मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झाङ जुन
२०७६ माघ २९ बुधबार ०८:५४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

कोरोनाले चिनियाँ अर्थतन्त्रलाई अपांग पार्दैन

Read Time : > 2 मिनेट
झाङ जुन
२०७६ माघ २९ बुधबार ०८:५४:००

चिनियाँ नयाँ वर्षभन्दा पाँच दिनअघि बेइजिङले अन्ततः वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीलाई सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गर्‍यो । वुहान नगरपालिकाले सुरुमा सूचना दबाएको र भाइरसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न असफल भएको अवस्थामा ५० लाख बासिन्दा सहरलाई ‘लकडाउन’ गर्नुअघि नै नयाँ वर्ष मनाउन बाहिरिएका थिए । परिणामस्वरूप, यो भाइरस तीव्र रूपमा चीन र बाहिर फैलियो, जसले गर्दा हालको उच्च अन्तर्राष्ट्रिय स्वास्थ्य संकट निम्तिएको छ । 

चीनको अर्थव्यवस्था सुस्ताएको छ । खुद्रा, पर्यटन, होटेल, यातायात समेटेको सेवा क्षेत्र गम्भीर रूपमा प्रभावित हुन पुगेको छ । यो क्षेत्रले चीनको समग्र कुल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको छ । यस क्षेत्रमा पुगेको अवरोधले अन्ततः निर्माण क्षेत्रलाई पनि प्रभावित गर्छ । भाइरसको निरन्तर विस्तारतर्फ बढ्दो अन्तर्राष्ट्रिय चासोले व्यापारलाई थप बाधा पुर्‍याउने र मानिसको आवगमनलाई सीमित गर्न सक्छ । 

अहिले प्रकोप कति लामो समय टिक्ला भन्ने प्रश्न उब्जिएको छ । मलाई भने यो प्रकोप लामो टिक्लाजस्तो लाग्दैन । धेरै समस्याका बाबजुद चीनमा ठूलो स्तरमा संकटकालीन कदमस्वरूप स्रोत परिचालन गर्ने अतुलनीय क्षमता अझै कायम छ । उदाहरणका लागि, पछिल्ला दुई सातामा, त्रास नियन्त्रण गर्न चीनले जुन प्रयास गर्‍यो, त्यो सह्रानीयको रह्यो । चिकित्सा क्षेत्रका कर्मचारी र स्रोत–साधनको परिचालनको निर्देशनका अतिरिक्त प्रशासनले प्रमुख अस्पतालद्वारा कोरोना भाइरसका बिरामी पहिचान गर्ने र उपचार गर्ने क्षमताको पनि मूल्यांकन गरिरहेका छन् । थप महत्वपूर्ण कुरा, जनवरी २०मा घोषणा गरिएको राष्ट्रिय रोग नियन्त्रण अभियानको एउटा अंशमा, अधिकारीले प्रकोप सुरु भएदेखि वुहान आउजाउ गरेका हरेक व्यक्तिको निगरानी गरिरहेका छन् । 

यो अवधिमा, सहरी समुदाय र सुदर गाउँहरू सबैले अनावश्यक हिँडडुल र भेला कम गर्न विभिन्न उपाय अपनाउन थालेका छन् । चीनमा अहिले परिवार र व्यक्तिमा मास्क वितरण गर्न, अस्थायी रासन वितरण प्रणालीसमेत स्थापना गरिएको छ । बिदा बढाइएको छ र विद्यालय बन्द गरिएको छ । महामारी चरम अवस्थामा रहँदा सार्वजनिक भेटघाट न्यूनीकरण गर्न सघाउने यी कदमले संक्रमण विस्तारविरुद्ध प्रभावकारी भूमिका खेलेको छ । आगामी साता संक्रमण बढ्ने क्रममा ह्रास आउने अत्यधिक सम्भावना छ । 

कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पारेको पूर्ण प्रभाव मूल्यांकन गर्न अहिले नै हतार हुन सक्छ । तथापि, यसका लागि मुख्य भूमिका महामारीको विषमता वा विस्तारभन्दा पनि यसको समयावधिले पार्नेछ । महामारी जति चाँडो अन्त्य हुन्छ, त्यति नै चाँडो चीनको अर्थव्यवस्था उसको स्वाभाविक वृद्धिमा फर्किनेछ । उग्र नियन्त्रणका उपायले वर्तमान आर्थिक गतिलाई कमजोर पारे पनि तिनले प्रकोपलाई चाँडै अन्त्य गराउन सहयोग गर्नेछन् । जुनसुकै अवस्थामा पनि महामारीले अल्पकालीन आर्थिक मन्दी मात्र निम्त्याउन सक्छ । यसो भन्दै गर्दा, बाह्य आघातले चिनियाँ अर्थतन्त्रको मध्यम तथा दीर्घकालीन वृद्धिको प्रवृत्तिलाई उल्लेखनीय रूपमा परिवर्तन गर्दैन । एकपटक कोरोना भाइरसको आँधीबेहरी हटेपछि अर्थव्यवस्था पुनः पहिलेकै बाटोमा अग्रसर हुनेछ ।  

हालको तथ्यांकका आधारमा महामारी सम्भवतः अर्को दुई हप्तामा नयाँ मोडमा पुग्ने देखिन्छ, अर्थात् चीनले पहिलो त्रैमासिकभित्रै भाइरसमाथि जित हासिल गर्नेछ, सन् २०२०को समग्र वार्षिक वृद्धिमा प्रभाव कम गराउन यो अत्यन्त महत्वपूर्ण पनि हुन्छ

उदाहरणका लागि सन् २००३मा धेरैजसो अर्थशास्त्री र अनुसन्धानकर्ताले सार्सको प्रकोपले चीनको दोस्रो त्रैमासिकको कुल गार्हस्थ उत्पादन वृद्धिदरमा पाँचमा एक भागले कमी ल्याउनेछ र वार्षिक अंकमा ०.५ प्रतिशतले कमी ल्याउने पूर्वानुमान गरेका थिए । यी पूर्वानुमानले सार्सबाट प्रभावित सीमित क्षेत्रलाई ख्याल गरेको थियो र प्रकोप तीन महिनाभन्दा बढी नजाने अपेक्षाका साथ गरिएको थियो । यथार्थमा दोस्रो त्रैमासिकको जिडिपी वृद्धिदर अपेक्षाअनुरूप नै दुई प्रतिशतले घट्यो । त्यससमय, चीनको अर्थव्यवस्था वार्षिक १० प्रतिशतले वृद्धि भइरहेको थियो, र सार्सका कारण भएको मन्दीलाई पछिको मजबुत वृद्धिले खारेज गरिदियो । त्यसैले, सन् २००२ देखि सन् २००७ सम्मको चिनियाँ विकासको रेखाचित्र हेर्ने हो भने सार्स प्रकोपको प्रभावसमेत देखिँदैन । 

कोरोना भाइरस प्रकोपको प्रभाव सार्सको भन्दा बढी भए पनि अझै पनि यो कति लामो समय जान्छ भन्ने विषय नै त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको मुख्य निर्धारक हुनेछ । हालको तथ्यांकका आधारमा महामारी सम्भवतः अर्को दुई हप्तामा एउटा नयाँ मोडमा पुग्ने देखिन्छ । अर्थात्, चीनले पहिलो त्रैमासिकभित्रै भाइरसमाथि जित हासिल गर्नेछ, सन् २०२०को समग्र वार्षिक वृद्धिमा प्रभाव कम गराउन यो अत्यन्त महत्वपूर्ण पनि हुन्छ । विगतका वर्षमा चीनको वार्षिक ६ प्रतिशतभन्दा थोरै उच्च कुलगार्हस्थ उत्पादनको वृद्धि सार्स प्रकोपको समयभन्दा धेरै सुस्त हो । तर, चिनियाँ अधिकारीले सानो र मध्यम आकारका उद्यम र सेवाक्षेत्र व्यवसायलाई सघाउने वित्तीय र मौद्रिक नीति परिवर्तनमार्फत बलियो आर्थिक पुनर्जीवन सुनिश्चिता हासिल गर्न सक्छन् । 

मेरो प्रारम्भिक अनुमानमा, सबैभन्दा खराब अवस्था त्यो हुनेछ जसमा महामारीले पहिलो त्रैमासिकको कुल गार्हस्थ उत्पादनको वृद्धिलाई एकतिहाई वा आधाले कम गर्छ । यसले गर्दा सन् २०१९को पहिलो त्रैमासिकभन्दा २—३ प्रतिशतले आर्थिक वृद्धि घट्नेछ । तर, दोस्रो त्रैमासिकमा अवस्थामा सुधार भयो भने ह्रासको प्रभाव हट्नेछ । र, आवश्यक ‘म्याक्रो इकोनोमिक’ नीतिगत समायोजनबाट वर्षको दोस्रो भागमा आर्थिक वृद्धि फेरि तीव्र हुनेछ । थप बाह्य आघात नहुँदाको अवस्थामा नीतिगत खुकुलोपनले कुल गार्हस्थ उत्पादनको वृद्धिमा समग्र वर्षको ह्रास ०.५ देखि १ प्रतिशतभित्र सीमित गर्नेछ । यसले सन् २०२०को वार्षिक आर्थिक वृद्धि ५ देखि ५.५ प्रतिशततर्फ संकेत गर्छ, जुन चीनको वर्तमान वृद्धिअनुरूप हुनेछ । तर, हाल महामारीसँग संघर्षरत चिनियाँ सरकारले उसको वार्षिक जिडिपी वृद्धि लक्ष्यलाई कटौती गर्छ वा गर्दैन अझै स्पष्ट भएको छैन ।
झाङ जुन, फुदान विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्सका डिन हुन् ।