१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाेटाे : बीबीसीबाट
नयाँ पत्रिका
२०७६ माघ २७ सोमबार १२:५८:००
Read Time : > 1 मिनेट
विश्व

अष्ट्रेलिया : ३० वर्षयताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ माघ २७ सोमबार १२:५८:००

विगत केही दिनदेखि अष्ट्रेलियाको सिड्नी तथा न्यु साउथ वेल्स क्षेत्रमा भीषण वर्षा भइरहेको छ । भारी वर्षासँगै हावाहुरी पनि आएपछि यहाँको जनजीवन प्रभावित भएको छ । 

सोमबार सिड्नी क्षेत्रमा रेल तथा बस सेवा बन्द भएका छन्, अधिकांश स्कुल, कार्यालय पनि खुलेका छैनन र बिजुलीसमेत अवरुद्ध भएको छ ।

एकलाख भन्दा बढी मानिस बिजुलीविना बस्न बाध्य भएका छन् भने सिड्नीको गल्स्टोनबाट एक जना मानिस आफ्नो गाडीसहित बाढीमा बगेर बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् । 

मौसम विभागले सोमबार दिनभरी नै सिड्नी, इलावारा र सेन्ट्रल टेबलल्यान्ड्स इलाकामा हावाहुरीका साथै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार सिड्नीमा मात्रै विगत चार दिनमा सन् १९९० यताकै सर्वाधिक वर्षा (३९१ दशमलव ६ मिलिमिटर) मापन गरिएको छ । 

शुक्रबारदेखि सुरु भएको भारी वर्षाका कारण आपतकालीन सेवाका टेलिफोन लाइन निकै व्यस्त रहेको र हालसम्म २०० भन्दा बढी मानिसहरुको उद्धार गरी सकिएको स्थानीय अधिकारीले बताएका छन् । 

आइतबार रातिदेखि नदीमा पानीको बहाव घटे पनि स्थिति सामान्य हुन अझै केही समय लाग्ने छ । अधिकारीहरुले बाढी सम्भावित क्षेत्रहरुमा सचेत भएर रहन नागरिकलाई चेतावनी दिएका छन् । 

लामो समयको खडेरीका कारण पानीको प्रयोगमा आंशिक प्रतिबन्ध झेलिरहेका यस क्षेत्रका बासिन्दालाई वर्षाले केही राहत दिने अवस्था देखिएको छ । 

सिड्नीको पानी वितरण गर्ने मुख्य बाँध वारागम्बामा अब ७० प्रतिशतसम्म पानी जम्मा हुने अनुमान गरिएको छ, यसअघि त्यहाँको जलस्तर ४२ प्रतिशत मात्र थियो । 

पानी परेसँगै करिब ३ महिनादेखि स्वालहेवननजिक फैलिएको डढेलो पनि निभेको छ । उक्त डढेलोबाट ३१२ घर नष्ट भएका थिए भने ५०० हेक्टर जमिन डढेको थियो । 

न्यु साउथ वेल्सका विभिन्न भागमा पानी पर्नु अगाडिसम्म ३० ठाउँमा डढेलो लागेको थियो भने अहिले १७ ठाउँमा मात्र आगलागी भइरहेको एनएसडब्ल्यु रुलर फायर सर्भिसले जनाएको छ । 

सेप्टेम्बरदेखि सुरु भएको डढेलोबाट अष्ट्रेलियामा ३४ जनाको ज्यान गएको छ भने आवासीय तथा गैरआवासीय गरी ५ हजार ९ सय भवन नष्ट भएका छन् । सन् २०२० को जनवरीसम्म अष्ट्रेलियन सरकारले गरेको अनुमानअनुसार करिब १२ दशमलव ६ मिलियन हेक्टर जमिन जलेको छ । करोडौं जनावार डढेलोको शिकार भएका छन् । 
 

एजेन्सीकाे सहयाेगमा