सूचना प्रविधिसम्बन्धी विधेयकमा प्राथमिकताका साथ डिजिटल हस्तारक्षरलाई राखिएको छ । सरकारले यसै विधेयकका माध्यमबाट डिजिटल हस्ताक्षरलाई कानुनी मान्यता दिने छ ।
तर, यसबारे देशमा धेरै मानिसहरु अनविज्ञ रहेको अवस्था छ । आखिर के हो त डिजिटल हस्ताक्षर ? आउनुस् यसबारे केही जानौं ।
विश्व डिजिटलमैत्री भएसँगै चिठ्ठि–पत्रको सट्टा ई–मेल, मेसेज लगायतका माध्यमहरु सञ्चारका लागि प्रयोग हुन थालेका छन् । यस्तो अवस्थामा अब सरकारी वा संस्थागत कागजी कामहरुलाई इन्टरनेटबाट पठाए पनि यदि त्यसमा डिजिटल हस्ताक्षर छ भने मात्र सरकारी मान्यता पाउने छ ।
नेपालमा हाल प्रयोगमा ल्याउन लागिएको यो प्रविधि अमेरिकाको संसदले भने सन् २००० मा नै पास गरिसकेको छ । त्यहाँ औंठा छाप र हातले गरिने हस्ताक्षर जस्तै डिजिटल हस्ताक्षरले पनि कानुनी मान्यता पाएको हो ।
२०७५ साल फागुन २ गते दर्ता गरिएको सूचना प्रविधि विधेयकमा डिजिटल सिग्नेचर अर्थात डिजिटल हस्ताक्षरको व्यवस्था गरिएको छ । यो विधेयक पास भएमा नेपालमा डिजिटल हस्ताक्षरले कानुनी मान्यता पाउने छ ।
यद्यपी डिजिटल हस्ताक्षर के हो ? र कसरी काम गर्छ ? भन्नेबारे धेरैलाई भने ज्ञान नभएको देखिन्छ ।
के हो डिजिटल हस्ताक्षर ?
डिजिटल भन्ने बित्तिकै हामीले इलेक्ट्रोनिक भन्ने बुझ्छौँ । कम्प्युटर, मोबाइल लगायतका साधनहरुमा हामीले देख्ने सबै कुराहरु डिजिटल हुन् ।कार्य सहजता एवं निश्चितताका लागि देशका सरकारी, अर्धसरकारी, निजी लगायत ठुलादेखि साना आर्थिक कारोबार गरिने ठाँउमा कम्प्युटर मुख्य रुपले प्रयोग हुँदै आएको छ ।
त्यससँगै कम्प्युटरमार्फत गरिने विभिन्न किसिमका कारोबारहरु हस्तलिखित भन्दा पनि डिजिटल माध्यमबाट हुने गर्छन् । जस्तो की हामीले चिठ्ठीको सट्टा ई–मेलको प्रयोग गर्छाैं । कागजमा कलमले लेखिने कुराहरु कम्प्युटरको ‘माइक्रोसफ्ट वर्ड’मा लेखेर मेल गरिन्छ ।
यसरी डिजिटलरुपमा प्रयोग हुन थालेका प्रत्येक कुराहरुलाई सक्कली हो र सम्बन्धित मानिसले नै लेखेर पठाएको हो भनेर कानुनी रुपमा ठहर गर्न कै लागि डिजिटल रुपमै पठाउने मानिसले राख्न सक्ने प्रमाण नै डिजिटल हस्ताक्षर हो ।
जस्तो की, मानौं तपाइले कुनै बैंकमा आर्थिक कारोबारसम्बन्धी स्टेटमेन्ट लेख्नु भयो । त्यसक्रममा माइक्रोसफ्ट वर्डमा तपाइले उक्त स्टेटमेन्ट लेख्नु हुन्छ, र बैंकलाई मेल गर्नुहुन्छ । अब, त्यो स्टेटमेन्ट तपाई आफैले लेखेको हो भनेर प्रमाणित गर्न आफ्नो डिजिटल हस्ताक्षर राख्न सक्नु हुन्छ ।
यसरी तपाइले मात्रै राख्न सक्ने हस्ताक्षर राखिएपछि उक्त स्टेटमेन्ट तपाइले नै पठाएको हो भनेर कानुनी रुपमा पनि प्रमाणित भएको मानिने छ ।
कसरी काम गर्छ डिजिटल हस्ताक्षरले ?
खासमा विद्युतीय हस्ताक्षर भनेको स्मार्ट टोकन, स्मार्ट कार्ड वा अन्य कुनै इक्रिप्टेड क्रिप्टो–टोकनमा दिइने व्यक्तिगत परिचय अर्थात आइडेन्टिटी हो ।
जस्तैकी तपाइको बैंक एटिएम कार्ड एक किसिमको इन्क्रिप्टेड क्रिप्टो–टोकन हो । डिजिटल हस्ताक्षरका लागि प्रयोग गरिने इन्क्रिप्टेड क्रिप्टो–टोकन, पेन–ड्राइभ आकारका हुन्छ । यसमा दुई किसिमका पासवर्ड रहेका हुन्छन् । एटीएम कार्डको पीन नम्बर जस्तै(प्राइभेट ‘की’) डिजिटल हस्ताक्षर गर्न प्रयोग हुन्छ ।
जस्तै तपाइले एटीएमबाट पैंसा झिक्ने बेला पासर्वड हान्नु हुन्छ, त्यसरी नै डिजिटल हस्ताक्षर गर्ने बेला प्राइभेट ‘की’ हान्नु पर्छ । यसमा अर्काे पब्लिक ‘की’ पनि राखिएको हुन्छ । अर्थात पासर्वड अरुलाई पनि दिन सकिन्छ ।
कसरी गर्ने विद्युतीय हस्ताक्षर
तपाइले कम्प्युटरको माइक्रोसफ्ट वर्डमा कुनै निवेदन लेख्नु भयो, अब तपाइले आफुसँग भएको पेन–ड्राइभ जस्तै डिजिटल हस्ताक्षर गर्ने क्रिप्टो टोकनलाई कम्प्युटरमा हाल्नुपर्छ । त्यसपछि कम्प्युटरमा क्रिप्टो टोकन एक्सेस हुन्छ ।
माइक्रोसफ्ट वर्डमा लेखिरहेको निवेदनको मुनि डिजिटल हस्ताक्षर गर्न ‘इन्सट’ भनेर लेखिएको अप्सनबाट सिग्नेचर लाइनमा क्लिक गर्नुपर्छ । त्यसपछि सिग्नेचर गर्ने बेला तपाइले राखेको प्राइभेट की अर्थात पासर्वड माग्छ । पासवर्ड हानेपछि त्यहाँ तपाइको हस्ताक्षर बस्छ ।
यसरी हस्ताक्षर गरेर ‘सेभ’ गरेको फाइललाई मेलमार्फत अथवा अन्य कुनै माध्यमबाट पठाउनु पर्ने व्यक्ति वा संस्थालाई पठाउन सकिन्छ । सरकारी कार्यालयदेखि यस्तो प्रविधि अपनाएका संस्थामा डिजिटल हस्ताक्षरको प्रयोग गरेर कागजी माध्यमबिना नै आधिकारीक रुपमा विद्युतीय कारोबार गर्न सकिन्छ ।
कहाँ बनाउँने डिजिटल हस्ताक्षर
सरकारबाट इजाजत प्राप्त कम्पनीमार्फत डिजिटल हस्ताक्षरका लागि क्रिप्टो टोकन बनाउन सकिन्छ । त्यसका लागि दर्ता गर्ने निकाय वा ‘रजिष्ट्रेसन अथोरिटी’को रुपमा कार्यरत नेपाल सर्टिफाइङ कम्पनीमा गएर डिजिटल हस्ताक्षर प्राप्त गर्न सकिन्छ ।