१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेपालका ब्याट्सम्यानद्वय विनोद भण्डारी (बायाँ) र कुशल मल्ल रन लिँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७६ माघ २६ आइतबार १०:५२:००
Read Time : > 2 मिनेट
खेलकुद

आइसिसी विश्वकप लिग २ शृंखला : नेपाललाई पहिलो घरेलु एकदिवसीय 

Read Time : > 2 मिनेट
२०७६ माघ २६ आइतबार १०:५२:००

नेपालले आफ्नो घरमा आयोजना भएको एकदिवसीय खेलमा पहिलो जित हात पारेको छ । आइसिसी विश्वकप लिग २ शृंखलाअन्तर्गत शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले यो उपलब्धि हात पारेको हो । समग्रमा भने नेपालका लागि यो चौथो एकदिवसीय जित हो । हालसम्म आठ एकदिवसीय खेलेको नेपालले चार खेल गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको चार बलअघि सबै विकेट गुमाएर १९० रनको योगफल तय गरेको थियो । जबाफी ब्याटिङमा आएको अमेरिकालाई ४४.१ ओभरमा १५५ रनमै रोक्दै नेपालले जित निश्चित गरेको हो । 

यो जितसँगै नेपालले सन् २०२३ मा भारतले आयोजना गर्ने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको रूपमा रहेको लिग २ शृंखलामा खाता खोलेको छ । नेपालले शृंखलाअन्तर्गत दोस्रो खेलबाट दुई अंक जोडेको छ । सात टोली सम्मिलित प्रतियोगिताको अंक तालिकामा भने नेपाल छैटौँ स्थानमा छ  । नेपाल शृंखलाअन्तर्गत बुधबार भएको खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालसँगको पराजयका बाबजुद अमेरिका १० खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । उसलाई आठ खेलबाट १२ अंक बनाएको ओमानले दोस्रो स्थानबाट पछ्याइरहेको छ । अमेरिका ओमानसँग पनि पराजित भएको थियो ।

कुशल र विनोदको कीर्तिमानी साझेदारी

ब्याटिङतर्फ नेपालको सुरुवात फेरि फितलो रह्यो । चौथो ओभरको पहिलो बलमै प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल मात्र तीन रनमा आउट हुन पुगे । त्यसवेला बोर्डमा नेपालले मात्रै ६ रन जोडेको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाउने प्रयास गरेका थिए । यद्यपि, ज्ञानेन्द्र २१ र पारस १९ रनमा आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नखोली पेभिलियन फर्किए । आरिफ सेख दुई रनमै आउट भए । यो अवस्थामा नेपाल ४९/५ को नाजुक अवस्थामा थियो । 

तर, नेपाली टोली त्यो अवस्थाबाट फर्कियो । एकदिवसीय खेलमा डेब्यु गरेका कुशल मल्लले ५० र विनोद भण्डारीले ५९ रनको अर्धशतकीय योगदान गरेपछि नेपालले सम्मानजनक योगफल तय गरेको थियो । यो दुवैको पहिलो एकदिवसीय अर्धशतक हो । कुशलले ४९ बलमै अर्धशतक पूरा गरेका थिए । उनले आफ्नो इनिङ्समा तीन छक्का र चार चौका प्रहार गरे । विनोदले एक छक्का र ६ चौका प्रहार गरे । यी दुईले छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरे ।

यो एकदिवसीय खेलमा नेपाली खेलाडीले छैटौँ विकेटका लागि गरेको अहिलेसम्मकै सर्वाधिक साझेदारी बन्यो । खेलमा यी दुवैले एक–एकपटक जीवनदान पाए । मनाङ्क पटेलले कुशल ३८ रनमा खेलिरहँदा मिड अफमा सहज क्याच छाडेका थिए । अमेरिकी कप्तान सौरभ नेत्रावल्करले पनि ५१ रनमा खेलिरहेका विनोदको क्याच छुटाएका थिए । जीवनदान पाएपछि विनोदले थप आठ रन जोडेका थिए । उनीहरूभन्दा पछि करण केसीले १२ र सुसन भारीले ११ रनको योगदान गरे । 

करण र सन्दीपको कसिलो बलिङ 

कीर्तिपुरको बलिङमैत्री विकेटमा करण केसी र सन्दीप लामिछानेले अमेरिकी टोलीको ब्याटिङ इनिङ्स ध्वस्त पारे । मिडियम पेसर करणबाट इनिङ्सको सुरुवात गराएका कप्तान ज्ञानेन्द्रले दोस्रो ‘इन्ड’बाट सन्दीपलाई ल्याएका थिए । यी दुवै बलरले सुरुवातमै नेपाललाई सफलता पनि दिलाए । प्रारम्भिक ब्याट्सम्यान आरोन जोन्सलाई सन्दीपले पाँच रनमै एलबिडब्लुमा पारे । तेस्रो क्रमका ब्याट्सम्यान स्टिभन टेलर (०) लाई करणको बलमा दीपेन्द्रले कभरमा उत्कृष्ट क्याच लिए । सोही ओभरको अन्तिम बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्सल (२) पनि विकेटपछाडि समातिए । चौथो विकेटका रूपमा सन्दीपले मनाङ्क (४) लाई एलबिडब्लु धरापमा पारे । 

यो समय नेपालले अमेरिकालाई १३/४ को अवस्थामा पुर्‍याएको थियो । त्यसपछि क्रिजमा आएका इयान होल्यान्डले ७५ रनको अर्धशतकीय योगदान गर्दै अमेरिकालाई अगाडि बढाउने प्रयास गरेका थिए । उनी क्रिजमा रहेसम्म नेपाल जितका लागि ढुक्क हुन सकिरहेको थिएन । करणले विकेटकिपर विनोदबाट उनलाई क्याच गराएपछि भने नेपाल जिततर्फ अघि बढेको थियो । महत्वपूर्ण चार विकेट लिएका करण म्यान अफ द म्याच घोषित भए । उनले ७.१ ओभरमा एक मेडन राखी १५ रन खर्चिए । सन्दीपले दुई विकेट हात पारे ।

खेलपछि नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना खेलाडीको प्रदर्शनको प्रशंसा गरे । ‘विकेट ब्याटिङका लागि निकै मुस्किल थियो । त्यो अवस्थामा पनि कुशल र विनोदले निकै जिम्मेवारपूर्ण प्रदर्शन गरे,’ उनले भने, ‘हामीले १९० पुर्‍याएपछि भने जित्छौँ भन्ने लागेको थियो । किनभने, हामीसँग राम्रा स्पिनर थिए । मिडियम पेसमा करणले पनि निकै राम्रो गरिरहेका छन् । बलरले पनि त्यहीअनुसार खेले । घरमा पहिलो एकदिवसीय खेल जित्दा खुसी लागेको छ ।’ शृंखलाअन्तर्गत नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।