• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
नविन अर्याल काठमाडाैं
२०७६ माघ २६ आइतबार ०९:४२:००
नयाँCity

सिनेमा हलमा डिजिटल फड्को

नविन अर्याल काठमाडाैं
२०७६ माघ २६ आइतबार ०९:४२:००

मल्टिप्लेक्स संवाद : नकिम उद्दिन, क्युएफएक्स सञ्चालक

नेपालमा आधुनिक सिनेमा हल थिएनन् । दर्शकले पुराना थोत्रा हलमा फिल्म हेर्नुपर्ने बाध्यता थियो । थोत्रा कुर्सी, छिर्नेबित्तिकै ठुस्स गनाउने दुर्गन्धित हलमा कोच्चिएर फिल्म हेर्नुपर्थ्याे । हलभित्र असभ्य भाषा प्रयोग हुन्थ्यो ।

परिवारसँग फिल्म हेर्न जाने वातावरण थिएन । वर्षौंदेखि सिनेमा प्रदर्शन व्यवसायमा संलग्नहरूले आधुनिक हल चलाउन प्रयत्न गरेका थिएनन् । हामीले सिनेमा प्रदर्शन व्यापारलाई नजिकबाट नियाल्दै आधुनिक हल सञ्चालनबारे अध्ययन ग-यौँ । आधुनिक प्रविधिबारे बुझ्न धेरै मुलुक पुग्यौँ ।

अनि, जयनेपाल हल भाडामा लिएर ‘रेनोभेट’ गरी सफा र व्यवस्थित बनायौँ । सन् २००२ मा हल सञ्चालन गर्दा करिब तीन करोड खर्च भयो । सिंगल स्क्रिन भए पनि मल्टिप्लेक्सको फ्लेवर दियौँ । राम्रो प्रोजेक्टर र राम्रा कुर्सी राख्यौँ ।

सुरुमा फिल्म ‘स्पाइडर म्यान’ देखायौँ । त्यतिवेलासम्म नेपालमा अंग्रेजी सिनेमा चल्दैनथे । हामीले रोयल्टी तिरेर वैधानिक रूपमै अंग्रेजी सिनेमा देखायौँ । हिन्दी फिल्म पनि वैधानिक तरिकाले देखाउन थाल्यौँ । विदेशमा फिल्म रिलिज हुनेबित्तिकै हाम्रा हलमा चल्न थाले ।

हिन्दी फिल्म चल्न थालेपछि प्रदर्शन व्यापारले गति लियो । पछि नेपाली फिल्म नै राम्रा बन्न थाले । बिस्तारै डिजिटल प्रविधि भित्र्यायौँ । अहिले देशभर मल्टिप्लेक्स प्रविधिका १२ वटा प्रोपर्टीमा २७ वटा पर्दा सञ्चालनमा छन् ।

नेपालमा पहिलो मल्टिप्लेक्स सिटी सेन्टरको ‘बिग मुभिज’ हो । तर, त्यो फैलिन सकेन । हामीले सिभिल मलबाट सुरु गरेको मल्टिप्लेक्स धमाधम देशभर फैलिँदै छ । सिभिल मलमा मल्टिप्लेक्स खोलेपछि क्युएफएक्स ब्रान्ड जन्मियो । क्युएफएक्सले नेपालीको फिल्म हेर्ने संस्कृति नै बदलिदियो ।

हामी यस्तो वेलामा सिनेमा प्रदर्शन व्यापारमा छिरेका थियौँ, जतिवेला माओवादी द्वन्द्वका कारण सिनेमा हल धमाधम बन्द भइरहेका थिए । काठमाडौं उपत्यकाभित्र १२ देखि तीन बजेको सो मात्र चल्थ्यो । काठमाडौंबाहिर १२ बजेको एउटा सो मात्र चल्थ्यो । एक समयमा देशभर चार सय ५० वटा हल थिए । ती बन्द हुँदै जाँदा संख्या एक सयभन्दा तल झरे ।

वर्षदिनभित्र हामीले प्रदर्शन व्यवसायका समस्या ठम्यायौँ । स्थापित हल सञ्चालकहरू पुरानै ढर्रामा चलिरहेका थिए । ठूलो समस्या प्रविधिको थियो । रिलमा फिल्म देखाउनुपथ्र्यो । एनालग प्रविधिको एउटै रिलको एक लाख रुपैयाँ पर्थ्याे । वितरकले धेरै रिल ल्याउन सक्दैनथे । ४/५ वटा चक्का हल–हलमा घुमाउनुपर्थ्याे । अधिकांश नेपाली फिल्म १६ एमएममा खिचेर ३५ एमएममा ब्लो गरेर देखाइन्थ्यो ।

त्यसो गर्दा पिक्चर फाट्थ्यो । राम्रोसँग प्रोजेक्टरको लाइट नपुग्दा आकृति राम्रोसँग देखिँदैनथ्यो । अध्ययनका क्रममा डिजिटलमा प्रवेश गर्दा नेपाली फिल्म उद्योग फस्टाउने निष्कर्ष निस्कियो । धेरै महँगो पर्ने भएकाले डिजिटल प्रविधि तेस्रो मुलुकबाट ल्याउन नसकिने ठम्याइमा पुग्यौँ ।

भारतमा युएफओ मुभिजले सबैभन्दा राम्रो प्रविधि आत्मसात् गरेको थियो । र, युएफओ मुभिजलाई सहमत गराएर सन् २००६/००७ तिर डिजिटल प्रविधि भित्र्यायौँ । त्यसका लागि नीति–नियम पनि बनाउन लगायौँ ।

फिल्म पनि डिजिटल प्रविधिकै बन्नु आवश्यक थियो । त्यसैले अमेरिकाबाट टुके प्रविधिको क्यामेरा झिकायौँ । र, त्यसैमा फिल्म खिच्न थाल्यौँ । त्यतिवेलासम्म अरू निर्माताले डिजिटल प्रविधिमा विश्वास गरेकै थिएनन् । हामीले ‘कागबेनी’ र ‘सानो संसार’ फिल्म डिजिटल प्रविधिमा बनायौँ ।

फिल्म ‘कागबेनी’ थोरै हलमा मात्र चलेको थियो । किनकि, डिजिटल प्रविधिका हल नै कम थिए । ‘कागबेनी’ र ‘सानो संसार’ले नेपाली सिनेमालाई डिजिटल युगमा प्रवेश गराए । सन् २०१० सम्म नेपालका सबैजसो हल डिजिटल प्रविधिमा रूपान्तरण भए । फिल्म रिलिज हुनेबित्तिकै एकैपटक एक सयभन्दा बढी हलमा देखाउन सकिने भयो ।

त्यसपछि बल्ल डिजिटल प्रविधिमा ‘सब्जेक्टिभ’ फिल्महरू बन्न थाले । र, तिनमा नेपाली मौलिक कथावस्तु प्रयोग हुन थाल्यो । हाम्रा हलमा देखाउन अनिवार्य टुके प्रविधिमा फिल्म बनाउनुपर्ने सर्त राख्यौँ । र, सबैले टुके प्रविधिमै सिनेमा खिच्न थाले । त्यसमा विकास हुँदै अहिले फोरके प्रविधिका क्यामेराबाट फिल्म खिच्न थालिएको छ ।

सिभिल मल टर्निङ प्वाइन्ट
सन् २००२ मा जयनेपाल र लगत्तै कुमारी हल सञ्चालनमा ल्यायौँ । सन् २०१० मा सिभिल मलमा अर्को हल खोल्यौँ । हाम्रो मल्टिप्लेक्स यात्रा त्यहीँबाट सुरु भयो । त्यतिवेला सिटी सेन्टरमा मल्टिप्लेक्स सञ्चालनमा आइसकेको थियो ।

जयनेपाल र कुमारी हल पहिल्यैदेखि चर्चित थिए । सिभिल मलमा खोल्दा ब्रान्डको आवश्यकता भयो । र, क्युएफएक्स ब्रान्ड जन्मायौँ । सिभिल मल हाम्रो यात्राको टर्निङ प्वाइन्ट बन्यो । हल पनि राम्रोसँग चले । र, हाम्रो ब्रान्ड पनि स्थापित भयो ।

त्यसपछि ललितपुरको लबिम मलमा हल सञ्चालन ग-यौँ । गत वर्षदेखि सञ्चालनमा आएको ठमेलको छाया सेन्टरमा तीनवटा पर्दा छन् ।  नारायणगढका दुईवटा हलमा सात सय सिट छन् । त्यसपछि पोखराको ट्रेडमलमा दुईवटा पर्दामा करिब पाँच सय सिटका हल खोल्यौँ ।

नेपालगन्जको बागेश्वरी हलमा ६ सय सिटका दुईवटा पर्दामा फिल्म देखाउन थाल्यौँ । र, झापाको बिर्तामोडमा दुईवटा पर्दा सञ्चालनमा ल्यायौँ । भक्तपुर, विराटनगर र बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा एकैचोटि हल खोल्यौँ । तीनवटा हलमा सात सयजति सिट छन् । सन् २०२० भित्रै वीरगन्जको हल सञ्चालनमा आउँदै छ ।

यसबीचमा गोंगबुको बिजी मलमा बिएसआर, चाबहिलको केएल टावरमा एफक्युब सिनेमा सञ्चालनमा आए । गोंगबुमै आइएनआई कम्पनीले मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । बानेश्वरमा आइप्लेक्स मलमा मल्टिप्लेक्स सञ्चालनमा आइसकेको छ । काठमाडौंकै राइजिङ मलमा पनि मल्टिप्लेक्स सञ्चालनमा छ । हामी जानुअघि नै बुटवलमा राम्रो हल सञ्चालनमा आइसकेको थियो । हाम्रो यात्रा जारी छ । देशभर बनिरहेका मलहरूमा पुग्ने योजनामा छौँ ।