१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार १०:३२:००
Read Time : > 2 मिनेट
साहित्य

निद्रा चोरेर  उपन्यास लेखेँ : निरु त्रिपाठी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार १०:३२:००

पुस्तक वार्ता

अस्ट्रेलिया बस्दै आएकी लेखक निरु त्रिपाठी भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतका रूपमा कार्यरत छिन् । भिक्टोरिया विश्वाविद्यालय मेल्बर्नबाट पत्रकारितामा स्नातकोत्तर गरेकी उनी नेपाली टाइम्स मेलबर्नकी सम्पादक पनि हुन् । धादिङकी निरु लामो समयदेखि समसामयिक विषयमा नियमित लेख्दै आइरहेकी छिन् ।

यसपटकको नेपाल बसाइमा भने उनले पहिलो उपन्यास ‘पेरिस्कानो’मार्फत आख्यानकारको परिचय थपेकी छिन् । भर्खरै बजारमा आएको उनको उपन्यासलाई कतिपय पाठकले लेखकै प्रेमकथाका रूपमा अथ्र्याइरहेका छन् । यहि जिज्ञासामा भने उनी मुस्कुराउँदै बोलिन्, ‘पेरिस्कानो’ मेरो अनुभव भनेर धेरैेले सोध्ने गर्छन् । तर, घटना र पात्रहरू सबै काल्पनिक हुन् ।’

तथ्य र अख्यानमा धेरै फरक पनि छ र धेरै मिल्दोजुल्दो पनि । तर, उनले कल्पनामाथि अस्ट्रेलियामा नेपालीले व्यहोर्दै आएको दुःखको कथा टिप्न नबिर्सेको बताउँछिन् । तथ्य आख्यान बन्न पनि सक्छ र आख्यान सत्य हुन पनि सक्छ भन्ने उनको जिकिर छ । पेरिस्कानोमा आफ्नो विचार, भावना समेट्न खोजेको स्विकार्छिन् उनी । आफ्नो जीवनको एकाध क्षणहरू समेटिए पनि पेरिस्कानो तथ्यको नजिक उभिएको काल्पनिक पात्र रहेको बताउँछिन् । ‘उपन्यासमा उठाएका घटनाहरू पात्रहरू कहिँकतै छन् भन्ने मेरो विश्वास छ,’ उनी भन्छिन् । 

यसपटकको नेपाल यात्रा उपन्यास ‘पेरिस्कानो’सँगै गरेकी अस्टे«लिया क्रियाशील पत्रकार निरु त्रिपाठी भन्छिन्, ‘एउटा नारीको सकारात्मक प्रेमको मर्मस्पर्शी कथा हो पेरिस्कानो ।’

म पात्र र उसको प्रेमी पेरिसबीचको आत्मीय पे्रम समेटिएको छ, ‘पेरिस्कानो’मा । साथै अस्ट्रेलियामा बस्दै आएका मानिस रंगभेदको सिकार कसरी हुन पुगेका छन् भन्ने विषयलाई पनि नछोडेको बताउँछिन् उनी । पेरिस्कानो अमेरिकानो क्यापाचिनोसँग मिलेजस्तो लागे पनि एउटा नारीको उतारचढाव पनि रहेको उनको भनाइ छ । कलेज बन्द हुँदाको बिचल्ली । भिसा थप्न फेक विवाह गर्नुपरेको । पिआर पाउन गरेको संघर्ष । आफूलाई टिकाइराख्न गरेको अनेक झमेला र स्वदेश फर्कन १५ वर्ष लागेका दर्दनाक कथाहरू पेरिस्कानोमा समेटिएको उनी बताउँछिन् । ‘कथा सत्य नभए पनि त्यहाँ बस्दै आएको नेपालीको मनोविज्ञान पनि हो । यसमा नारीको अन्तरंग प्रेम पनि छ,’ निरु भन्छिन् । 

एउटी युवतीले वर्तमान समाजमा झेल्नुपरेका विभिन्न आरोह–अवरोह र पितृसत्तात्मक समाजले नारीलाई निर्णय गर्ने अधिकार सामान्यतया नदिएकोप्रति पेरिस्कानो वकालत गर्नेमा उनी विश्वस्त छिन् । संघर्षशील युवतीको जीवनको एउटा कालखण्ड, प्रोटागोनिस्टले प्रेम पाउँछ, प्रेम गुमाउँछ अनि फेरि एउटा बिन्दुमा गएर अद्भूत प्रेमको अनुभूति गरेको पात्र रहेका छन्, यसमा । 

एउटी युवतीले वर्तमान समाजमा झेल्नुपरेका विभिन्न आरोह–अवरोह र पितृसत्तात्मक समाजले नारीलाई निर्णय गर्ने अधिकार सामान्यतया नदिएकोप्रति ‘पेरिस्कानो’ले वकालत गर्छ

२० वर्षीया युवतीले विदेशमा संघर्ष गर्छिन् । हरेक रात दुःखले छट्पटिन्छिन् पनि । डिप्रेसनमा जान्छिन्, तर पनि जीवनसँग विरक्त हुँदिनन् । निरु भन्छिन्, ‘एउटा नारीको सकारात्मक प्रेमको मर्मस्पर्शी कथा पनि हो पेरिस्कानो ।’

अहिलेको अवस्थामा नेपालमा भन्दा साहित्यिक जमघट प्रवासमा हुने गरेको छ । तैपनि, महिला लेखकलाई बाहिर बसेर लेख्न गाह्रै छ । राम्रो किताब लेख्न जहाँ पनि गाह्रो छ भन्छिन् निरु । तर, प्रवासमा नेपालको तुलनामा अलि बढी जटिल देख्छिन् । स्वयं आत्मनिर्भर रहेर बचेको समयमा लेख्नुको सकस झन् हुने बताउँछिन् उनी । ‘प्रायः म काम, समाज, पत्रकारितादेखि अन्य घुमघामको कामले सातै दिन व्यस्त भइरहेको हुन्छु । मैले लेख्ने भनेको आफ्नो निद्रा चोरेर हो,’ निरु भन्छिन् । 

लेख्ने मन भएपछि जहाँ पनि बसेर लेख्न सकिन्छ भन्ने उदाहरण पनि हुन् उनी । कहिले गुडिरहेको ट्रेनमा बसेर लेखिन्, कहिले खाजा खाने समय बचाएर लेखिन् । कहिले मोबाइलको नोट प्याडमा लेखिन् । दुःखले लेखेको ‘पेरिस्कानो’ सत्यभन्दा टाढा नरहेको उनी बताउँछिन् । ‘आख्यान पढिरहेको छु जस्तो लाग्दैन, बरु सत्यतथ्यमा आधारित किताब पढिरहेको छु कि जस्तो लाग्छ,’ पाठकको प्रतिक्रिया सुनाउँछिन् उपन्यासकार निरु ।