मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ माघ २९ बुधबार १०:००:००
Read Time : > 2 मिनेट
नयाँCity

संगीत सरगम : रञ्जित रवाफ

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ माघ २९ बुधबार १०:००:००

संगीतकार रञ्जित गजमेर ७९ वर्षमा हिँड्दै छन् । भारतको मुम्बई बस्दै आएका उनी अहिले पनि ठमठम हिँड्छन् । युवावयकै जोस छ, अझै उनमा । नयाँ धुनको खोजीमा गहिरो सोचमा डुब्दै बरालिन्छन् । अलिअलि काम्न थालेका उनका औँला हार्मोनियममा नयाँ धुन निकाल्न उत्तिकै अभ्यस्त छन् । हिउँ थुप्रिएको धुपी-सल्लाको टुप्पोजस्तै भइसकेको छ, कपाल ।

अहिले पनि मादल घन्काइरहन्छन् । मादलले नै रञ्जितको मुम्बईमा स्थायी बसाइको जग बसालेको थियो । बलिउड संगीतकार आरडी बर्मनका गीतमा मादलको पहाडी धुन बजाउने उनी नै थिए । सन् १९९४ मा आरडी बर्मन बिते । रञ्जित भन्छन्, ‘उहाँलाई खुब सम्झिन्छु । उहाँको अन्तिम समयको एक साक्षी पनि हुँ ।’ अहिले रञ्जितको आँखामा ठूलो पावरवाला चस्मा हुन्छ । बिहानै उठ्छन् । चियापानपछि मादल बजाउँदै गुनगुनाउन थालिहाल्छन् । भन्छन्, ‘अझै गीत-संगीतमा केही नयाँ-नौलो गर्ने रहर छ ।’

नेपाली संगीतका धरोहर रञ्जित गत पुसमा बलिउड गायिका आशा भोस्लेको साथमा काठमाडौं आएका थिए । आशा भोस्लेलाई सम्मान गर्ने कार्यक्रममा सहभागी भएर चार दिनमै मुम्बई फर्किए । भन्छन्, ‘नेपाल त म आइरहन्छु । नेपाली संगीत मेरो रगतमै बग्छ ।’

रेडियो नेपाल पहिले दिग्गज संगीतकर्मीहरूको जक्सन थियो, जो अहिले शान्त र मौन छ । रञ्जित भन्छन्, ‘जब–जब काठमाडौं टेक्छु, रेडियो नेपालका ती दिन खुबै सम्झनामा आउँछन् । तर, मेरो समयका साथीहरू कोही छैनन् ।’

वर्षदिनको अन्तरालमा काठमाडौं आइरहने उनी यसपटक भने त्यसलाई छोट्याउने धुनमा देखिन्छन् । जाडोयाम सकिँदै गर्दा मार्च–अप्रिलतिर काठमाडौं आउने योजना बनाएका छन् । तर, रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा गीत कम्पोज र रेकर्ड गरिरहने गोपाल योञ्जन, अरुणा लामालगायत उनका समकालीन गायक, गायिकाहरूले इहलीला त्याग गरिसकेका छन् । रेडियो नेपालसँग पहिलेजस्तो चार्म पनि त छैन । रेडियो नेपाल पहिले दिग्गज संगीतकर्मीहरूको जक्सन थियो, जो अहिले शान्त र मौन छ । रञ्जित भन्छन्, ‘जब–जब काठमाडौं टेक्छु, रेडियो नेपालका ती दिन खुबै सम्झनामा आउँछन् । तर, मेरो समयका साथीहरू कोही छैनन् ।’

समकालीन साथीहरू नभएर के भो त, रञ्जितको संगीतलाई प्रेम गरिरहने श्रोताको कमी छैन । उनलाई श्रद्धा गर्ने संगीतकर्मीको पनि कमी छैन । केही समयअघि उनले कम्पोज गरेको गीत फिल्म ‘वीरविक्रम–२’का लागि रेकर्ड भयो, ‘पिरतीको मिठो तिर्सना’ । करिब तीन दशकअघि प्रदर्शन भएको फिल्म ‘देउता’को गीत थियो, यो । यस गीतको पुरानो भर्सनमा इन्द्रजित मिजार र भारती घिमिरेले स्वर दिएका थिए । नयाँ भर्सनमा मेलिना राई र ताराप्रकाश लिम्बूको स्वर छ ।

गायिका राईले यसअघि फिल्म ‘दर्पण छाया–२’का लागि १९ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘दर्पण छाया’को ‘लहनाले जुरायो कि’ गीतको नयाँ भर्सनमा स्वर दिइन् । यस गीतमा पनि रञ्जितकै संगीत छ । पुरानो भर्सनमा साधना सरगमले स्वर दिएकी थिइन् । रञ्जित गजमेरसँग मेलिनाको पहिलो भेट त्यही वेला भएको थियो । गीत रेकर्ड हुँदै गर्दा रञ्जितले मेलिनालाई भनेका थिए, ‘पहिले मैले साधना सरगमसँग यो गीतमा काम गरेको थिएँ । अहिले तिमीले जसरी गाइरहेकी छ्यौ, साधनालाई मिस गराइरहेकी छ्यौ ।’ रञ्जितबाट त्यस्तो प्रतिक्रिया पाउँदा मेलिनाले आफूलाई भाग्यमानी महसुस गरेकी थिइन् ।

‘पिरतीको मिठो तिर्सना’को नयाँ भर्सनमा मेलिनासँगै स्वर दिएका संगीतकार–गायक ताराप्रकाश लिम्बूले अहिलेसम्म रञ्जितलाई भेट्न पाएका छैनन् । निकै कोसिस गर्दा पनि भेट्ने समय नजुरेको उनी बताउँछन् । उनले बच्चै हुँदा सुनेर नाचेको गीत अहिले आएर आफ्नै स्वरमा रेकर्ड हुने कल्पनासम्म गरेका थिएनन् । त्यसैले उनी पनि आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘उहाँलाई भेट्न नपाउँदा नेपाली संगीतको एउटा मन्दिरमा पुग्न नसकेको आभास सधैँ भइरहन्छ । कुनै दिन उहाँलाई जरुर भेट्नेछु ।’ ‘पिरतीको मिठो तिर्सना’को नयाँ भर्सनमा ताराप्रकाशको स्वरलाई श्रोता–दर्शकले रुचाइदिए । तर, आफूले पहिलेको गीतको तुलनामा नयाँ भर्सनमा न्याय गर्न सकिनँ कि भन्ने लागिरहन्छ । भन्छन्, ‘उहाँलाई भेट्न पाएको भए अझै राम्रो गर्न सक्थेँ कि भन्ने लाग्छ ।’