मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २३ बिहीबार १८:४९:००
Read Time : > 2 मिनेट
साहित्य

रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल 

Read Time : > 2 मिनेट
२०७६ माघ २३ बिहीबार १८:४९:००

वि.सं. २०११ सालमा धनकुटामा जन्मिएका अशेष मल्ल वरिष्ठ नाटककार हुन् । बाल्यकाल धनकुटामै बितेपनि उनी नाटक प्रदर्शनको लागि काठमाडौं आएका थिए । सर्वनाम नाट्य समूहसँग आवद्द मल्ल नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडक नाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ ।

नाट्य र रंगमञ्चीय कलाको पृष्ठभूमि लिच्छवि कालमै तयार भएको थियो । मल्लकालमा कला, कौशल र सांस्कृतिक गतिविधिको विकाससँगै नाट्यकलाले एउटा ठोस रूप लियो । मल्लकालमा नाटकलाई गीत, नृत्य र अभिनयको समिश्रण मानिन्थ्यो । त्यसताका गाईजात्रा, इन्द्रजात्रा तथा विभिन्न चाडपर्वको अवसरमा प्रस्तुत हुने नाट्यकला विशेष उल्लेखनीय छन् । बालकृष्ण समले सन् १९९५ मा पहिलोपटक नेपाली भाषामा ‘मुकुन्द–इन्दिरा’ नाटक मञ्चन गरेका थिए । जो नेपालीहरूले टिकट काटेर सार्वजनिक प्रदर्शनमा हेरेको पहिलो मौलिक नेपाली नाटक थियो । ०३५ सालमा मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ काठमाडौंमा महिनौं चलेको थियो । त्यतिबेलाको एकेडेमीमा राजनीतिक नाटक हुन्थेन तर, बाह्य मुलुक जाँदा आम मानिसले भोग्ने गरेका दुःख–पीडालाई देखाउने किसिमका नाटक मञ्चन हुन्थे नेपालमा । ‘गुरुकुल’ स्थापना भएपछि नाटकको अभ्यास हुन थाले पनि यसको विकास भने लिच्छवि, मल्ल र राणाकाल हुँदै आएको हो,’ निर्देशक अशेष मल्ल भन्छन्, ‘नेपालमा नाटकको सुरुवात काठमाडौं खाल्डोबाट मात्र भयो भनेर सबैले चित्रण गर्दै आए ।  यद्यपि, धनकुटा, डोटी र जुम्लाबाट पनि भयो भनेर कुनै लेखक र समिक्षकले लेख्न सकेनन् ।’ 

मल्लको बाल्यकाल धनकुटामा बित्यो । ६ वर्षको हुँदादेखि नै आफूले धनकुटामा नाटक मञ्चन भएको देखेको उनको दाबी छ । उनी भन्छन्, ‘ठूल्ठुला स्टेज बनाएर हरेक चौरमा नाटक गरिन्थ्यो ।’ मल्लका अनुसार उनका हजुरबुबा गजेन्द्रबहादुर प्रधानाङ्ग आफैं नाटक लेख्थे गर्थे । नाटकमा निर्देशन पनि उनकै हुन्थ्यो । ‘धनकुटाका अन्य मानिसले पनि नाटक लेख्थे तर, त्यहाँको इतिहास कहीँ–कतै लेखिएको छैन’, उनी भन्छन् । मल्लले करिब ४० वर्ष विभिन्न विश्वविद्यालयमा नेपाली साहित्य र नाटक पढाए । तर, कहीँ पनि नाटकको इतिहासको बारेमा आफूले भन्न नसकेको बताउँछन् । कारण, यसबारे कुनै किताबमा लेखिएको आफूले नपाएको उनको भनाइ छ । ‘मेरा जस्तै धेरै मानिसका हजुरबुबा जुम्ला, बागलुङ र पाल्पामा जन्मिए । तर, यसको इतिहास कहीँ छैन’, उनी भन्छन्, ‘हामीले खाली लिच्छविकाल, मल्लकाल, बालकृष्ण सम र काठमाडौंका केही रैथानेका कुरा मात्र ग¥यौं । सबैले यसैलाई सही हो भने ।’ 

नेपाली रंगमञ्चको सच्चा इतिहास हालसम्म कसैले लेख्न नसकेको उनको दावी छ । ‘खासमा रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन’, उनी भन्छन्, ‘यसबारे कसैले अनुसन्धान पनि गर्न चाहेन ।’ नेपाली साहित्य र रंगमञ्चको इतिहास नलेखेर आफूहरुले सर्जकहरूप्रति बेइमान गरेको उनको भनाई छ । 

लोक नाटक र मञ्चीय नाटकको विकास
मल्लका अनुसार नेपालमा दुई प्रकारको रंगमञ्च सँगसँगै विकास भएको हो । पहिलो लोक नाटक र दोस्रो मञ्चीय नाटक । ‘लोकनाटक भन्नाले लोकमा प्रचलित नाटक हो’, उनी भन्छन्,‘नेपाली समाज लोकसंस्कृतिमा धेरै धनी छ । विभिन्न चाडपर्व, परम्परा, संस्कारसँगै लोकनाटकको विकास भएको हो ।’ बाल्यकालदेखि नै मल्लले यस्ता किसिमका लोक नाटक धेरै देखे । उक्त समयमा दसै, तिहार, तिज, जस्ता पर्वमा लोकले लेखेका नाटक मञ्चन हुन्थे । संगीनी, घाटु, रामायण, लोकसंस्कृतीमा चलेका नाटक हुन् मल्ल भन्छन्, ‘काठमाडौंमा मल्लकालदेखि हुँदै आएको नाटक हो ‘कात्तिके नाच’ । पश्चिमी भेगतिर ‘वालन’ नाटक हुन्छन् । यस्ता थुप्रै नाटकले नेपालमा अझैसम्म चर्चा कमाइरहेका छन् ।’यस्ता किसिमका नाटकमा लेखक निर्देशक कोही हुँदैनन् जुन जनताले स्वत स्फुर्त भएर गरिने नाटक हो । अर्को नाटक हो मञ्चीय नाटक, जुन मञ्चमा हेर्न पाइन्छ । मल्ल बाल्यकालमा हुँदा उनका अग्रजहरूले मञ्चीय नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने गर्थे । खाली चौरमा ठुला–ठुला स्टेज बनाइन्थ्यो मल्ल भन्छन्,‘उक्त समयमा धनकुटामा बिजुली र यातायातका कुनै साधन थिएनन् । तर, पनि ठुला ठुला बाँसबाट महिनौं दिन लगाएर स्टेज तयार पार्थे ।’ अहिले कल्पना गर्न नसकिने किसिमका स्टेज तयार हुन्थे । स्टेजमा कलकत्ताबाट ल्याइएका कपडाका ठुला ठुला पर्दा लगाइन्थ्यो । पर्दामा नै दृश्य बनाइन्थ्यो । हिडेर नै कलकत्ता पुगेर सटेजका लागि कपडा र रंग ल्याइन्थ्यो। स्टेजमा आवश्यक सबैकुरा हातबाट नै निर्माण गरिन्थ्यो । बासमा डोरी बाधेर स्टेजमा फरक–फरक दृश्य राखिन्थ्यो । नाटकमा फरक दृश्य देखाउनुपर्दा डोरी तानिन्थ्यो र कथाले मागेअनुसारको दृश्य पर्दामा परिवर्तन हुँदै जान्थ्यो । ‘६ महिना मेहनत गरेर अग्रजहरूले स्टेज तयार पार्थे, मल्ल भन्छन्, ‘धनकुटाको टुडिखेल, बिचबजार, र देब्रेवासमा नाटक हुन्थे । समाजमा नाटकलाई इज्जत, प्रतिष्ठाको रपमा हेर्ने गरिन्थ्यो ।’