मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किसानको घरमै गएर कृषि उपज संकलन गर्दै रेसुंगा नगरपालिका ।
टोपलाल अर्याल गुल्मी
२०७६ माघ २५ शनिबार १८:२८:००
Read Time : > 1 मिनेट
अर्थ

कृषकलाई प्रोत्साहित गर्न कृषि उपजको बजार ग्यारेन्टी

Read Time : > 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७६ माघ २५ शनिबार १८:२८:००

रेसुंगा नगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गरेको छ । कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेण्टी गर्ने आफूहरू नेपालमै पहिलो स्थानीय तह रहेको मेयर डिल्लीराम भुसालले दावी गरे ।

‘किसानले जति उत्पादन गरे पनि नगरपालिकाले उचित मूल्यमा खरिद गर्छ,’ मेयर भुसालले भने, ‘नगरपालिकाको यस्तो कार्यले कृषिमा कृषकहरू थप आकर्षित भएका छन् ।’ नगरपालिकाले तत्काल सड्नेबाहेक मुख्य कृषिउपजमा एक क्विन्टलभन्दा बढी उत्पादन गरे कृषकलाई प्रतिकिलो दुई रुपैयाँ अनुदान दिने व्यवस्थासमेत गरेको छ ।

रेसुंगा कृषि तथा पशु उपज संकलन केन्द्रका व्यवस्थापक दामोदर पोख्रेलले नगरपालिकाका नौ जना कर्मचारीले बिहान र साँझ गरेर संकलन केन्द्रको व्यवस्थापन गरिरहेको बताए । उनले संकलन केन्द्रमा कृषि उपज बजार मूल्यभन्दा ३० प्रतिशतसम्म सस्तो रहेको दावी गरे ।

उत्पादनमा अनुदान, उचित मूल्य र बजारको पूर्ण ग्यारेण्टी भएपछि उत्पादनमा कुनै समस्या नरहेको रेसुंगा नगरपालिका–१० का व्यवसायिक तरकारी कृषक विनोद कुँवरले बताए । नगरपालिकाले तालिमसहित बिउ, मल र कृषि सामग्री पनि किसानलाई वितरण गर्ने गरेको उनले बताए । 

नगर नै क्रेता र बिक्रेता
कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भनेर नगरपालिकाले कृषि उपज खरिदसँगै बिक्रीसमेत गर्ने गरेको छ । नगरपालिकाले नयाँगाउँ र भाडगाउँबाट प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला खरिद गरेर ८० रुपैयाँमा बेच्ने गरेको छ । रेसुंगामा अहिले सुन्तलाको बजार मूल्य एक सय २० रुपैयाँसम्म छ ।

किसानसँग कृषिउपज खरिद गर्ने र संकलन केन्द्रमार्फत उपभोक्तालाई बिक्री गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले कृषि उपज संकलनका लागि सबै वडामा गाडी पुर्‍याउँदै आएको बताए । उनले मागको आधार अन्य स्थानीय तहमा पनि कृषि उपज खरिद गर्न पुगिएको बताए । रेसुंगामा खपत कम भए बुटवल र अर्घाखाँचीको सन्धिखर्कमा पुर्‍याएर समेत कृषि उपज बिक्री गर्ने गरिएको कृषि प्राविधिक हरिशरण पन्थीले बताए ।

साना कृषकलाई समेत फाइदा
नगरपालिकाले बजारको ग्यारेण्टी गरेसँगै साना कृषकलाई समेत फाइदा भएको छ । घरमै गाडी आउने भएकाले धेरथोर जति भए पनि बिक्री गर्न पाइएको छत्रदेव गाउँपालिका–६ का धर्मराज पाण्डेयले बताए । ‘अब उत्पादन नबिक्ने समस्या रहेन,’ उनले भने, ‘यो किसानका लागि अहिलेसम्मकै नमूना काम भएको छ । निरन्तरता भयो भने साँच्चै नै राम्रो हुने छ ।’

शीत भण्डारसहित संकलन केन्द्र
लामो समयदेखि बन्द तम्घासको पुरानो हाट बजार क्षेत्रमा करिब सात वर्षपछि तीन तहकै सरकारको समन्वयमा नयाँ संरचना निर्माण गरिएको छ । त्यसलाई कृषि उपज संकलन केन्द्रका रूपमा अगाडि बढाइएको नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले बताए । संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शीत भण्डारसमेत निर्माण गरिएको छ । नगर तथा बाहिरबाट ल्याइएका कृषि उपज तत्काल बिक्री नभए शीत भण्डारमा भण्डारण गर्ने गरिएको गौतमले बताए ।
 
दीर्घकालीन हित सोचेका छौँ  : मेयर
रेसुंगाका मेयर डिल्लीराज भुसालले किसानको दीर्घकालिन हितका लागि संकलन केन्द्र सञ्चालनमा ल्याइएको बताए । आर्थिक समृद्धिको आधार कृषि भएकाले नगर किसानको पक्षमा उभिएको भन्दै उनले कृषि कर्म गर्नेहरूमा नयाँ ऊर्जा आएको बताए । उनले कृषि उपज संकलन केन्द्र तीन चरणमा अगाडि बढाउने भन्दै अन्तिम चरणमा केन्द्र सबै प्रक्रिया पूरा गरेर कृषि सहकारी वा समूहलाई व्यवस्थापकीय पक्ष हस्तान्तरण गरिने बताए ।