१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार १०:२७:००
Read Time : > 2 मिनेट
सेयर बजार

नेप्से ८.६७ अंकले घट्दा १ अर्ब ४ करोडको कारोबार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार १०:२७:००

तरलता अभावले सेयर बजार घट्न थालेको छ । तरलता अभावले नै धितोपत्र बजारको सूचक नेप्से बिहीबार ८ दशमलव ६७ अंकले घट्यो । तरलता अभावको असर नेप्सेमा पनि परेको लगानकर्ता बताउँछन् । बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदा १ हजार १ सय बिन्दुबाट उक्लिएर १ हजार ३ सय ५९ बिन्दुसम्म पुगेको बजार तरलता अभाव हुँदा घट्न थालेको छ ।

सेयर बजार घट्न लागेसँगै लगानीकर्ताले नाफा भएको सेयर बिक्री गर्न थालेका छन् । यस दिन लगानीकर्ताले कम मूल्य भएका कम्पनी रोजे । कम मूल्य भएका कम्पनीको सेयर खरिद गर्दा धेरै घाटा नहुने भएकाले बजार घटेका वेलामा यस्ता कम्पनी रोज्ने गरेको लगानीकर्ताले बताए । यस दिन ग्रिन डेभलपमेन्ट, समृद्ध फाइनान्स र सपोर्ट माइक्रोफाइनानस लगानीकर्ताको रोजाइमा परेको छ । यस दिन बजार १ हजार ३ सय ४१ बिन्दुबाट सुरु भई १ हजार ३ सय ४६ बिन्दुसम्म पुगेर अन्त्यमा १ हजार ३ सय ३३ बिन्दुमा बन्द भएको छ । 

यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा उत्पादनमूलक र जीवन बिमा समूहको परिसूचकबाहेक सबै समूह घटेका छन् । निर्जीवन बिमा र होटेल समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने बाँकीको सोभन्दा कमले घटेको छ । 

बजार पुँजीकरण घटेर लगानीकर्ताको सम्पत्ति १७ खर्ब १ अर्बभन्दा बढी रहेकोे छ । मंगलबारको तुलनामा बजार पुँजीकरण करिब शून्य दशमलव ६५ प्रतिशत घटेको छ । नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक १ दशमलव ८७ अंक घटेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक शून्य दशमलव ६५ अंक घटेकोे छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट शून्य दशमलव ६८ अंक घटेको छ । 

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बिहीबार घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्न पुगेको छ । यस दिन कम सेयर मूल्य भएका कम्पनीहरू बढेका छन् । लगानीकर्ताले कम मूल्य भएका सेयर उठाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेर १ सय ३२ पुगेको छ । दोस्रोमा समृद्धि फाइनानस कम्पनीको १० प्रतिशत बढेर प्रतिकित्ता १ सय १० पुगेको छ । सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९६ प्रतिशत बढेर १ हजार ९२ रुपैयाँ पुगेको छ । यस दिन ३३ कम्पनीको सेयर मूल्य बढेको छ । घट्ने १ सय १७ कम्पनीको अग्रस्थानमा नेपाल फाइनान्स रहेको छ । कम्पनीको सेयर मूल्य ९ दशमलव ५५ प्रतिशत घटेर १ सय ४२ रुपैयाँ कायम भएको छ । 

बिहीबार १ सय ७५ कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता सेयरको १ अर्ब ४ करोड ९३ लाखबराबरको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकम थोरै रुपैयाँले घटेको छ । यस दिन बिमा र बैंकको कारोबार धेरै भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ५८ लाखबराबरको सेयर कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्न बोर्डबाट अनुमति पाएसँगै कारोबार रकम बढ्न पुगेको हो । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड८५ लाखबराबरको कारोबार भएको छ । 

प्राविधिक विश्लेषण : पिभट र मैनबत्तीअनुसार बजार अन्योल

बिहीबारको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले आइतबार बजार घट्ने संकेत गरेको छ । बिहीबारको पिभट बिन्दु १ हजार ३ सय ३७ छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय ३३ रहेको छ । बिहीबारको पिभट बिन्दुभन्दा बन्द भएको बिन्दु तल रहेकाले घट्ने संकेत देखिएको हो । बिहीबार परिसूचक घटेसँगै सेयर मूल्य पनि घटेको छ । आइतबार सेयर खरिद चाप बढ्यो भने बजार बढ्न पनि सक्छ । लगानीकर्ताले पिभटका आधारमा मात्र लगानी नगरी आफूले पनि आधारभूत विश्लेषण गर्नुपर्छ । 

आइतबार नेप्से ओरालो लागे १ हजार ३ सय २७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ४३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । बिहीबारको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट थोरै पुच्छर र टुप्पी भएको कालो मैनबत्ती बनेको छ । यस मैनबत्तीले आइतबार बजार घट्ने संकेत गरेको छ ।