१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २८ मंगलबार १५:१०:००
Read Time : > 1 मिनेट
समाचार

सदन अवरुद्ध गर्ने निर्णयबाट यसरी पछि हट्यो कांग्रेस 

Read Time : > 1 मिनेट
२०७६ माघ २८ मंगलबार १५:१०:००

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सदन अवरोध गर्ने निर्णयबाट पछि हटेपछि मंगलबार प्रतिनिधि सभाको बैठक निर्वाध चल्यो ।  

संसदीय दलको बैठकबाट मंगलबार कांग्रेसले सदनको अवरोध हटाउने निर्णय गरेको हो । सो निर्णयसँगै एक हप्तादेखि अवरुद्ध हुँदै आएको सदन संचालन भयो । 

ललिता निवासको जग्गा प्रकरणमा पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अघिल्लो हप्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि आक्रोसित बनेको कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो । 

यसरी भयो निर्णय 
मंगलबार विहान बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा प्रमुख सचेतक बालकृष्ण खाँडले सभापति शेरबहादुर देउवाको ध्यनाकर्षण गराउँदै बैठक सुरुवात गरेका थिए । त्यसक्रममा उनले सदनको अवरोधबारे ब्रिफिङ गरेका थिए । 

‘तेस्रो दिन संसद अवरुद्ध गर्दा सभामुख (अग्नि सापकोटा) ले हामीलाई बोल्नै दिनुभएन’ खाँडले बैठकमा भनेका थिए, ‘उहाँले माइक काटिदिनुभयो, यस्तो भएपछि निरन्तर अवरुद्ध गर्न गाह्रो छ ।’ 

खाँडको कुरा सुनेपछि सभापति देउवाले संसद बैठक अवरुद्ध नगर्ने निर्णय सुनाए । उनले भने, ‘तपाईंहरू त्यसै भन्नुहुन्छ भने अवरुद्ध नगरौं । उपसभापतिजीको विषयलाई राजनीतिक मुद्दा बनाऔंँ ।’ 

स्रोतका अनुसार, करिब दुई घण्टा चलेको बैठकमा उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार भने खासै बोलेनन् । संसदीय दल कार्यसमितिको बैठकमा उनले अन्य नेताहरुको कुरा सुने ।  

त्यसपछि संसद चल्याे
सभामुख अग्नि सापकोटाले आजको प्रतिनिधि सभाको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेस सांसदहरू पहिले झैँ उठे, तर सदन अवरोधका लागि थिएन । 

सभामुख सापकोटा मुसुक्क हाँसे । उनले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्नका लागि समय दिए । सचेतक भुसालले बोल्न सुरु गरेपछि कांग्रेसका सबै सांसदहरु आआफ्नो आसनमा बसे ।  

भुसालले राजनीतिक पूर्वाग्राही साँधेर अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको बताइन् । भनिन्, ‘राजनीतिक पूर्वाग्रहको आधारमा विभेदकारी व्यवहार, लोकतान्त्रिक मूल्यमान्यता विपरित, समानताको सिद्धान्त विपरित भेदभावपूर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।’  

आफूहरुले संसद अवरुद्धको गर्नुको कारण के थियो भन्ने खुलाउँदै करिव १२ मिनेट बोलेकी भुसालले अधिकांश समय अख्तियारले पक्षपातपूर्ण व्यवहार गरेको दावी गरिन् । 

उनले थपिन्, ‘संविधानले परिकल्पना गरेको तटस्थ, निष्पक्ष ढंगबाट आफ्नो अधिकार क्षेत्रभित्र रहेर आफ्नो कामहरु गर्न दायित्वका साथ अगाडि बढ्नुपर्ने अख्तियारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर, सरकारबाट प्रभावित भएर मुद्दा दायर ग¥यो ।’ 

भुसालको भनाइमा सहमति जनाउँदै कांग्रेस सांसदले ताली बजाए । प्रतिनिधि सभाको आजको बैठकमा सभापति देउवा भने उपस्थित थिएनन् ।