१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २७ सोमबार २१:५३:००
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २७ सोमबार २१:५३:००

उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साहिँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ ।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले भारतीय गोर्खाका पूर्व हवल्दार थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा थापालाई थुनामा राख्न अदालतले आदेश दिएको हो । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत समूहमा आबद्ध भएर व्यवसायीसँग पैसा असुलीमा संलग्न रहेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार पक्राउ गरेको थियो ।

सिआइबीले एक महिनाअघि नै बस्नेत समूहका पवन खड्का र सुरेन नगरकोटीलाई भने पक्राउ गरेर संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो । पक्राउ परेका दुवै जनाले नरेशको नाम लिएपछि उनीविरुद्ध पनि सिआइबीले मुद्दा दायर गरेको थियो ।

गौचन हत्याका मुख्य योजनाकार बस्नेतको समूहले पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि निर्माण व्यवसायीहरूले सिआइबीमा उजुरी गरेका थिए । धम्की दिने समूहको कल ट्रेस गर्दा थापासमेत संलग्न देखिएपछि सिआइबीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।