• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ माघ २८ मंगलबार ०८:११:००
नयाँCity

नेपाल मण्डलको सम्पत्ति थाङ्का 

२०७६ माघ २८ मंगलबार ०८:११:००

चित्रकार नारायण स्याङ्तानले ०३५ सालदेखि थाङ्का बनाउँदै आएका छन् । हाल भक्तपुर टुलाछेँस्थित ट्रेडिसनल थाङ्का पेन्टिङ स्कुलका लागि काम गर्छन्, उनी । उनले तयार पारेको एउटा थाङ्का १० वर्षदेखि सोही स्कुलमा छ, जुन बनाउन उनले एक लाख रुपैयाँ ज्याला लिएका थिए । 

करिब तीन दशकअघि उनले बनाएका थाङ्का पनि छन्, त्यहाँ । ‘यसको अर्थ थाङ्का नबिक्ने भन्ने होइन, यसका छुट्टै पारखी छन्,’ उनी भन्छन्, ‘उनीहरू चित्रको जिउअनुसार अनुहारको आकार र मुद्रा स्केलले नापेर मात्र किन्छन् ।’ गहन ज्ञान भएकाहरूले मात्र थाङ्का किन्ने गरेको उनी बताउँछन् ।

संस्कृतिविद् ओम धौभडेल थाङ्कालाई नेपाल मण्डलको सम्पत्ति मान्छन् । ‘त्यसवेला थाङ्का नभनी ‘पौवाचित्र’ भनिन्थ्यो, जुन हिन्दू धर्मावलम्बीहरूको प्रिय चित्र थियो,’ उनी भन्छन्, ‘पौवामा नारायण, शिव, गणेश, भगवतीका चित्र बनाइन्थ्यो ।’

काभ्रेकी १६ वर्षीया सोनी तामाङले थाङ्का पेन्टिङ सिकेको करिब एक वर्ष भयो । उनी सुरुमा चित्र बनाउँछिन् र त्यसमा रङ भर्छिन् । ‘थाङ्का बनाउन र बुझ्न मानिसमा इच्छाशक्ति हुनुपर्छ,’ उनी भन्छिन् । सूर्यविनायकका शुक्रराज मोक्तान आफ्ना दुई भाइसँग मिलेर थाङ्का बनाउँदै आएका छन् । ‘१५ वर्षदेखि अर्डरअनुसार घरमै बनाउँदै आएका छौँ,’ उनी भन्छन्, ‘पौवा तथा तिब्बती दुवै थाङ्का लेख्ने गरेका छौँ ।’

बौद्ध धर्मग्रन्थअनुसार सिद्धार्थ गौतम, शाक्यमुनि, अभिताभ, कश्यप र दिपांकर गरी बुद्धका विभिन्न स्वरूप छन् । थाङ्कामा यिनै बुद्ध तथा रिम्पोछे, चेरिसी, हरित तारा, श्वेत तारालगायत महागुरु र देवीहरूको स्वरूप अंकित गर्ने गरिन्छ । थाङ्काको मध्यभागमा प्रमुख देवता र छेउछाउमा ठूला–साना देवी–देवताको पनि चित्र अंकित गरिन्छ ।

किंवदन्तीअनुसार एकपटक बुद्धले आफ्नो अनुहार इनारमा हेरेछन् । आफ्नो अनुहारलाई दिगो समयसम्म जोगाइराख्ने सोच उनमा आएछ । र, आफ्नो आकृति माटोमा कोरेछन् । त्यसपछि त्यसलाई कपडामा उतारेछन् । त्यही नै थाङ्काको रूपमा आएको जनविश्वास रहेको चित्रकार स्याङ्तान बताउँछन् । १२औँ शताब्दीमा कोरिएको ‘ह्विल अफ लाइफ’लाई सबैभन्दा पुरानो थाङ्का मानिन्छ, जुन अमेरिकाको लसएन्जलसस्थित संग्रहालयमा छ ।

थाङ्का व्यवसायी सरोज पाण्डे १७ वर्षदेखि यस व्यवसायमा आबद्ध छन् । तिब्बत बसाइका क्रममा उनले थाङ्काको सुरुवात ११औँ शताब्दीमा भएको जानकारी बटुलेका छन् । तत्कालीन तिब्बतका राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । 

चिनियाँ पर्यटक नेपाली थाङ्का किन्ने ग्राहकको पहिलो स्थानमा पर्छन् । नेपालबाट जापान, भियतनाम, कम्बोडियाजस्ता बौद्ध धर्म मान्ने देशमा बढी निर्यात हुन्छ । नेपालमा १५ लाख रुपैयाँसम्मका थाङ्का बन्छन् ।

त्यसक्रममा उनले नेपाली कलाकृति, मूर्ति, बुद्धिजीवी र कलाकार पनि लिएर गएका थिए । उनीहरूले बनाएको पौवाचित्र तिब्बतमा लोकप्रिय बन्यो । ‘र, त्यसैलाई थाङ्का चित्रको रूप दिइएको हो,’ व्यवसायी पाण्डे भन्छन् ।

संस्कृतिविद् ओम धौभडेल भने थाङ्कालाई नेपाल मण्डलको सम्पत्ति मान्छन् । भक्तपुर, पाटन र काठमाडौंलाई नेपाल मण्डल भन्ने गरिन्थ्यो । ‘त्यसवेला थाङ्का नभनी ‘पौवाचित्र’ भनिन्थ्यो, जुन हिन्दू धर्मावलम्बीहरूको प्रिय चित्र थियो,’ धौभडेल भन्छन्, ‘पौवामा नारायण, शिव, गणेश, भगवतीका चित्र बनाइन्थ्यो ।’ त्यसो त बुद्धको पौवाचित्र पनि करिब २५ सय वर्ष पुरानो हो । 
बौद्ध धर्म प्रचारका क्रममा पौवाचित्र तिब्बत पुगेको र तिब्बती शैलीबाट प्रभावित भएर थाङ्का सुरु भएको धौभडेल बताउँछन् ।

काठमाडौं कपनस्थित स्याल्पा गुम्बाका लामा पेमा छ्योइतेलका अनुसार अहिलेको थाङ्का तिब्बती शैलीको हो । बौद्ध धर्म मान्ने जापान र कोरियामा यसभन्दा भिन्न शैली प्रयोगमा छन् । नेपालका बौद्ध धर्मावलम्बी नेवार समुदायले पौवा थाङ्का बनाउने गर्छन् ।

अप्ठ्यारो कला

चित्रकार स्याङ्तान भन्छन्, ‘थाङ्का बनाउँदा निकै सिर्जनशील हुनुपर्छ । थाङ्कामा फूल, पात, बादल, पानी, डाँडा थप्ने कुरा सिर्जनशीलतामा भर पर्छ ।’ लामा छ्योइतेलका अनुसार थाङ्का बनाउँदा बुद्ध र बौद्ध गुरुहरूको शरीरका अंग–अंगका आकार नापेर सूत्रअनुसार मिलाउनुपर्छ । 

यस्तै, हात, आँखा र मुद्राहरू पनि मिल्ने गरी लेख्नुपर्छ । थाङ्का बनाउने कपडालाई पहिले क्यान्भासमा स्ट्रेच गरिन्छ । त्यसपछि सरेशको माटो लेपन गरिन्छ । त्यो सुकेपछि कागजजस्तो बन्छ । अनि मात्र स्केच सुरु हुन्छ । त्यसपछि रङ भरिन्छ । अन्तिममा सुनले लेखिन्छ । र, त्यसमाथि ‘जेड’ पत्थरले रगडिन्छ, जसबाट थाङ्कामा चमक आउँछ ।

थाङ्का आठ प्रकारका हुन्छन् । ‘मण्डला’ र ‘बुद्धको जीवन इतिहास’लाई थाङ्कामा बढी समेटिएको पाइन्छ । त्यसपछि ‘कालचक्र’ पारखीमाझ लोकप्रिय छ । दलाई लामाको यो थाङ्काले संसारका सबै चिज नाशवान् रहेको देखाउँछ । यस्तै, ‘मण्डला’ गोलाकार थाङ्का हो । त्यसबाहेक ‘ह्विल अफ लाइफ’, ‘हरित तारा’, ‘श्वेत तारा’, ‘महांकाल’, ‘अवलोकितेश्वर’ र ‘महिश्य गुरु वैदुर्यप्रभा’ थाङ्काका प्रकार हुन् । नेपालमा लामा जातिले आफ्नो इष्ट देवताका थाङ्का किनेर पुज्ने गर्छन् ।

नेपालमा चिनियाँ पर्यटक थाङ्का किन्ने ग्राहकको पहिलो स्थानमा पर्छन् । यहाँबाट जापान, भियतनाम, कम्बोडियाजस्ता बौद्ध धर्म मान्ने देशमा बढी निर्यात हुन्छ । नेपालमा दुई सय ५० देखि १५ लाख रुपैयाँसम्मका थाङ्का बन्छन् । थाङ्कामा प्रयोग गर्न विशेष तरिकाले सुनको धुलो बनाइन्छ । सरकारले रङ र सुनको समस्या सम्बोधन गरिदिए थाङ्का तयार पार्न धेरै सहज हुने कलाकारहरू बताउँछन् ।