मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ माघ २५ शनिबार ०९:३७:००
Read Time : > 3 मिनेट
फिचर

पाइलट बन्न विदेशको उडान

Read Time : > 3 मिनेट
२०७६ माघ २५ शनिबार ०९:३७:००

सानो छँदा वा स्कुल पढ्दै गर्दा के बन्ने सपना देख्नुभएको थियो ? यसो भनौँ तपाईं आफन्त, साथीभाइ वा शिक्षकले के बन्नुपर्छ भन्थे ? प्रायः सबैको उस्तै हुन्छ, डाक्टर, इन्जिनियर, पाइलट आदि । 

यदि, तपाईं चार दशकअघि अब्बल विद्यार्थी हुनुहुन्थ्यो भने डाक्टर, इन्जिनियर मात्रै होइन, पाइलट पनि बन्न सक्नुहुन्थ्यो । अहिले भने डाक्टर, इन्जिनियर त पढ्न सक्नुहुन्छ तर, जतिसुकै अब्बल र प्रतिभावान भए पनि सामान्य परिवारको हुनुहुन्छ भने पाइलट पढ्न मुस्किल छ । किनकि, त्यसका लागि ५० लाखभन्दा बढी पैसा चाहिन्छ । 

प्रतिभावान विद्यार्थी हुनुहुन्छ भने डाक्टर र इन्जिनियर बन्न स्वदेश तथा विदेशमा छात्रवृत्ति पाउन सक्नुहुन्छ । तर, पाइलटका लागि एक त नेपालमा स्कुलहरू छैनन्, अर्को चार दशकअघि नै सरकारले छात्रवृत्तिमा पढ्न पठाउने व्यवस्था बन्द गरिसकेको छ । अन्तिमपटक सन् १९८० मा सरकारी छात्रवृत्तिमा २४ जना विद्यार्थी क्यानडा उडेका थिए । ‘उहिले खुल्ला प्रतिस्पर्धा गराएर छात्रवृत्तिमा पढाउने व्यवस्था थियो । सन् १९८० पछि सरकारले बन्द गर्‍यो,’ नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम भन्छन् । 

त्यतिवेला पाइलट प्रशिक्षण सबै वर्गका विद्यार्थीको पहुँचमा थियो । शाही नेपाल वायुसेवा निगमले नै  सुरुवाती वर्षमा छात्रवृत्तिमा पाइलट पढ्न विदेश पठाउँथ्यो । त्यसका लागि खुला प्रतिस्पर्धा हुन्थ्यो । पढेर आएका अधिकांशले निगममै काम पनि पाउँथे । अन्तिमपटक सन् १९८० मा पाइलट तालिमका लागि छावृत्तिमा क्यानडा गएको २४ जनाको टोलीले पनि अवकाश पाइसकेको छ । 

छात्रवृत्तिमा पढ्न पठाउने क्रम रोकिएसँगै आर्थिक रूपमा सम्पन्नले मात्रै पाइलट बन्ने गरेका छन् । अब पहिलेजस्तै गरिब परिवारका पनि अब्बल विद्यार्थीले पाइलट बन्ने सक्ने अवस्था छैन । अहिले रहेका सबैजसो पाइलट आर्थिक रूपमा सम्पन्न परिवारका मात्रै छन् । ‘सामान्यतः पाइलट पढ्नका लागि ४० देखि ५० लाख खर्च लाग्छ । आर्थिक रूपमा सम्पन्न परिवारबाट नै पाइलट हुने गरेका छन्,’ पूर्वमहानिर्देशक गौतम भन्छन् । 

छात्रवृत्तिमा विदेश पठाउने सरकारी योजना चार दशकअघि बन्द भएसँगै सामान्य आर्थिक अवस्था भएका विद्यार्थीका लागि पाइलट बन्ने बाटो त बन्द भएको छ नै नेपालमा फ्लाइङ स्कुल नहुँदा आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थीले पनि विदेश उड्नुपर्ने बाध्यता छ । 

एक त सरकारले विदेश पढ्न पठाउन बन्द गर्नु, अर्को नेपालमा पाइलटसम्बन्धी पढाइ नहुनले पनि सामान्य आर्थिक अवस्था भएका विद्यार्थीले पढ्न नपाउने गरेको गौतमको भनाइ छ । उनीसँगै पाइलट जनक अधिकारी पनि सहमति छन् । ‘डाक्टर र इन्जिनियर पढ्न त नेपालमा छानीछानी स्कुलहरू छन्, तर पाइलटका लागि छैनन् । त्यसैले, अधिकांशलाई पाइलट कसरी बन्ने भन्ने जानकारीसमेत हुने गरेको छैन,’ सौर्य एयरलाइन्समा कार्यरत अधिकारी भन्छन् । 

जसले गर्दा नेपाली विद्यार्थीलाई पाइलट तालिम लिन विदेश जानुबाहेक अन्य विकल्प छैन । अधिकारी पनि पाइलट बन्न दक्षिण अफ्रिका पुगेका थिए । प्रायः नेपाली विद्यार्थी अमेरिका, फिलिपिन्स, पाकिस्तान, क्यानडा र दक्षिण अफ्रिका पुग्छन् । त्यसमा पनि धेरैको रोजाइ दक्षिण अफ्रिका नै हुन्छ । किनकि, त्यहाँ अन्य देशभन्दा सस्तो (बढीमा ३५ लाख)मा पढाइ हुन्छ । ५० लाखमा पढाइ पूरा गरेको बताउँदै पाइलट अधिकारी भन्छन्, ‘दक्षिण अफ्रिकामा युरोपियन स्टान्डर्ड लागू छ र अध्ययन पनि उत्तम छ ।’

नागरिक उड्डयन प्राधिकरण (क्यान)को पछिल्लो तथ्यांकअनुसार, अहिले चार सय ८७ जनाले कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) तालिम लिएका छन् । त्यस्तै, तीन सय ४२ जनाले एयरलाइसन्स पाइलट लाइसेन्स (एटिपिएल), ३१ जनाले एटिपिएल हेलिकप्टर र ७५ जनाले सिपिएल हेलिकप्टरको लाइसेन्स प्राप्त गरेका छन् । उनीहरू सबैले विदेशमै पढेका हुन् । नेपालमै पढाइ गर्न सकियो भने सहज र सस्तो पनि हुने पाइलट अधिकारी बताउँछन् । 

नेपालको पहिलो फ्लाइङ स्कुल 

नेपालमै पाइलट तालिम दिन १३ वर्षअघि फ्लाइङ स्कुल खुलेको थियो । क्यानको स्वीकृतिमा शिवानी एयर प्रालिले चितवनमा स्कुल सञ्चालन गरेको थियो । फ्लाइङ स्कुलमा विद्यार्थी भर्ना हुन पनि थालेका थिए । पढाइ पनि सुरु भएको थियो । विद्यार्थीबाट २२ लाखका दरले शुल्क लिइएको थियो । तर, १४ महिनाको कोर्सका लागि भर्ना भएका ३१ विद्यार्थी अलपत्र परे । सञ्चालक शिवेन्द्रबहादुर बस्नेत भागेपछि अलपत्र परेको त्यतिवेलाका एक विद्यार्थी बताउँछन् । 

उनी त्यतिवेला सञ्चालक बस्नेतको कमजोरीभन्दा पनि सरकारी पक्षले सहयोग नगर्दा फ्लाइङ स्कुल सञ्चालन हुन नसकेको बताउँछन् । ‘त्यतिवेला तालिमको लागि ल्याइएको जहाजमा प्रयोग हुने इन्धन नेपाल आयल निगमले उपलब्ध गराएन । आफैंले भारतबाट ल्याउनुपर्ने भएपछि कठिनाइ भयो,’ ति विद्यार्थी बताउँछन् । त्यस्तै, जहाजसँगै प्रशिक्षक पनि अमेरिकाबाट ल्याउनुपर्ने थियो । एक त अमेरिकाबाट ल्याउनै समय लाग्ने, अर्को नेपालका आएका प्रशिक्षक पनि ६ महिनाभन्दा बढी नबस्ने । उनीहरू यता भएको वेला पनि कहिले इन्धन नहुने, कहिले जहाजमा गडबडी हुने गर्दा तालिम अवधि लम्बियो, खर्च बढ्यो । 

त्यस्तै, आर्थिक व्यवस्थापन पनि राम्रो थिएन । ‘पैसाको कमी हुँदै गएपछि फेरि ब्याच पनि थपियो । उठेको पैसा जति सबै विद्यार्थीको खर्चमै सकिन्थ्यो । फ्लाइट तालिममा उस्तै समस्या हुन्थ्यो । यसले झनै जटिलता ल्यायो,’ ति विद्यार्थी भन्छन् । जसले गर्दा स्कुल बन्द नै हुनपुग्यो । 

नागरिक उड्डयन प्राधिकरण (क्यान)को पछिल्लो तथ्यांक अनुसार अहिले चार सय ८७ जनाले कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) तालिम लिएका छन् । त्यस्तै, तीन सय ४२ जनाले एयरलाइसन्स पाइलट लाइसेन्स (एटिपिएल), ३१ जनाले एटिपिएल हेलिकोप्टर र ७५ जनाले सिपिएल हेलिकोप्टरको लाइसेन्स प्राप्त गरेका छन् । उनीहरू सबैले विदेशमै पढेका हुन् ।

कहिले खुल्लान् फ्लाइङ स्कुल ?

शिवानी एयरले सञ्चालन गरेको फ्लाइङ स्कुल राम्ररी सञ्चालन नहुँदै बन्द भयो । अब नयाँ स्कुल खुल्लान् ? पाइलट अधिकारी अब नेपालमा फ्लाइङ स्कुल खोल्नुपर्ने समय भएको बताउँछन् । ‘सन् २०१५ पछि यो क्षेत्रले फराकिलो रूप पाएको छ । पाइलटको कमी महसुस हुन थालेको छ । जहाज थपिएका छन् । अब फ्लाइङ स्कुलको आवश्यकता महसुस हुन थालेको छ,’ अधिकारी भन्छन् । अब नेपालीसँगै विदेशबाट पनि विद्यार्थी ल्याउन सकिने उनको भनाइ छ । 

वरिष्ठ क्याप्टेन दधिराम निरौला फ्लाइङ स्कुल खोल्नुपर्ने बताउँछन् । एक त पाइलट तालिमका लागि बाहिरिने करोडौँ रकम जोगिने र अर्को सबैले पाइलट बन्नसक्ने वातावरण तयार हुने उनको भनाइ छ । ‘विपन्न वर्गका विद्यार्थीले एकमुष्ट रकम तिर्न नसक्दा पनि विस्तारै जम्मा गर्दै खर्च जोहो गर्न सक्छन्,’ निरौला भन्छन्, ‘यसको लागि मन्त्रालय र क्यानले पनि हौसला र सहयोग गर्नुपर्छ ।’

वरिष्ठ क्याप्टेन वेद उप्रेती पाइलट तालिमपछि पाउने जागिरको व्यवस्था पनि गर्न सके फ्लाइङ स्कुल खुल्न सक्ने बताउँछन् । त्यसमा पनि क्यान र भारतीय नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भारतमा पढाइने पाइलट कोर्स नेपालमै पढाउने गरी स्वीकृति लिएर फ्लाइङ स्कुल खोल्दा उपयुक्त हुुने उनको भनाइ छ । ‘यहाँ पाइलट तालिम दिएर भारतमा पनि उडाउन सक्ने भयो भने धेरै राम्रो सम्भावना छ,’ उप्रेती भन्छन् ।