१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण १ बिहीबार ०६:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अवैध प्लटिङले बस्ती नै पहिरोको जोखिममा

गोदावरीको मूलपानीमा गरिएको प्लटिङले सडकसमेत मिच्यो

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ०६:४२:००

गोदावरी नगरपालिका–१ मूलपानीमा चार महिनायता भिराला पाखा, वन क्षेत्र तथा खेतीयोग्य जमिन मासेर प्लटिङका नाममा अव्यवस्थित तरिकाले खन्न थालिएको छ । मूलपानी डाँडामा मात्रै करिब २० रोपनी भिरालो जमिन(दुई ठाउँ) प्लटिङ गरिएको छ । यो प्लटिङको ठीक तल ललित घुम्ती सडक पर्छ । सडकदेखि तल करिब एक सय ५० घर छन् । अव्यवस्थित रूपमा भिरालो जमिनमा प्लटिङ हुँदा एक सय ५० मध्ये ३० घर पहिरोको जोखिममा परेका छन् । 

बस्ती जोखिममा परेको विषयमा उजुरी परेपछि गोदावरी नगरपालिकाले फिल्ड निरीक्षण गरी निर्णय लिने जनाएको छ । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘बस्ती बाढी पहिरोको जोखिमा रहेको विषयमा हामी फिल्ड निरीक्षण गर्नेछौँ । निरीक्षणको आधारमा नगरपालिकाले निर्णय लिनेछ ।’ मेयर गजेन्द्र महर्जनले प्लटिङ गर्ने व्यक्तिको पहिचान नभएको बताए । विनास्वीकृति प्लटिङ गरेको हुनाले पहिचान गर्न गाह्रो भएको उनले बताए । 

गोदावरी नगरपालिका वन तथा वातावरण समिति संयोजक मुकुन्द पहारीका अनुसार अवैध र अव्यवस्थित प्लटिङका कारण ३० परिवार पहिरोको जोखिममा छन् । सामान्य पानी परे पनि बस्तीमाथिबाट पहिरो बग्ने र खेतीयोग्य जमिन पुरिने खतरा छ । उनले भने, ‘यही कारण अहिले प्लटिङ रोकेका छौँ । ‘जथाभावी रूखकटान गर्दै प्लटिङ भए पनि जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयले कुनै कारबाही नगरेकोमा स्थानीय असन्तुष्ट बनेका छन् ।

 अंशबन्डाको बहानामा जग्गा प्लटिङ मौलाउँदै  
नगरपालिकाका संयोजक पहरीका अनुसार सरकारले जग्गा प्लटिङमा रोक लगाएको छ । यही कारण जग्गाधनीबाट सीधै अंशबन्डाको बहानामा अंशियारलाई नै कित्ताकाट गर्दै प्लटिङ हुन्छ । यसो हुँदा प्लटिङ कसले गरेको भन्ने नखुल्ने पहारीको भनाइ छ । स्थानीय पनि प्लटिङवालाको परिचय खुलाउन डराउँछन् । प्लटिङवाला ६ महिनादेखि १२ महिनाको अवधि राखेर जग्गाको बैना गर्छन् र जग्गा बिक्री भएपछि मात्रै पैसा बुझाउने गरी सम्झौता गरिएको हुन्छ । यस्तो कार्यमा मालपोतका कर्मचारीको समेत मिलेमतो हुने गरेको संयोजक पहारीको भनाइ छ । उनले भने, ‘सरकारले प्लटिङमा रोक लगाएको छ । तर, प्लटिङ भइरहेको पनि छ ।’

 प्लटिङले सडकको  नक्सा नै परिवर्तन 
प्लटिङकै कारण मूलपानीको ललितघुम्ती सडकको नक्सा नै परिवर्तन भएको छ । प्लटिङवालाहरूको मिलेमतोमा करिब दुई सय मिटर सडक मासिएको  महानगरीय प्रहरी प्रभागले जनाएको छ । प्रदेश सभा सदस्य लालकुमारी पुनले पनि नांगो आँखाले हेर्दा पनि सडक मिचेको देखिने बताइन् । स्थानीय बासिन्दा पनि ललित घुम्ती सडकको नक्सा परिवर्तन भएको बताउँछन् । यद्यपि, गोदावरी नगरपालिकाले भने नक्सा परिवर्तन भएको पुष्टि भइनसकेको जनाएको छ । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्लटिङका कारण नक्सा परिवर्तन भए नभएकोबारे बुझ्न डिभिजन सडक कार्यालयसँग नक्सा मागेको बताए । 

न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन्
 लालकुमारी पुन, प्रदेश सभा सदस्य

मूलपानीमा भइरहेको गैरकानुनी प्लटिङका बारेमा स्थानीयले केही महिनाअघि गुनासो गरेका थिए । प्लटिङले ललितघुम्ती सडक मिच्नुका साथै र बस्ती पहिरोको जोखिममा परेको बताएका थिए । यस विषयमा स्थानीयले जनप्रतिनिधिलाई सचेत पनि गराएका थिए । प्लटिङ नरोकिएपछि आफैँ अनुगमनमा गए । सडक मिचिएको थियो । अनुगमनपश्चात् सम्बन्धित निकायलाई विवाद टुंगो नलागेसम्म प्लटिङ बन्द गर्न भन्यौँ । अहिले रोकिएको छ । न्यूनतम मापदण्डसमेत पूरा भएको छैन । मैले नगरप्रमुखलाई यसको सत्यतथ्य अनुसन्धान गर्न निर्देशन दिएकी छु ।