मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार

समाचारको भाषाप्रति प्रधानमन्त्री असन्तुष्ट, अंग्रेजीको सिको गर्दै आदरार्थी शब्द हटाएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १५:५७:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरूले समाचारमा प्रयाेग गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । गृह मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा उनले सञ्चार माध्यमहरूले तपाई नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । सञ्चार माध्यमहरूले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफू अपमानित भएको ठान्ने गरेको उनले बताए ।

नेपालको भाषा र त्यसको मर्म भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूले हजुरभन्दा सारै सानो ठान्ने गरेको उल्लेख गरे । ‘हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चार माध्यमहरू हजुर भन्दाखेरी सारै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर  मिस्टर-मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नु पर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोपसमेत सञ्चार माध्यमलाई लगाए । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफूभन्दा ठूला तथा दौतरीहरूलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भने, ‘तपाई भन्ने आदरार्थी शब्द व्यवहार र समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा यु भनेपछि पुग्छ । बिबिसीले पहिले सुरु गर्यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’

उनले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताए । लहैलहैमा लागेर सञ्चार माध्यमहरूले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगाउँदै उनले भने, ‘त्यसलाई आफ्नो सुर्याई ठानेका छन् ।’