सुनसरीको चतरास्थित सप्तकोसी नदीमा एक वर्षदेखि सञ्चालन हुँदै आएका जेटबोट बुधबारदेखि बन्द भएका छन् । असुरक्षा बढेको भन्दै व्यवसायीले विज्ञप्ति जारी गरेर जेटबोट सेवा बन्द गरिएको घोषणा गरेका हुन् ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले सप्तकोसीमा साना– ठूला गरेर ७ वटा जेटबोट सञ्चालन गर्दै आएका थिए । ती जेटबोटले भारदह पुलदेखि बराहक्षेत्र, भोजपुर, धनकुटाको त्रिवेणीघाट, सिम्लेलगायत ठाउँमा दैनिक सेवा दिँदै आएका थिए । व्यावसायिक असुरक्षा बढेकाले सेवा बन्द गर्न बाध्य भएको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताए ।
कानुन नहुँदा समस्या
पानी जहाज सञ्चालनका लागि राज्यले कुनै कानुन नबनाउँदा सुरक्षा बढेको कार्कीले बताए । ‘कानुन नहुँदा स्थानीयले धेरै दुःख दिए । व्यावसायिक सुरक्षाको प्रत्याभूति भएन,’ कार्कीले भने, ‘आवश्यक कानुन र सुरक्षाको प्रत्याभूति नभएसम्म अब बोट सञ्चालन नगर्ने निष्कर्षमा पुगेका छौँ ।’
धानमन्त्री केपी शर्मा ओलीको भाषणको विश्वासमा करोडौँ लगानी गरेर बोट सञ्चालन गरे पनि स्थानीय सरकारले सहयोग नगरेको गुनासो उनले गरे । ‘स्थानीय सरकारले हाम्रो समस्यामा आँखा चिम्लियो,’ कार्कीले भने, ‘बन्द गर्नुभन्दा अर्को कुनै विकल्पै रहेन ।’
सप्तकोसीमा १८ देखि ६० जनासम्म अट्ने बोट सञ्चालन हुँदै आएका थिए । बोट सञ्चालनपछि स्थानीयलाई तराई–पहाड आवतजावतमा सहज भएको थियो । आवतजावतसँगै खाद्यन्नलगायत सामान ओसारपसार गर्न पनि स्थानीयलाई सहज भएको थियो ।
दैनिक सात सय यात्री प्रभावित
बोट सेवा बन्द हुँदा भोजपुर, खोटाङ र धनकुटाबाट तराई आउजाउ गर्ने यात्रु मर्कामा परेका छन् । बोटमार्फत दैनिक करिब सात सय यात्रुले सेवा लिँदै आएका थिए । ‘पैदल हिँड्दा दिनभरि लाग्ने बाटो यात्रुले बोटबाट २० मिनेटमै पार गर्दै आएका थिए,’ कार्कीले भने, ‘तर, स्थानीयको असहयोग र व्यावसायिक असुरक्षा बढेकाले बोट सञ्चालन गर्न सकेनौँ ।’ बोटका दैनिक सात सय यात्रुमध्ये तीन सय आन्तरिक पर्यटक हुने गरेका व्यवसायीको भनाइ छ ।