१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दावा ग्याल्मो, गायिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १०:२८:००
Read Time : > 1 मिनेट
सप्तरंग

दावा ग्याल्मो अर्थात् उपमा योञ्जन

संगीत सरगम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १०:२८:००

ठ्याक्कै ५० वर्षअघि गायिका दावा ग्याल्मो काठमाडौं आउँदा यो स–साना घर र मन्दिरहरूको सहर थियो । पछिल्लोपटक केही समयअघि काठमाडौंमा भेटिएकी उनले भनिन्, ‘अब त साना घर र मन्दिर ठूला बिल्डिङले पुरिएछन् । यसपटक त कहाँ पुगेजस्तो अनुभूति भयो ।’ सुरुको काठमाडौं यात्रामा उनी १४ वर्षकी थिइन् । अहिले ६४ वर्ष पुगिन् । तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा सहभागी हुन दार्जिलिङको टोलीसँगै उनी पहिलोपटक काठमाडौं आएकी थिइन् । खरसाङस्थित अल इन्डिया रेडियोमा गाउँदै गरेकी उनलाई त्यतिवेला काठमाडौं भव्य सहर लाग्नु स्वाभाविकै थियो ।

त्यतिवेला राष्ट्रिय नाचघरमा दावाले प्रस्तुति मात्र दिइनन्, रेडियो नेपालमा दुईवटा गीत पनि रेकर्ड गराइन्– ‘रात गहिरिँदै जान्छ कल्पनाको सागरमा’ र ‘जिन्दगीका मायाहरू’ । दुवै गीतका संगीतकार थिए, वसन्त क्षत्री र गीतकार तेजेन्द्र गुरुङ । त्यसवेला रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेर मात्र गीत रेकर्ड गराउन पाइन्थ्यो । दावा भन्छिन्, ‘हामीलाई पाहुना भएकाले रेकर्ड गर्न दिइएको थियो होला ।’

त्यसको नौ वर्षपछि उनी फेरि काठमाडौं आइन् । र, ‘शुभकामना खाली खाली’, ‘सहरभित्र केको हल्ला मेरो मायालु आउने वेला’लगायत गीत रेकर्ड गराइन् । उनका ती गीत हिट बने । त्यतिवेलै हो, उनले डेजी बराइलीसँग युगल गीत रेकर्ड गराएको पनि, ‘मायालुले सम्झ्यो कि के हो ?’ अहिले बजारमा चल्तीका गीत सुन्दा दावा आफ्ना पुराना गीतमा फर्किन्छिन् । ती गीतमा शब्दको आफ्नै वजन हुन्थ्यो । बाजा कम प्रयोग हुन्थे । गीतलाई मर्मस्पर्शी र गहन बनाउन शब्दको बढी भूमिका हुन्थ्यो, अनि मात्र कम्पोज र स्वर । दावा भन्छिन्, ‘अहिले त बढी आधुनिक बाजा बज्छन्, जसले शब्दलाई त्यति प्राथमिकता दिँदैनन् । सबै समयको खेल होला ।’

गायिका दावा ग्याल्मोले एकपटक दार्जिलिङमै संगीतकार गोपाल योञ्जनका अगाडि स्टेजमा गाइन् । त्यतिवेला योञ्जनले दावालाई नाम दिए, ‘उपमा योञ्जन ।’ तर, उनले नाम फेरिनन् । बरु, त्यसलाई उपनाम बनाइन् ।
 

त्यतिवेला गीत गहिरा हुनुमा दावालाई कवि, साहित्यकारसँगको सहकार्यलाई पनि प्रमुख मान्छिन् । अहिले त दावालाई संगीत र साहित्य फरक विधा भएजस्तो लाग्छ । भन्छिन्, ‘अगमसिंह गिरीजस्ता साहित्यकारले लेखेको गीत सुन्नोस् त– नौ लाखा तारा उदाए । हरिभक्त कटुवालकै गीतहरू सुनौँ न !’ उनले गोपाल योञ्जनको शब्द र संगीत रहेको गीत ‘मलाई रुखो सहानुभूति नदेऊ’मा स्वर दिइन् । त्यो पनि काठमाडौंमा । संगीतकार योञ्जन र दावाको चिनजान भने दार्जिलिङमै भएको थियो । र, उनीहरूबीच दाजु–बहिनीको सम्बन्ध थियो । एकपटक दार्जिलिङमै दावाले योञ्जनका अगाडि स्टेजमा गाइन् । त्यतिवेला योञ्जनले दावालाई भनेका थिए, ‘आजदेखि तिम्रो नाम उपमा योञ्जन ।’ तर, उनले नाम फेरिनन् । बरु, योञ्जनले दिएको नामलाई उपनाम बनाइन् ।