१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ माघ २८ मंगलबार १०:०६:००
Read Time : > 2 मिनेट
सेयर बजार

सेयर बजारमा ४.२८ अंकको सुधार एक सय कम्पनीको सेयर मूल्य बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ माघ २८ मंगलबार १०:०६:००

नेप्से परिसूचक सोमबार ४ दशमलव २८ अंक बढेर १ हजार ३ सय २४ दशमलव २६ बिन्दुमा पुगेको छ । सोमबार कारोबार रकम पनि घटेर ९३ करोड २० लाख ८६ हजारमा सीमित छ । आइतबार ९५ करोड ४ लाखभन्दा बढीको कारोबार भएको थियो । यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा आठ समूहको बढेको छ । जलविद्युत्, वित्त, जीवन बिमा र म्युचुअल फन्डको परिसूचक घटेको छ । निर्जीवन बिमा लघुवित्त, व्यापार र उत्पादनमूलक समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । 

बजार पुँजीकरण बढेर लगानीकर्ताको सम्पत्ति १६ खर्ब ८९ अर्बभन्दा बढी पुगेको छ । नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक शून्य दशमलव ५७ अंक बढेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक शून्य दशमलव ३ अंक बढेको छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट शून्य दशमलव ३१ अंक बढेको छ । 

 शिवम्को सर्वाधिक कारोबार

आइतबार १ सय ७५ कम्पनीको कारोबारमा २३ लाख ६० हजार ५ सय ८४ कित्ता सेयरको ९३ करोड २० लाख ८६ हजार किनबेच भएको छ । यस दिन १ सय कम्पनीहरूको सेयर मूल्य बढेको छ । सेयर मूल्य बढ्ने बढी लघुवित्त र इन्स्योरेन्स कम्पनी रहेका छन् । यस दिन शिवम् सिमेन्टको १३ करोड ६६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

दोस्रोमा नागरिक लगानी कोषको ४ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ । हकप्रद सेयर निष्कासन गर्न लागेको सिभिल लघुवित्तको सेयर मूल्य ८ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ८१ रुपैयाँ पुगेको छ । त्यसैगरी, हकप्रदका लागि नेप्सेमा मूल्य समायोजन भएको एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशत बढेको छ भने रैराङ हाइड्रोपावरको ५ प्रतिशत बढेर १ सय ४ रुपैयाँ पुगेको छ । यस दिन ५७ कम्पनीको सेयर मूल्य घटेको छ ।  

 प्राविधिक विश्लेषण : पिभट र मैनबत्तीअनुसार बजार अन्योल

सोमबारको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले मंगलबार अन्योल संकेत गरेको छ । सोमबारको पिभट बिन्दु १ हजार ३ सय २३ छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय २४ रहेको छ । सोमबारको पिभट बिन्दुभन्दा बन्द भएको बिन्दु एक अंक मात्र माथि रहेकाले मंगलबारको बजार अन्योल देखिएको हो । लगानीकर्ताले पिभटको आधारमा मात्र लगानी नगरी आफूले पनि आधारभूत विश्लेषण गर्नुपर्छ । 

मंगलबार नेप्से ओरालो लागे १ हजार ३ सय १६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ३० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । सोमबारको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट सेतो सामान्य डोजी आकृति बनेको छ । यस मैनबत्तीले मंगलबार बजार अन्योलको संकेत गरेको छ । प्राविधिक विश्लेषकका अनुसार बजार १ हजार ३ सय १५ देखि २० बिन्दुसम्म बलियो टेवा बिन्दु रहेकाले बढ्ने देखिन्छ । सोमबार बजार १ हजार ३ सय १५ बिन्दुसम्म ओर्लिएर बन्द हुने वेलामा १ हजार ३ सय २४ मा रहेकाले मंगलबार बढ्ने अनुमान विश्लेषकको छ ।

 हिमालयन बैंकको खुद ब्याज र सञ्चालन आम्दानीले बढायो नाफा

हिमालयन बैंक लिमिटेडको खुद ब्याज अम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ४५ प्रतिशत बढ्न पुगेको छ । गत आवको ६ महिनामा २ अर्ब ४९ करोड ३४ लाखभन्दा बढी खुद ब्याज आर्जन गरेको बैंकले चालू आवको ६ महिनामा २ अर्ब ५७ करोड ८० लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन आम्दानी १ अर्ब ९५ करोडबाट हालसम्म बढेर २ अर्ब ११ करोड ७० लाख पुगेको छ । 

गत वर्ष १ अर्ब ३६ करोड ७० लाख नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ७४ करोड २४ लाख नाफा गरेको छ । चालू आवको ६ महिनासम्म बैंकको वितरणयोग्य नाफा ९२ करोड ९२ लाख ८९ हजार छ । १० प्रतिशत बोनस सेयर पारितका लागि माघ २९ गते सभा बोलाएको बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख छ । बैंकको जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख छ । बैंकले ६ महिनामा १ खर्ब २२ अर्ब ७२ लाख निक्षेप संकलन गरेको छ भने ९७ अर्ब ७२ करोड २० लाख कर्जा प्रवाह गरेको छ । बैंंकको निष्क्रिय कर्जा १ दशमलव २५ प्रतिशतबाट बढेर १ दशमलव २८ प्रतिशत पुगेको छ । 

पिभट

तेस्रो प्रतिरोध            १३४५.४३
दोस्रो प्रतिरोध           १३३७.६४
पहिलो प्रतिरोध         १३३०.९५
पिभट बिन्दु              १३२३.१६
पहिलो टेवा              १३१६.४७
दोस्रो टेवा                १३०८.६८
तेस्रो टेवा                १३०१.९९