ययन भइरहेको छ । 

विभागका अनुसार अधिकांश ठाउँको जग्गा राजमार्गको ५० मि. क्षेत्रसम्म २० असार ०३४ मा नेपाल राजपत्रमा सूचना जारी गरेर सडक विभागको स्वामित्वमा ल्याइसकिएको छ । प्रस्तावित स्तरोन्नतिको कार्य सडकको यही अधिकार क्षेत्रभित्र रहेर गरिने तयारी छ । ‘केही ठाउँमा भने जग्गा अधिग्रहरण गर्नुपर्ने हुन सक्छ,’ उनले भने । सडक विभागको प्रस्तावमा विश्व बैंकले कमला–ढल्केबर–पथलैयामा लगानी गर्दै छ । त्यस्तै, एसियाली विकास बैंकले कञ्चनपुर कमलाखण्डमा लगानी गर्ने तय भइसकेको छ ।