१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ

सेयर ब्रोकर पनि मर्ज हुन सक्ने

संशोधनअनुसार सेयर ब्रोकरले सम्पत्तिको स्रोत खुलाउनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार ०८:१८:००

धितोपत्र बोर्डले चार नियमावली संशोधन गरेको छ । बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४, सामूहिक लगानी कोष नियमावली (२०६७) र धितोपत्र दर्ता तथा निष्कासन नियमावली (२०७३) संशोधन गरेको हो । 

अर्थ मन्त्रालयको स्वीकृतिपछि संशोधित नियमावली फागुन १ देखि कार्यान्वयन गर्ने बोर्डका अध्यक्ष भीष्म ढुंगानाले जानकारी दिए । संशोधित नियमावलीले पुँजीबजार विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरे ।संशोधित धितोपत्र व्यवसायी २०६४ मा नियमावलीअनुसार ‘क’ वर्गका बैंक तथा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको कम्पनीले मात्र धितोपत्र व्यापारीको कार्य गर्न पाउनेछन् । 

धितोपत्र दलाल व्यवसायीको सम्पत्तिको स्रोत खुलाउनुपर्नेछ । त्यसैगरी, धतोपत्र दलाल तथा धितोपत्र व्यापारीले अर्को धितोपत्र दलाल तथा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्न–गाभिन सक्ने प्रावधान राखिएको छ । धितोपत्र व्यापारीले न्यूनतम चुक्ता पुँजी २० करोड हुनुपर्नेछ । मर्चेन्ट बैंकरको सञ्चालक तथा कार्यकारी प्रमुख धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा रहन नपाउने व्यवस्था गरिएको छ ।

लाभको पदमा रहँदा स्वार्थ बाझिन सक्ने भएको संशोधित नियमावलीमा कडाइ गरिएको हो । मर्चेन्ट बैंकरको सेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ सेयरधनी थप गर्नुपूर्व बोर्डमा जानकारी गराउनुपर्नेछ । यसरी नयाँ सेयरधनी थप गर्दा अंकित मूल्य मात्र नभई बिक्री मूल्यमा सेयरको भाउ उल्लेख गर्नुपर्नेछ । यो व्यवस्थाले बजार पारदर्शी हुने बोर्डको अपेक्षा छ ।