मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २६ आइतबार १०:११:००
Read Time : > 1 मिनेट
नयाँCity

सहरका पुस्तकालय : न्हूजः खलःको गर्विलो इतिहास

Read Time : > 1 मिनेट
२०७६ माघ २६ आइतबार १०:११:००

काठमाडौं टोखास्थित ग्रान्डी अस्पतालबाट करिब एक किलोमिटर दूरीमा गणेश मन्दिर छ । टोखा चण्डेश्वरी-२ ठलागमा पर्ने मन्दिरनजिक एक ठूलो भवनको भुइँतलामा क्याफे छ । दोस्रो तलामा न्हूजः पुस्तकालयको साइनबोर्ड देखिन्छ । साइनबोर्ड जति सुन्दर देखिन्छ, ठीक विपरीत छ, पुस्तकालयभित्रको माहोल । सानो कोठाका केही दराजमा उपन्यास, बालबालिका र जीवनदर्शनका करिब तीन सय पुस्तक छन् । ती सबै अव्यवस्थित देखिन्छन् ।

पुस्तकालय खुला हो या बन्द भन्नेमै द्विविधा छ । व्यवस्थापन समितिका सदस्य विकास श्रेष्ठका अनुसार कुनै समय यही पुस्तकालयमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरू खोजी-खोजी आइपुग्थे ।

०३८ सालमा नमिता-सुनीता काण्डले राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत आन्दोलनका लागि मलजल ग-यो । पञ्चायती व्यवस्थामा राजनीतिक दलमाथि प्रतिबन्ध थियो । त्यसैले आन्दोलनलाई संगठित बनाउन त्यसको तीन वर्षपछि १ भदौ ०४१ मा टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । तत्कालीन नेकपा मालेका नेता, कार्यकर्ता जमघट हुने थलो बन्यो, त्यो पुस्तकालय । र, त्यहीँ राजनीतिक कार्यक्रमहरू हुन थाले ।

पुस्तकालयका अध्यक्ष थिए, वामपन्थी नेता स्वर्गीय पद्मरत्न तुलाधर । स्थानीय रुद्रमान श्रेष्ठ, ठूलोधर्म श्रेष्ठ र स्वर्गीय रामकृष्ण श्रेष्ठको पनि योगदान थियो, पुस्तकालय स्थापनामा । सन्तलाल श्रेष्ठको घर भाडामा लिएर पुस्तकालय खोलियो । प्रगतिशील विचारधाराका व्यक्तिहरूका घरमा भएका पुस्तक संकलन गरेर त्यसमा राखियो । विभिन्न सांस्कृतिक कार्यक्रमको बहानामा पुस्तकालयमा भूमिगत बैठक हुने गर्थे ।

पञ्चायती व्यवस्थामा राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । सोही कारण भूमिगत आन्दोलन अगाडि बढाउन काठमाडौं टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । र, त्यहीँ सांस्कृतिक कार्यक्रमको बहानामा भूमिगत बैठक हुन्थे ।

हाल पुस्तकालय रहेको भवन भने ०६५ सालमा बनेको हो । ‘इतिहासलाई जीवित राख्न हामीले नयाँ भवनमा पुस्तकालय सा-यौँ,’ पुस्तकालयका सदस्य विकास भन्छन् । नेपाल भाषामा ‘न्हूः’को अर्थ नौलो र ‘जः’ को अर्थ ‘किरण’ हुन्छ ।

०५२ सालमा माओवादीको सशस्त्र विद्रोह सुरु भयो । सरकारले संकटकाल घोषणा गरेपछि माओवादीविरुद्ध सेना परिचालन भयो । सेनाको कोपभाजनमा पर्ने त्रासका कारण पुस्तकालयमा रहेका कार्ल माक्र्स, लेनिन, माओत्सेतुङलगायत दार्शनिक र नेताहरूका पुस्तक नष्ट गर्नुपरेको विकास बताउँछन् । ‘सेनाले पक्राउ गर्ने डरले धेरै किताब जलाइए, कति जमिनमा गाडिए,’ उनी भन्छन्, ‘शान्ति प्रक्रिया सुरु भएपछि टोखाका युवा मिलेर पुस्तकालय पुनःस्थापना गरेका हौँ ।’

तर, सबैभन्दा ठूला सम्पत्ति नै नरहेपछि विगतजस्तो माहोल सिर्जना गर्न नसकिएको उनी बताउँछन् । अहिले यसको संरक्षक छन्, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । अहिले पुस्तकालयलाई नयाँ ढंगबाट अगाडि बढाउन व्यवस्थापन समितिले ई-लाइब्रेरीको अवधारणा ल्याएको छ । पुरानो याद ताजा बनाउन ११ फागुनमा ‘न्हूः जः राष्ट्रिय युवा कविता प्रतियोगिता’ आयोजना हुँदै छ । त्यसको नारा जुराइएको छ- ‘बन्दै छ मेरो देश, मेरो सहभागिता पनि’ । प्रतियोगितामा ४० वर्षमुनिका युवालाई सहभागी गराइने पुस्तकालयका अध्यक्ष दीपेन्द्र श्रेष्ठ बताउँछन् ।

तस्बिर : संजित परियार