मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाईल फोटो : गतवर्ष संचालित गुरिल्ला म्याराथनमा सहभागि एक धावक
मनीष खड्का रुकुम पश्चिम
२०७६ माघ २६ आइतबार १४:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

गुरिल्ला म्याराथन फागुन दुईमा हुने

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७६ माघ २६ आइतबार १४:४०:००

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले यस वर्ष पनि गुरिल्ला म्याराथन गर्ने भएको छ । गाउँपालिकाले हरेक वर्ष फागुन १ गते गुरिल्ला म्याराथन संचालन गर्दै आएकोमा यस वर्ष भने फागुन २ मा हुने गाउँपालिकाले जनाएको छ ।

पहिलो र दोस्रो संस्करणमा पुरुष म्याराथन मात्र हुने गरेकोमा यस पटक भने महिला म्याराथन पनि संचालन हुने गाउँपालिका अध्यक्ष नरवहादुर पनुले जानकारी दिए । 

गाउँपालिकाले तत्कालिन द्धन्दका बेला माओवादी लडाकुहरुले प्रयोग गरेको बाटोमा म्याराथन संचालन गर्दै आएको हो ।

गत वर्ष भन्दा यस वर्ष म्याराथनको दुरी बढाईएको छ । गत वर्ष २२ किलोमिटर दुरीमा म्याराथन संचालन गरिएकाेमा यस वर्ष पुरुष म्याराथन ३२ किलोमिटर र महिला म्याराथन २५ किलोमिटर दुरीमा संचालन हुने गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए ।

गाउँपालिकाको १ वडा कार्यालय सिम्ली बजारबाट सुरु हुने पुरुष म्याराथन मुसीकोट नगरपालिका १४ को छिवाङ ज्युला हुँदै सानीभेरी गाउँपालिका ३ को गरायला हुँदै मौराखारा पुगि त्यहाँबाट रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना झरेर सानीभेरी गाउँपालिकाको गिठाकोट, सहरेज्युला हुँदै पुनः सिम्ली बजारमै पुगेर सकिने छ । 

महिला म्याराथन पनि त्यही रुटमा संचालन हुने छ । तर महिलाहरु मौराखारा लेकमा भने पुग्नु पर्ने छैन् । महिला धावकहरु सानीभेरी गाउँपालिका ३ पेदिबाट मौराखारातिर नगई सिधै रिम्नातर्फ जाने गरी रुट निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । 

म्याराथनमा पुरुषतर्फका विजेताले ७५ हजार नगद, कप, मेडल र प्रमाण पत्र, उप विजेताले ५० हजार नगद, मेडल र प्रमाण पत्र तथा दुई जनाले शान्त्वना स्वरुप १०/१० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

त्यस्तै महिलातर्फका विजेताले नगद ५० हजार, कप, मेडल र प्रमाण पत्र, उप विजेताले नगद ३५ हजार,  मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । दुई जनालाई शान्त्वना स्वरुप नगद १०/१० हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।