मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २९ बुधबार १०:१०:००
Read Time : > 1 मिनेट
नयाँCity

बढ्दै छन् 'रक ब्यान्ड'

Read Time : > 1 मिनेट
२०७६ माघ २९ बुधबार १०:१०:००

माओवादीको सशस्त्र विद्रोह चलिरहेको समयमा हामी ‘रक एन्ड रोल’ धारको संगीतलाई स्थापित गराउन लागिपरेका थियौँ । संगीतबाट पनि क्रान्ति गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले ‘राेवीन एन्ड द रिभोलुसन’ नाम दिएर सांगीतिक ब्यान्ड जन्मायौँ । त्यसअघि ‘रवीन एन्ड द लुज’ ब्यान्डमा आबद्ध थिएँ । सन् १९९७ मा खुलेको उक्त ब्यान्ड सन् २००६ मा विघटन भयो । र, ‘राेवीन एन्ड द रिभोलुसन’ जन्मियो ।

अहिले ब्यान्डमा हरि महर्जन लिड गितार, विजय विश्वकर्मा ड्रम र प्रविनदास श्रेष्ठ बेस गितारमा छन् । सुरुमा ब्यान्डमा दीपेश डंगोल लिड गितारमा र प्रविन बेस गितारमा थिए । ड्रमर राजेश खड्गी थिए । दुई साथी अमेरिका गएपछि बेस गितारमा सोनाम श्रेष्ठ र ड्रममा सनम लामा भित्रिए । उनीहरू करिब चार वर्ष ब्यान्डमा रहे । त्यसबीचमा सन् २००१ मा ‘१३ हजार’ र सन् २०१० मा ‘हाम्रो देश’ एल्बम बजारमा ल्यायौँ । पुनः ब्यान्डका सदस्य परिवर्तन भए । र, बेस गितारमा श्याम महर्जन आए । उनीसँगको सहकार्य पाँच वर्ष रह्यो ।

हाम्रो समयमा रक गाउनेको संख्या नै कम थियो । अहिले भने रक मात्र नभई ‘हेभी मेटल’ र ‘पंक’ धारका ब्यान्डहरू आइसकेका छन्, जुन सकारात्मक हो । 

हाम्रो समयमा ‘१९७४ एडी’, ‘नेपथ्य’, ‘कब वेब’, ‘एक्स’, ‘मुक्ति एन्ड रिभाइभल’जस्ता ब्यान्ड चल्तीमा थिए । त्यतिवेला लोक र सदाबहार शैलीका गीत बढी चल्थे, जुन अद्यापि कायम छ । सुरुमा नेपालमा रक संगीतको खासै माग थिएन । रक गाउनेको संख्या पनि कम थियो । अहिले भने रक मात्र नभई ‘हेभी मेटल’ र ‘पंक’ धारका ब्यान्डहरू आइसकेका छन्, जुन सकारात्मक हो । मैले कल्पना गरेभन्दा राम्रो भएको छ, नेपाली रक संगीत ।

ठमेलमा रहेको मेरो रेस्टुराँ ‘बम्फु’मा ‘राेवीन एन्ड लुज ब्यान्ड’का सदस्यहरूसँग पर्फर्मेन्स गर्दै श्रोता–दर्शकको नजरमा परेका थियौँ । ‘राेवीन एन्ड लुज ब्यान्ड’बाट सन् २००५ सम्ममा ‘नेपाल’, ‘भूलमा भुल्यो’, ‘आधुनिक’ गरी तीन एल्बम निकालेका थियौँ । सन् २००६ मा, ‘राेवीन एन्ड न्यु रिभोलुसन’बाट पहिलो एल्बम ‘केटाकेटी’ निकाल्यौँ । त्यसपछि, ‘१३ हजार’, ‘हाम्रो देश’ बजारमा आए । पाँच महिनाअघि ‘मुग्लान’ युट्युबमार्फत रिलिज भएको छ।

अहिले संगीतको प्रविधिक पक्ष गुणस्तरीय र सबल भएको छ । हाम्रो समयमा बजारमा जस्तो गितार पायो, त्यस्तै बजाउनुपथ्र्यो । अहिले विदेशबाट सजिलै राम्रा गितार ल्याउन सकिन्छ । १७ देखि २८ वर्षको उमेर समूह रक संगीतका पारखी हुन् । हाम्रो ब्यान्डका गीतमा सामाजिक विषयवस्तु समेटिएको हुन्छ । एकल र ब्यान्डमा आबद्ध भएर गाउनुमा धेरै फरक छ । ब्यान्डमा बढी जिम्मेवारीबोध हुन्छ । यस्तै, ब्यान्डमा कूटनीतिक पनि हुन सिकिन्छ । धेरैजनाको आइडियाले गीत अझ गुणस्तरीय बन्छ ।