मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ माघ २६ आइतबार ०६:४५:००
Read Time : < 1 मिनेट
समाचार

पवित्र चिल्ड्रेन होमका सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ माघ २६ आइतबार ०६:४५:००

ललितपुर महानगरपालिका-५ भैँसेपाटीस्थित श्रीपुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खातीलाई प्रहरीले पक्राउ गरेको छ । बालगृहमा आश्रित बालबालिकालाई कुटपिट र यातना दिएको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको हो । 

प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ । सञ्चालक कमला खातीले भने बालबालिकालाई यातना नदिएको दाबी गरिन् ।

हुम्ला, सुर्खेत, रुकुमलगायत जिल्लाका बालबालिका ११ महिनादेखि यस बालगृहमा आश्रित थिए । महानगरीय प्रहरी प्रभाग भैँसेपाटीले राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रसँग समन्वय गरी बालगृहबाट सात बालबालिकाको उद्धार गरेको छ । सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक, हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटालाई उद्धार गरिएको हो ।

बालगृह सञ्चालकले दिएको शारीरिक यातना सहन नसकी बालबालिका भागेका थिए । उद्धार गरिएकी लक्ष्मी शर्माले सञ्चालकहरूले शारीरिक यातना दिने गरेको बताइन् । उनले भनिन्,‘कुचो र बाँसले पिट्थे । सधैँ यातना दिन थालेपछि हामी भागेका हौँ ।’

आश्रमबाट भागेका बालबालिका शंकास्पद स्थितिमा देखेपछि प्रहरीले सोधपुछ गरेको थियो । सोही आधारमा आश्रमका सञ्चालकलाई प्रहरीले पक्रेको हो । राष्ट्रिय बालअधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालका अनुसार बालगृहको सम्बन्धमा कारबाही प्रक्रिया अगाडि बढेको छ ।