मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १ बिहीबार ०८:३७:००
Read Time : > 1 मिनेट
समाचार

समृद्धि हासिल गर्न विकासको मोडल परिवर्तन गरौं ‌: मुख्यमन्त्री शाही

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ०८:३७:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत् तरिकाको विकास प्रक्रियाले समृद्धि हासिल नहुने बताएका छन् । सल्याल जिल्लामा आयोजित ‘प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०७६’ को उद्घाटन गर्दै उनले अध्ययन, अनुसन्धान र आवश्यकताका आधारमा विकासको मोडल निर्धारण गर्नु पर्नेमा जाेड दिए ।  

मुख्यमन्त्री शाहीले तीन तहको सरकारले प्राथमिकताका आधारमा कामको स्पष्ट खाका बनाएर जिम्मेवारी बाँडफाँड गुर्न पर्ने औल्याए । उनले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारले कहाँ, कति र के काम गर्ने भनेर स्पष्ट खाका तयार पार्नुपर्छ । र प्राथामिकताका आधारमा काम गर्न सकेमा विकासलाई दिगो बनाउन सकिन्छ ।’ 

उनले निर्धारित समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्न कानुनको अभाव भएको बताए । ‘सार्वजनिक खरिद ऐन संशोधन गर्नु पर्छ' उनले भने, 'एउटै ठेकेदारले दर्जनौं कामको जिम्मा लिने र समयमा काम नसक्नेलाई सजिलै कानुनी दायरामा ल्याउन सकिने व्यवस्था भए सरकारले लिएको आर्थिक लक्ष्य र बजेट खर्चको प्रभावकारिता बढ्छ ।’

मुख्यमन्त्री शाहीले क्षेत्रफल र उत्पादनका हिसावले सल्यान ठूलो जिल्ला भएकोले यहाँ उत्पादित बस्तु कर्णालीका १० जिल्लामा पु-याउने व्यवस्था गरिने बताए। 

कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जिल्लामा सडक पूर्वाधार तथा दोस्रोमा शिक्षालाई प्राथामिकता दिएर काम गरिरहेको बताए । सल्यानबाट निर्वाचित प्रनितिधिसभा सदस्यसमेत रहेका बस्नेतले जिल्लाको विकासको लागि सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यान प्राकृतिक, सांस्कृतिक, धार्मिक, खनिज् पदार्थका हिसावले सम्पन्न भएको बताए । उनले भने, ‘यहाँ अझै धेरै प्राकृतिक खानीको सम्भावना छ । यी स्रोतको पहिचान र प्रवद्र्धनका लागि खोज अनुसन्धान हुन जरुरी छ । यसका लागि प्रदेश र केन्द्रीय सरकारले पहल गर्नु पर्छ ।’ 

उनले सल्याल तथा सिङुगो विकास र समृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुको विकल्प नभएको बताए । ‘सल्यानमा स्रोत केन्द्रको स्थापना गरौं’ उनले भने, ‘खाद्यन्न, फलफूल, तरकारी, नगदेबालीको सम्भावना भएको क्षेत्र हो, कोल्ड स्टोर निर्माण गरौं । लगानी गर्न प्रदेश सरकार तयार छ।’

कार्यक्रममा जिल्लाका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, उद्योग बाणिज्य संघ, उद्योग बाणिज्य महासंघलगायत स्थानीय व्यापारी, समाजसेवी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको छ । बुधबारदेखि सुरु भएको महोत्सव ११ फागुनसम्म चल्ने छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको महोत्सवमा दुई सयबढी स्टल राखेर स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको छ । महोत्सवमा ५ करोडसम्मको व्यापार हुने लक्ष्य राखिएको छ ।