मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १ बिहीबार ११:०२:००
Read Time : > 3 मिनेट
नयाँCity

होटेलको सर्किट गौशाला–बत्तीसपुतली

सहरका हब

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ११:०२:००

उद्यमी शशिकान्त अग्रवाल काठमाडौंको पर्यटकीय क्षेत्र झोंछेबाट पाँच दशकअघि बसाइँ सर्दा बत्तीसपुतली सुनसान थियो– कतै जंगल, कतै खेतैखेत । अहिलेझैँ गुजुमुज्ज घर थिएनन्, पातलो बस्ती मात्र थियो । स्थानीय बासिन्दाले खेतीपाती र गाईपालन गर्थे । घरमा कम्पाउन्ड हुँदैनथे, गाई पसेर तरकारी खाइदिन्थे । ‘हामी न्युरोड जानुपर्दा सहर जाने भन्थ्यौँ,’ उनी बाल्यकाल सम्झन्छन् ।

अहिले बत्तीसपुतली क्षेत्रमा खाली ठाउँ देखिँदैन, घरैघरले भरिएको व्यावसायिक हब बनेको छ । होटेल, रेस्टुराँ, कफीसप, बैंक तथा वित्तीय संस्था, पार्टीप्यालेस, स्कुल÷कलेज र पसलहरूले भरिएको छ । शशिकान्त भन्छन्, ‘त्यतिवेला बुबाहरूले १८ हजार प्रतिरोपनीका दरले जग्गा किन्नुभएको रे ! अहिले आनाकै कसैले ८० लाख भन्छन् त कसैले एक करोड !’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि जनवरी २०११ मा एयरपोर्ट होटेल खुल्दा त्यहाँ अरू होटेल थिएनन् । सिनामंगल भने सेकुवाका लागि चर्चित भइसकेको थियो । पशुपतिनाथको सोझै दक्षिणमा होटेल महाराजा थियो भने बत्तीसपुतलीमा द्वारिकाज बुटिक होटेल । गौशाला धर्मशालामा पनि अतिथिहरू बस्थे । विमानस्थलछेवैमा भने पर्यटकस्तरीय होटेल थिएनन् । ‘विश्वभरि अन्तर्राष्ट्रिय विमानस्थलअगाडि होटेल हुन्छन्, त्यसैले नौ वर्षअघि हामीले पनि खोल्यौँ,’ एयरपोर्ट होटेलका महाप्रबन्धक विनायक शाह भन्छन्, ‘त्यसपछि धमाधम होटेल खुल्न थाले, हेर्दाहेर्दै सिनामंगल होटेलको हब बन्यो ।’ उनको भनाइमा पुरानो बानेश्वरदेखि बत्तीसपुतली, गौशाला, विमानस्थल गेट, सिनामंगल हुँदै भीमसेनगोला भएर पुरानो बानेश्वर जोडिने ‘राउन्ड सर्किट’ होटेल, रेस्टुराँ र म्यानपावरका अफिसले भरिएको छ ।

उनका अनुसार हरेक १५ दिनमा सिनामंगलमा नयाँ होटेल थपिन्छ । एयरपोर्ट नाम राखेर खुलेका होटेल नै आधा दर्जन पुगिसकेका छन् । शाह भन्छन्, ‘हामीले एयरपोर्ट होटेल अरिजिनल भनेर भन्नुपर्ने बाध्यता छ ।’ सिनामंगलका गल्ली–गल्लीमा होटेल खुलेका छन् । सिनामंगलको मुख्य सडकबाट बागमती करिडोर झर्ने शम्भुमार्गमा दुवैतर्फ आधुनिक हाइराइज बिल्डिङ बनेका छन् । तीमध्ये अधिकांशमा होटेल छन् । केहीमा म्यानपावर एजेन्सी, ट्राभल र एयरलाइन्सका कार्यालय छन् । जुन गल्लीमा छिर्दा पनि होटेल मात्र देखिन्छन् । गौशाला र बत्तीसपुतली पनि होटेल र रेस्टुराँले भरिइसकेका छन् । होटेलहरू खुलेआम ‘प्राइस वार’मा उत्रिएका छन् ।

नजिकै पशुपतिनाथ मन्दिर र देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल । बत्तीसपुतली, गौशाला र सिनामंगल क्षेत्र ‘भाइब्रेन्ट’ हुनुको प्रमुख कारण यिनै हुन् । त्यसमाथि चाबहिल, बौद्ध, जोरपाटीलगायत ठाउँलाई सहरसँग जोड्ने बिन्दु पनि बत्तीसपुतली र गौशाला नै हुन् । त्यस क्षेत्रमा बस्ती बढ्दै जाँदा बत्तीसपुतली र गौशाला लाभान्वित भएको शशिकान्त बताउँछन् । 
इन्द्रचोक, असन र न्युरोड क्षेत्रमा केन्द्रित मारवाडी समुदाय त्यहाँ भीड बढ्न थालेपछि बाहिर निस्किए । त्यही मेसोमा शशिकान्तको परिवार सहरबाट निकै टाढा पुगेको थियो, त्यतिवेला । आफ्ना बाबुले त्यति टाढा गाउँमा जग्गा किनेको उनलाई पटक्कै मन परेको थिएन । साथीभाइ र इष्टमित्रले भनेका थिए, ‘त्यो पनि बस्ने ठाउँ हो !’ उनका हजुरबुबा र बुबा पशुपतिनाथका ठूला भक्त थिए । ‘उहाँहरू बत्तीसपुतली सर्नुको मुख्य कारण त्यही थियो,’ उनी भन्छन् ।

०२७ सालमा चीनले चक्रपथ नबनाइदिँदासम्म गौशाला–विमानस्थल र बानेश्वर–तीनकुने–विमानस्थल जोडिएकै थिएनन् । पुरानो बानेश्वर चोक, भीमसेनगोला, सिनामंगल हुँदै विमानस्थलसम्म यात्रुको आवत–जावत हुन्थ्यो । चक्रपथ बनेपछि मात्र गौशाला र तीनकुनेबाट सीधै विमानस्थल पुग्न सकिने भयो ।सम्भ्रान्त वर्गको जमघट हुने गल्फ कोर्स पनि विमानस्थलकै छेउमा छ । ‘ट्रान्जिट’ र ‘कनेक्टिङ फ्लाइट’ समात्न यात्रुहरू विमानस्थलनजिकै बस्न रुचाउँछन् ।

विदेशमा बस्ने नेपाली स्वदेश आउँदा पनि विमानस्थलनजिकमै बस्न रुचाउँछन्, जसका कारण अर्को दिन डोमेस्टिक फ्लाइट समातेर घर पुग्न सजिलो हुने उनीहरूको सोच हुन्छ । कतिपयलाई बाहिरबाट काठमाडौं आएर विदेशको  फ्लाइट समात्नुपर्ने हुन्छ । विराटनगर, धरान, जनकपुर, महोत्तरीलगायत पूर्वी क्षेत्रमा चल्ने बस र तिनका टिकट काउन्टर गौशालामै छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको रोजाइ पनि विमास्थलनजिकै हुन्छ । बत्तीसपुतली, गौशाला र सिनामंगल क्षेत्रमा होटेलको बाढी आउनुका मुख्य कारण हुन्, यी ।
यस क्षेत्रमा निम्न, मध्यम र उच्च वर्गलक्षित होटेलहरू खुलेका छन् । अधिकांश होटेल र लजको लक्ष्य भारतका धार्मिक पर्यटक देखिन्छन् । यस क्षेत्रमा यति धेरै भारतीय पर्यटक आउँछन् कि पशुपतिनाथ मन्दिरछेउमा भारतीय गाडीको बसपार्क नै बनेको छ, जहाँ भारतीय नम्बर प्लेटका गाडी मात्र देखिन्छन् । होटेल द्वारिकाज भने सम्पदाप्रेमी धनाढ्य पाहुनाको रोजाइमा पर्छ । कलेजका विद्यार्थी, बैंक र म्यानपावरका कर्मचारी यस क्षेत्रका रेस्टुराँका मुख्य ग्राहक हुन् । सिनामंगल क्षेत्रमा होटेल थपिइरहँदा बत्तीसपुतली इलाकामा रेस्टुराँ र कफीसप बढी खुलेको देखिन्छ ।

बानेश्वर र गौशालाबीचको क्षेत्रमा विकास हुन थालेको करिब २५ वर्ष भयो । बसाइँसराइसँगै त्यहाँका ठुल्ठूला प्लटहरू घडेरी बन्दै गए । यो क्षेत्र व्यावसायिक हबका रूपमा उदाएको भने पछिल्लो दशकमै हो ।
 

यो क्षेत्रमा अझै पनि हरियाली बाँकी छ । पशुपतिनाथ, वनकाली र विमानस्थलआसपास जंगल नै छ । बिहानीपख विमानस्थल र पशुपतिनाथ मन्दिरवरिपरि मर्निङवाकमा जानेहरूको भीड देखिन्छ । मर्निङवाकका लागि भण्डारखाल क्षेत्र खुला गरिएको छ । मर्निङवाक गरेपछि साथीहरूसँग कफी खाने र गफिने ठाउँ बनेका छन्, रेस्टुराँ र कफीसप । शशिकान्तका अनुसार सिनामंगलदेखि, गौशाला हुँदै बत्तीसपुतलीसम्म करिब २० वटा राम्रा कफीसप खुलिसकेका छन् । साना–ठूला रेस्टुराँको संख्या पाँच सय नाघिसकेको विनायक बताउँछन् ।

त्रिभुवन विमानस्थल राति ३ बजेसम्म सञ्चालन हुन्छ । त्यसैले रातभरि चहलपहल भइरहन्छ । बिहानै उड्नुपर्ने यात्रु विमानस्थलछेउमै बस्छन् । केही दिन बिताउनेहरू मात्र सहरभित्र छिर्छन् । शशिकान्तका अनुसार बानेश्वर र गौशालाबीचको क्षेत्रमा विकास हुन थालेको करिब २५ वर्ष भयो । बसाइँसराइसँगै त्यहाँका ठुल्ठूला प्लटहरू घडेरी बन्दै गए । यो क्षेत्र व्यावसायिक हबका रूपमा उदाएको भने पछिल्लो दशकमै हो । बत्तीसपुतलीको बाटोमा पर्ने जग्गामा शशिकान्तले व्यावसायिक भवन बनाएका छन् । १० वर्षअघि सटरहरू बनाउँदा चल्दैन कि भन्ने शंका थियो, उनलाई । उनको घरछेवैमा मिराज होटेल खुलेको छ । त्यसको ठीक अगाडि तपास होटेल खुलेको छ । बाजेको सेकुवा पनि त्यहीँ छ । वल्र्डलिंकको अफिस, कफी सप तथा हिमालयन र वाणिज्य बैंकका शाखा खुलेका छन् ।

यस क्षेत्रलाई भाइब्रेन्ट बनाउन सन् १९९४ मा खुलेको तिलगंगा आँखा अस्पतालको पनि भूमिका छ । एसियाकै उत्कृष्ट मानिने यस अस्पतालमा भारत र तेस्रो मुलुकबाट पनि उपचार गर्न आउँछन् । यति एयरलाइन्सको कर्पोरेट अफिस अस्पतालछेउमै खुलेको छ । गौशालामा खुलेको पशुपति प्लाजामा तीनतारे आमादब्लम होटेल सञ्चालनमा छ ।