१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १०:२४:००
Read Time : < 1 मिनेट
अर्थ

४ वर्षमा ४४५ सम्पदाको मात्रै पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १०:२४:००

भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाको चार वर्ष बित्दा ६० प्रतिशत मात्र पुनर्निर्माण भएका छन् । ९ सय २० सम्पदामध्ये ४ सय सम्पदा मात्र पुनर्निर्माण भएका हुन् । यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दुई वर्षभित्र विश्व समुदायमाझ ०७२ को महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं सांस्कृतिक सम्पदाको काम सम्पन्न हुने दाबी गरेका छन् । 

भूकम्पबाट क्षति भएका पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं पुनर्निर्माणको हालसम्मको अवस्थाबारे जानकारी दिन पुरातत्व विभागले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति भएका सम्पदाको ६० प्रतिशत काम सकिएको र आगामी दुई वर्षमा बाँकी सबै काम सम्पन्न हुने दाबी गरे । 

नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा पर्यटकीय महत्वका हिसाबले पनि यहाँको पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्धर्नमा सरकार लागिरहेको बताए । युनेस्कोले पठाउने हरेक मोनिटरिङमा नेपाल सफल हुने दाबी गर्दै मन्त्री भट्टराईले भने, ‘ढुक्क हुनुस्, अब नेपालका विश्वसम्पदा खतरा र कालोसूचीमा पर्दैनन् ।’ 

मन्त्री भट्टराईले लुम्बिनीमा व्यापार गर्न नपाइने भन्दै परोपकारी भावनाका साथ खुलेका गुम्बामा व्यापार भएको पाइए कारबाही गर्ने बताए । ‘गुम्बाहरू परोपकारका लागि खोलिएका हुन्छन्,’ उनले भने, ‘तर, त्यहाँ व्यापार गरेको पाइए कारबाही गर्नेछौँ ।’

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । भूकम्पले ३१ जिल्लामा ९ सय २० सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४ सय सम्पदा पुनर्निर्माण सम्पन्न भएको जानकारी दिइयो । त्यस्तै, पुरातात्विक स्थलहरूको अन्वेषण र उत्खननको वर्तमान अवस्था तथा विश्वसम्पदा स्थलहरूको भूकम्पपछिको अवस्थाबारे पनि जानकारी गराइएको थियो ।