१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २९ बुधबार १०:५३:००
Read Time : > 1 मिनेट
सेयर बजार

१७.११ अंकले बढ्यो सेयर बजार, डेढ अर्बको कारोबार

चारवटा नियमावली संशोधनले लगानीकर्ताको मनोबल बढ्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २९ बुधबार १०:५३:००

नेपाल धितोपत्र बोर्डले सोमबार चारवटा नियमावली संशोधन गरेको प्रभाव मंगलबारको सेयरमा देखिएको छ । मंगलबार सेयर बजार १७ दशमलव ११ अंक बढेर १ हजार ३ सय ४१ दशमलव ३८ बिन्दुमा पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम पनि बढेर १ अर्ब ५२ करोड २२ लाखभन्दा माथि पुगेको छ । सोमबार ९३ करोड २० लाख ८६ हजारको मात्र सेयर कारोबार भएको थियो । यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा व्यापार समूहबाहेक सबै बढेको छ ।

व्यापार समूहमा कारोबार हुने बोटलर्स नेपाल (तराई) को सेयर मूल्य घटेपछि सो समूहको परिसूचक १ दशमलव ३३ प्रतिशत घटेको छ । यस दिन लगानीकर्ताहरू लघुवित्तका सेयरमा बढी आकर्षित भएका छन् । सो समूहको परिसूचक ३ दशमलव २ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बिमा, म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको नियमावली संशोधन गरी सर्वसाधारणलाई खुलामुखी योजनामा आकर्षित गर्न योजना व्यवस्थापकले इकाइ बिक्री गर्दा कुनै शुल्क नलाग्ने र खरिद गर्दा १ दशमलव ५ प्रतिशत मात्र शुल्क लिन सक्ने व्यवस्था गरेको छ । 

नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक ३ दशमलव ७५ अंक बढेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक १ दशमलव ३ अंक बढेको छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट १ दशमलव ४५ अंक बढेको छ । 

दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट
बजार दोहोरो अंकले बढेसँगै दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइपिओ मूल्यभन्दा कम मूल्य रहेको कालिका पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासको तुलनामा ९५ प्रतिशत बढी नाफा गरेपछि सेयर मूल्य बढ्न पुगेको हो । कम्पनीको सेयर मूल्य बढेपछि प्रतिकित्ता ९९ रुपैयाँ सेयर मूल्य कायम भएको छ । दोस्रोमा नेपाल सेवा लघुवित्तको सेयर मूल्य ९ दशमलव ८३ प्रतिशत बढेको छ । सेयर बजार बढेको वेलामा पनि २३ कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ ।

यस दिन घट्नेमा कम मूल्य भएका कम्पनी परेका छन् । युनियन हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ, बोटलर्स नेपाल तराई, रैराङ हाइड्रोपावर कम्पनीको मूल्य घटेको छ । यस दिन १९ कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा बन्द भएका छन् । चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको शिवम् सिमेन्टको १५ करोड २ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा एनआइसी एसिया बैंकको ११ करोड २३ लाखभन्दा बढीको कारोबार भएको छ । 

मंगलबारको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले बुधबार बजार बढ्ने संकेत गरेको छ । मंगलबारको पिभट बिन्दु १ हजार ३ सय ३६ छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय ४१ रहेको छ । पिभट बिन्दुभन्दा मंगलबारको बन्द भएको बिन्दु माथि रहेकाले बढ्ने देखिएको हो । लगानीकर्ताले पिभटको आधारमा मात्र लगानी नगरी आफूले पनि आधारभूत विश्लेषण गर्नुपर्छ । बुधबार नेप्से ओरालो लागे १ हजार ३ सय २९ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ४८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । मंगलबारको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट थोरै टुप्पी भएको सेतो मैनबत्ती बनेको छ । यस मैनबत्तीले बुधबार बजार बढ्ने संकेत गर्दछ ।