मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २९ बुधबार १६:३१:००
Read Time : > 1 मिनेट
फिचर

रानीपोखरी भर्न साढे तीन करोड लिटर पानी आवश्यक

यसरी गरिंदैछ पानीको जोहो

Read Time : > 1 मिनेट
२०७६ माघ २९ बुधबार १६:३१:००

रानीपोखरी पुनर्निर्माणको कामले तीव्रता पाएको छ । भूकम्पपछि पुनर्निर्माण थालिएको पोखरी भर्न तीन करोड ४० लाख लिटर पानी आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले रानीपोखरीमा पहिलोपटक आवश्यक पानीको मात्रासम्बन्धी निष्कर्ष निकालेको हो । 

पहिलो चरणमा पोखरीको निर्माण, दोस्रो चरणमा बालगोपालेश्वर मन्दिर र तेस्रो चरणमा रानीपोखरीभित्रको सौन्दर्यीकरण गरी तीन चरणमा रानीपोखरी पुनर्निर्माण हुँदै छ । पोखरीभित्र कालोमाटो भर्ने र इँटा छाप्ने कामले पनि गति लिएको छ । विगतमा जस्तो पानीको फोहोरा फाल्दा जमिनमुनिबाट बालुवा निस्किन नदिन र पानी सोस्न नदिन कालोमोटो र इँटाको प्रयोग गरिएको प्राधिकरणको तर्फबाट जिम्मेवारी पाएका सम्पदाविद् राजु मानन्धर बताउँछन् । पुनर्निर्माणको काम ६० प्रतिशत सकिएको मानन्धरको दाबी छ । ‘तर पोखरीमा गुर्नपर्ने काम धेरै छन्,’ उनी भन्छन्, ‘वैशाखमा उद्घाटन गर्ने गरी काम भइरहेको छ ।’

कसरी जुटाइँदै छ पानी ? 

प्राधिकरणले भनेअनुसार तीन करोड ४० लाख पानी पोखरीमा जम्मा गर्नु चानचुने कुरो भने होइन । त्यसमाथि काठमाडौंजस्तो ठाउँमा । अझ चुनौतीको विषय भनेको जम्मा पारिएको पानी नसुकाई राख्नु हो, अर्थात् सधैंभरि रानीपोखरीमा पानी बचाइराख्नु हो । प्राधिकरणले त्यस चुनौतीलाई चिर्न भनी पोखरीका दुईवटा कुनामा बोरिङ खन्ने काम थालेको छ । त्यसैगरी पोखरीको उत्तरकुना र दक्षिणकुनामा तीन सय मिटर गहिराइको बोरिङसमेत प्राधिकरणले खन्ने भएको छ । 

उत्तरपट्टिको भागमा बोरिङ खन्ने काम सुरु भइसकेको छ । पोखरीको एक कुनामा आकाशको पानी जम्मा गर्न छुट्टै ट्यांकीसमेत बनाइनेछ । मानन्धर थप्छन्, ‘हामीलाई त्यति पानीले पनि पुग्दैन, टुँडिखेलभित्रबाट पनि पानी ल्याउने तयारी गरिएको छ ।’ टुँडिखेलमा भूकम्प जानुअघि एउटा इनार खनिएको थियो । उक्त इनार विशेषगरी असन र इन्द्रचोकमा पानी पूर्ति गर्ने उद्देश्यले खनिएको थियो । टुँडिखेलको इनारबाट विगतमा रानीपोखरीमा पानी सुक्दा पनि प्रयोग गरिएको मानन्धर बताउँछन् ।

रानीपोखरीमा एक लाइन मेलम्चीको पानी जोडिने तयारी थालिएको मानन्धर बताउँछन् । 

नमुना पोखरीको परीक्षण गरिँदै

पानी अडिन्छ कि सुक्छ भनी हाल पोखरी छेउमै नमुना पोखरीसमेत बनाइएको छ । यसको  परीक्षणपश्चात् मात्र पोखरीमा पानी हालिने मालन्धर बताउँछन् । 
हाल दैनिक ८० जना मजदुर रानीपोखरी पुनर्निर्माणमा खटिएका छन् । 

नेवार समुदायले मल्लकालमा मन्दिर बनाउन प्रयोग गरेका इँटा पोखरी निर्माणमा प्रयोग भइरहेको मानन्धर बताउँछन् । भक्तपुरको दक्षिण बाराही इँटा उद्योगमा इँटा अर्डर गरेर बनाएको पनि उनले जानकारी दिए । 

नयाँ वाटर फाउन्टेन प्रयोग, पुराना हटाइने 

विगतमा जस्तो पानीको फोहोरा फाल्ने ‘वाटर फाउन्टेन’ भने रानीपोखरीमा नराखिने भएको छ । तर यसको साटो नयाँ प्रयोग गरिने भएको छ । विगतमा राखिएका यस्ता १४ वटा फाउन्टेनले बालुवासमेत निकालेपछि यसलाई पुनर्निर्माणका क्रममा नराखिएको मानन्धरले प्रस्ट्याए । कतिपय फाउन्टेन बिग्रिएर कामै नलाग्ने अवस्थामा समेत पुगेका छन् । पोखरीमा पानी जमाएपछि नयाँको प्रयोगबाट पानीको फोहरा फालिने छ । 

ती पुराना फाउन्टेन रानीपोखरीको किनारा अलपत्र छ । ती फाउन्टेन महानगरपालिकालाई लैजान निर्देशन दिइए पनि नलगेको मानन्धरले आरोप लगाए ।