१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवराज मैनाली काठमाडौं
२०७६ माघ २८ मंगलबार ०७:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

अवकाशअघि प्रहरी महानिरीक्षकको उद्घाटन र शिलान्यास मोह

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७६ माघ २८ मंगलबार ०७:३२:००

तीन सातामा १५ उद्घाटन, अन्तिम दिन निर्माण सम्पन्न नभएको भवन उद्घाटन गर्दै 

सुरक्षा निकायका प्रमुखहरू सामान्यतया अवकाशभन्दा एक महिनाअघि बिदामा बस्ने प्रचलन छ । तर, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको अन्तिम महिना भने उद्घाटन र शिलान्यासमै बित्यो ।

यस अवधिमा उनले निर्माण सम्पन्न नभएका भवनको शिलान्यास र ठेक्का नै नलागेका निर्माणका कामको समेत उद्घाटन गरेका छन् । २ देखि २३ माघसम्मको अवधिमा उनले १५ वटा शिलान्यास तथा उद्घाटन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार थप दुई उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालयका भवन उद्घाटन गर्न जाने चलन छ, तर परामर्श केन्द्रको उद्घाटनमा समेत महानिरीक्षक खनाल वीरगन्जदेखि नेपालगन्जसम्म पुगेका छन् । 
 

कहाँ कहिले उद्घाटन र शिलान्यास ?

२३ माघमा उनले बुटवलको हाटबजारमा निर्माण भएको लागुऔषध प्रयोगकर्ताका लागि स्थापना गरिएको परामर्श केन्द्रको उद्घाटन गरेका थिए । २२ माघमा नेपालगन्जमा उनले प्रहरीको विधि विज्ञान प्रयोगशाला र परामर्श केन्द्रको उद्घाटन गरे । २१ माघमा प्रहरी प्रधान कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय बझाङको भवन भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भवनमा आफ्नै नाम लेखाउने चाहनाअनुसार जिल्ला पुग्न नभ्याए पनि उनले मुख्यालयबाटै उद्घाटन गरेका हुन् । 

२ देखि २३ माघसम्मको अवधिमा उनले १५ वटा शिलान्यास तथा उद्घाटन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार थप दुई उद्घाटन गर्ने कार्यक्रम छ ।

१३ माघमा महानगरीय ट्राफिक परिसर भक्तपुरको भवन उद्घाटन गरेका थिए । ९ माघमा रोल्पा पुगेर प्रहरी भवन निर्माण उद्घाटन गरे । जिल्ला प्रहरी कार्यालय भवन उद्घाटनका लागि उनी ८ माघमा कालिकोट पुगेका थिए । ५ माघमा पोखरा पुगेर परामर्श केन्द्रको उद्घाटन गरे । त्यही दिन जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको ब्यारेक भवनको शिलान्यास गरेका थिए । 

४ माघमा इलाका प्रहरी कार्यालय भानु तनहुँको भवन शिलान्यास गरे । त्यही दिन इलाका प्रहरी कार्यालय मुग्लिनको भवन निर्माणको शिलान्यास गरेका थिए । ३ माघमा चितवन पुगेर सामुदायिक सेवा केन्द्रको भवन उद्घाटन गरे । त्यही दिन चितवनमा कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको उद्घाटन गरेका थिए । २ माघमा पर्सा पुगेर मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन गरे । 

अवकाशको मुखमा महानिरीक्षकको उद्घाटन तथा शिलान्यास मोहलाई प्रहरी अधिकारीहरूले नै अनौठो रूपमा लिएका छन् । प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्री भने धेरै भवन निर्माण भएको र केही निर्माणको क्रममा रहेकाले उद्घाटन र शिलान्यास हुनु सामान्य भएको बताउँछन् । 

मंगलबार अवकाश हुन लागेका खनालले दुईवटा भवनको उद्घाटन गर्दै छन् । त्यसमध्ये एउटा निर्माण सम्पन्न नै भएको छैन । प्रहरी प्रधान कार्यालयभित्र बन्न लागेको अडिटोरियम हल र पहरा गण सामाखुसीमा बन्न लागेको भवनको खनालले उद्घाटन गर्ने कार्यक्रम छ । बिहान १० बजे पहरा गण तथा साढे ११ बजे अडिटोरियम हलको उद्घाटन गर्न लागिएको छ । सो हलको निर्माण सम्पन्न नै भएको छैन । करिब २० प्रतिशत काम बाँकी नै रहेको स्रोत बताउँछ ।

निर्माण सम्पन्न भएर भुक्तानी भइसकेपछि मात्र भवन उद्घाटन गर्ने प्रचलन छ । सम्झौताअनुसार काम नभई भुक्तानी गर्न मिल्दैन । आफ्नै कार्यकालभित्र जसरी पनि हल बनाइसक्न उनले ठेकेदारलाई समेत दबाब दिएका थिए । जसअनुसार काम छिटो भएको थियो । 

तर, छिटोका नाममा ठेकेदारले लापरबाहीसमेत गरेको स्रोत बताउँछ । महानिरीक्षक खनालकै पहलमा करिब १० करोड लगानीमा हल बन्न लागेको हो । ‘प्रहरीमा भौतिक संरचना निर्माणमा उहाँले पहल त गर्नुभयो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर निर्माण सम्पन्न नै नभई उद्घाटन गर्दा भोलि समस्या पर्न सक्ने विषय हो ।’ 

आज २७ औं महानिरीक्षकको नियुक्ति

सरकारले मंगलबार नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । महानिरीक्षक चयनकै लागि मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सोमबारको बैठकमा महानिरीक्षक चयनबारे औपचारिक छलफल नभएको स्रोत बताउँछ । अहिले हालकै महानिरीक्षकलाई निरन्तता दिने, महानिरीक्षकलाई अवकाश दिएर ३० वर्षे सेवाहद हटाई एआइजीमध्येबाट नियुक्त गर्ने तथा डिआइजीबाट बढुवा गर्ने तीनथरी विकल्पमा छलफल भएको स्रोत बताउँछ । 

३० वर्षे सेवाहदबारे प्रावधान प्रहरी नियमावलीमा छ । नियमावली मन्त्रिपरिषद्बाटै संशोधन हुन सक्ने भएकाले सेवाहद संशोधनबारे लबिङ भएको हो । डिआईजीमध्येबाट भने ठाकुर ज्ञवाली र तारिणी लम्साल बढुवाको प्रतिस्पर्धामा छन् । सरकारले अन्तिम दिनमा आएर मात्र डिआइजीको बढुवा गर्दै आएको छ । तीन वर्षअघि एक महिनासम्म प्राविधिक एआइजीलाई निमित्त महानिरीक्षक बनाइएको थियो ।