Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७६ फाल्गुण १ बिहीबार १७:५८:००
फिचर

बुवाले भन्नुभयो, ‘क्रान्ति गर्छु भनेर हिँडिस्, क्रान्ति गरिस् हैन ?’

२०७६ फाल्गुण १ बिहीबार १७:५८:००

०६१ साल माघ १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कू गरे ।  मुलुक संकटकालमा गयो । त्यसको केही समयपछि पक्राउ परेका माओवादी नेता सुदन किराँती अहिले संघीय सांसद छन् । 

प्रस्तुत छ, सांसद किराँतीको जनयुद्ध अनुभव :

०००

सुदन किराँती लामो समयदेखिको छातीको विरामी थिए । विराटनगर गएर सामान्य उपचार गरेर चारैजना फिरे सिन्धुलीतिर । रुट थियो– सिराहाको बोर्डर साइड हुँदै सिन्धुलीसम्मको ।

सिराहाको पट्नारीमा एउटा घर थियो । केही दिन अघिसम्म माओवादीहरू कन्ट्याक्ट लिएर बस्ने घर । चारैजना त्यहीँ पुगे । तर, त्यहाँ विद्रोही छन् भनेर सेनामा सूचना पुगिसकेको रहेछ । सेनामा सूचना पुगेको खबरपछि त्यहाँ रहेका माओवादीहरू सिफ्ट भइसकेका रहेछन् । त्यहाँका मान्छेले पनि भन्दै थिए, सेना आएका छन् ।

अन्य सहयोद्धाहरू सिफ्ट भइसकेको जानकारीपछि चारजना पनि हतारैमा हिँडे । निक्र्यौल थियो– डेन्जर जोनमा परियो । 

बूढापाका भन्थे– साइतमै हिँड्नुपर्छ । साइतको कुरै थिएन । हतारहतारमा बाइकमा कुद्न थाले । तर, सिराहा इन्चार्ज सुवास यादवले दिसा कुल्चेछन् । अलि पर मोटरसाइकल रोकेर सुवासले भने, ‘ओहो, मैले त दिसा कुल्चेछु । दिसा सफा गरेर जाऔं न ।’ 

छेउमा कल थियो । सुवासले जुत्तामा पानी लगाएर झाडुले दिसा पुछ्न थाले । यही मौकामा सुदन घरको पेटीमा बसेर दाँत माझ्न थाले । सेक्रेटरी अशोक मण्डल खाटमा एकछिन सुस्ताए ।

दाँत माझ्दै सुदनले यसो बाहिर हेरे । ‘के भएछ’ भनेर सुदन फुत्त बाहिर निस्केका के थिए, छ जना सेना अगाडि देखिए । त्यसपछि को को के भए, कता गए, सुदनलाई पत्तो भएन । सुदनले दक्षिणतिर अनुहार फर्काएका थिए । केही थाहा नपाएजस्तो गरेर त्यतै लागे । केराघारि र लसुनबारी थियो । आत्तिनु पनि भएन, नत्र शंका गरिहाल्ने । तर, सेनाले ‘सी’ आकारमा घेरो हालिसकेका रहेछन् । ती ६ जना चाहिँ ‘ओ’ आकारको घेरो हाल्नका लागि कुदेर आएका रहेछन् । 

गोली चल्यो, भुटुटु.. । तर हवाइ फायर रहेछ । सुदन ढुक्कले दाँत माझिरहे । सेनाहरू बन्दुक सोझ्याएर सुदन नजिक आइपुगे । 

‘हात उठा !’

सुदनले हात नउठाएपछि पछाडिबाट बन्दुकको कुन्दा सुदनको टाउकोमा बज्रियो । फागुनको दिन । उनी भक्लक्क ढले । 

बिस्तारै होस खुल्यो ।

गलबन्दी लगाएका थिए । त्यही गलबन्दीले हात पछाडि बाँधियो । आँखामा पट्टी बाँधियो । 

सुदनहरूलाई लागिरहेको थियो, ‘पक्का, मुठभेड भनेर मारिइनेछौँ ।’

सुदनले मर्नुपरेन । अगाडि आर्मी, पछाडि आर्मी । अगाडि बन्दुक, पछाडि पनि । एक सिपाहीले भन्यो, ‘जुत्ता खोल् भाई । खोला तर्नुपर्ने भयो ।’ 

बीचमा खोला आएछ । मधेसको खोला नकराउने भएकाले पनि होला, सुदनलाई थाहा भएन । 

कसरी जुत्ता खोल्ने ? हात पछाडि बाँधेका थिए, आँखामा पट्टी । भने, ‘खोल्दिनँ, यतिकै तर्छु ।’

जवाफ आयो, ‘बाँचिस् भने त लगाउन पाउँछस् नि !’

बाँच्ने आसाको धमिलो बत्ती सुदनको दिमागमा बल्यो । 

०००
रातको एघार बजेतिर तीनजनालाई दश पन्ध्र मिनेट हिँडाए । एउटा घरको छतमा पु¥याए । छतमा ओछ्यान लगाए । 

सेनाहरू भन्थे, ‘यहाँ चाहिँ चार तले घर छ, कसैले सक्दैन ।’

सुदनको त्यो रात ननिदाइकनै सकियो । बिहानै चार बजे ट्याक्टरमा तीनैजनालाई चढाए । त्यतिवेला हल्ला थियो– पक्रिसकेपछि सेनाहरूले ट्याक्टरमा हालेर टाढा लगेर मार्छ रे !

ट्याक्टरमा तीनजना र अन्य सिपाहीहरू । बाटोभरि पिटाइको अर्कै महाभारत । पछाडिबाट कान तान्थे । कान्सिरी उखेल्थे । एउटा सिपाहीले सुदनको कपाल खेलाउँदै भने, ‘यसको यस्तो राम्रो कपाल रहेछ, यो त मलाई भए पनि हुने नि । यो मरिहाल्छ, यसलाई केको काम ।’

जंगलमा पुगेर गाडी निक्कैबेर रोकिएपछि टेलिफोनको रिङ बज्यो । आर्मीको क्याम्प थियो । जंगलमा आर्मीको क्याम्पबाहेक अरूठाउँमा टेलिफोन हुने कुरा भएन । 

कसैले तीनजनालाई ‘गुड लक’ भन्दै गाडीबाट झा¥यो । त्यसपछि तीनजनालाई विभिन्न ठाउँमा छुट्याएर राखे । सत्र रात लगातार यातना दिए । राति एघार÷बाह्र बजे बाहिर निकाल्ने । अनि सबैभन्दा पहिला सोध्ने, ‘तेरा नेता कहाँ छन् ?’ अनि यातना ।

००० 
सत्ताइस दिन बित्यो ।
रातभर चिसोमा डुबाएर राखेका थिए । कपडा भिजेको थियो । चैत लागेको समय । हिउँदको जाडोमा पसेको सर्प गर्मीमा निस्कँदा सुदनको गर्धनमाथि आइपुगेको रहेछ, सुदनले पछि थाहा पाए । तर, कसो सुदनलाई सर्पले डसेन !

आर्मीहरू आए । सर्पलाई बाहिर निकाले । 

सुदनलाई पनि सुरुङबाट बाहिर निकाले ।

त्यहाँ दुई खालका सेना थिए । एक खालका सेनाले ‘चकलेट खान्छौ ?’ भन्दै दिन्थे । अर्का भने पाँचथरका राई थिए । बेस्सरी पिट्दै भन्थे, ‘तँ राईको बेइज्जत गर्ने ? हाम्रो वंशको बेइज्जत गर्ने ?’

यतिन्जेल सुदनको आँखाको पट्टी खुलिसकेको थियो । 

आँखा खुलेर पहिलोपटक उज्यालो हेर्दा आफैंलाई देखेर सुदन झस्किए । त्यतिवेला सुदनलाई लागेको थियो, ‘मान्छेलाई डर बाँच्दा मात्र लाग्दोरहेछ । सचेत हुँदा डराउँदो रहेछ मान्छे । प्रेम, भोक सबै सचेत हुँदाका कुरा न रहेछन् । अचेत हुँदा त कुनै कुरा पनि अस्तित्वमा नरहँदा रहेछन् ।’

आँखाको पट्टी खुलेपछि सुदनलाई १८ नम्बरको सानो पोस्टमा राखे । त्यहाँ सुदन सुतेको सुत्यै भए । चल्ने जाँगर भए पो चल्थे ! अलिअलि खानेकुरा पनि दिन थालेका थिए । मकवानपुरको सिपाहीले चकलेटहरू पनि दिन्थे । 

६३ दिनको बिहान । सुदनको आँखामा फेरि पट्टी बाँधियो । 

मार्न लागे कि क्या हो ! सुदनको मनमा यस्तै कुरा न खेल्ने भए । आँखा बाँधेरै सुदनलाई कतै लगे ।

००० 
पट्टी खोलियो । 
सिराहा जिल्ला कारागार । सुदनलाई ६ नम्बरको बेडमा सुताइयो । सुदनको बेडमा भित्तो थियो । सानो झ्याल पनि । अलि पर चाहिँ ऐना । सुदनलाई कस्तो ऐना हेर्न मन लागेको ! तर उठ्न सके पो हेरोस् ऐना ।

जेलका ११ औं दिन । जेलमा रहेका सबै टोपी बुन्न गए । सुदन झ्यालको रड समाउँदै–समाउँदै ऐना अगाडि पुगे । ऐना अगाडि उभिएर आफ्नो अनुहार हेरे । ओहो, यो कसको अनुहार हो ? कत्ले माछाको जस्तो अनुहार कसको हो ?

आफैंलाई चिन्न सकेनन सुदनले । सौन्दर्यप्रतिको चिन्ता सामान्य मान्छेलाई पनि हुँदोरहेछ भनेर त्यतिवेलै बुझे । सुदनले मनमनै भने, ‘थुक्क, किन बाँचेको म । मरेको भए पनि त हुन्थ्यो । तँलाई न आमाबाउले चिन्छन्, न समाजले ।’ 

सुदनले सुकरात सम्झिएपछि बेडमै फि¥यो ।

००० 
जेलको २३ औं दिन । सुदन केही लेखिरहेका थिए । लेखेर सिरानीभित्र हालेर सिलाइहाल्नुपर्ने । अचानक बाहिरबाट माइकमा सुदनको नाम बज्यो । 

‘सुदन किराती !’

किन अचानक नाम आयो ? छक्क परे । बिस्तारै उठेर गए । अगाडि फलामको गेटपारि बुबा टक्क उभिरहेका थिए ।

भूतपूर्व ब्रिटिस आर्मी । एकदमै कडा स्वभावका मान्छे । हाफ टिसर्ट, टोपी पनि । एकदम दुब्ला । सुदन फलामे गेटका चेन पक्रिएर उभिए । बाउ–छोराको दुरी थियो, दुवैले हात लम्काउँदा भेटिने ठाउँको । 

बाउले छोरालाई सिधा हेर्न सकेनन् ।

पश्चिम–उत्तरतिर फर्किएर छड्के हेरे । बाउको आँखाबाट आँसु खसिरहेको थियो । बुबा यति विघ्न रोएको पहिलोपटक देखेका थिए सुदनले । आमा रोएको भने देखेका थिए । बुबा रोएको एकदमै नसुहाउने । बुबाले आँसु पुछ्दै नाको स्वरमा भने, ‘छोरा, तँलाई मैले के देख्नुप¥यो । क्रान्ति गर्छु भनेर हिँडिस् । क्रान्ति गरिस् हैन ?’

सुदन ढाडस दिन बोले, ‘यो जेल हामीजस्ताका लागि विश्वविद्यालय रहेछ बुवा । केही सुर्ता गर्नुपर्दैन । म धेरै कुरा सिक्दैछु ।’

घाम डुब्न लागेको थियो । बुवाले देब्रे खल्तीबाट तीन हजार रूपैयाँ झिकेर हात तन्काएर सीधा नहेरी दिए । अनि फर्किए । सुदनको आँखा बुवा गएतिर परसम्म बासँगै गइरह्यो । 

एकपटक सुदनका साइँली बहिनी हङकङबाट भेट्न आएकी थिइन् । तीन मिनेटमा सुदनलाई देखेर एकै वचन नबोली रोएर मात्र फर्किइन् । 

०००
०६२ सालमा सुदन छुटे । 
जेलबाट निस्किएपछि सिधै घर पुगे ।साँझमा आइपुगेका थिए । घरमा पटकपटक मरेको खबर पुग्थ्यो । सुदनलाई हेर्न मान्छे आँगनभरि थिए । 

घरमा सोलार जोडिएको थियो । सोलारको बत्ती बलेको थियो । बत्तीमुनि सुदनकी आमा । बुवाले घर छाडिसकेका थिए । सुदनले घर आएपछि थाहा पाए, सिराहा जेलमा भेटेर निस्किएपछि मन विरक्तिएर उतैउतै गएछन् बुवा । 

रातको साढे एघार बजेसम्म रहे सुदनलाई हेर्न आएका थिए मानिसहरू । 

घरभित्रको परिदृश्य–‘आमा जी, ५४ वर्ष मात्र पुग्नुभएको छ । कति बूढी देखिनुभएको ?’

आमा केहीबेर बोलिनन् । 

एकछिनपछि आमाको कुरा सुरु भयो । सुरु भयो भन्दा पनि आमाको आँसुहरूमा मनभित्र गुम्सिएका कुराहरू बग्न थाले । 

पाँच दिन घर बसे । सुदनलाई घरबाट हिँड्नु थियो । मामाको छोरो र कान्छो भाइ माथि मैयुङसम्म पु-याउन आएका थिए । साथीहरूले त्यहाँ कुरिरहेका थिए । सुदनले झोला भिरे । 

जब झोला भिरे, आमा डाँको छाडेर रुन थालिन् । आमाले रुँदै भनिन्, ‘नजा छोरा । अब फेरि लडाइँ हुन्छ । तँ जितेर के गर्छस् र । तँ गइस् भने यही दलिनमा झुण्डेर मर्छु ।’

सुदनले अनेक हिसाबले आमालाई सम्झाए । तर आमा माने पो !

आमालाई जसरी सम्झाउँदा पनि नमानेपछि सुदन मुटु मिचेर हिँडे । आमा लडी–लडी रोइरहेकी थिइन् । १५-२० मिनेट हिँडेपछि घरतिर फर्केर हेर्दा आमा घरभन्दा अलि पर गएर भूइँमा हात बजार्दै अनि आकाशतिर उठाउँदै रोइरहेकी थिइन् ।

०००
अब सुदनसँग...
‘टाढाबाट आमाको त्यो अवस्था देख्दा लागेको थियो, थुक्क, दशधारा दूध खुवाएकी आमालाई त सम्झाउन सकिनस् । कसरी देश परिवर्तन गर्छस् ? लाहुरे लाग्छु भनेर झोला बोकेर हिँडेको भए फूलको घडा बनाएर गर्थे ।’ 

त्यतिवेला सुदनले बोध गरेका थिए, माया कति बाधक हुनेरहेछ ? मायाकै विरुद्ध विद्रोह गर्नुपर्ने रहेछ । त्यतिबेला बुझे, ‘हाम्रो संस्कृतिले पनि हामीलाई बन्धनमा राखेको हुँदोरहेछ ।’