१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७६ माघ २३ बिहीबार १८:२९:००
Read Time : > 1 मिनेट
अर्थ

इन्दुशंकर चिनी उद्योगको मुलगेटमा स्थानीयको धर्ना

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७६ माघ २३ बिहीबार १८:२९:००

उद्योगबाट निस्किएको प्रदुषण नियन्त्रणको माग गर्दै स्थानीयले इन्दुशंकर चिनी उद्योगको मुलगेटमा धर्ना दिएका छन् । संघर्ष समिति, स्थानीय र जनप्रतिनिधि आज बिहीबार दोस्रो दिन पनि उद्योगको मुलगेटमा धर्नामा बसेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम लोकमार्ग नजिकै रहेको इन्दुशंकर चिनी उद्योगका कारण प्रदुषण फैलिएको स्थानीयको दावी छ । यस सिजनका लागि उद्योग सञ्चालनमा आएसँगै उद्योग आसपासको क्षेत्र उद्योगबाट निस्किएको धुँवा र कालो धुलोले ढाक्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय विनय न्यौपानेले उद्योगले स्थानीयको स्वास्थ्यमाथि खेलवाड गरेको बताए ।

प्रदुषण नियन्त्रणका लागि उद्योगलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले धर्नामा बस्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष सुरेशकुमार भट्टराईले बताए । ‘यो धुलो र धुँवाको समस्याबाट हामी वर्षौँदेखि पीडित बनेका छौँ,’ उनले भने, ‘हामीले उद्योग प्रशासनलाई पटक–पटक लिखित र मौखिक रूपमा जानकारी गराए पनि बेवास्ता गर्दै आएकाले यसपटक धर्नामा बस्न बाध्य भएका हौँ ।’

उद्योग प्रशासनलाई दवाव दिन स्थानीयको भेलाले केही दिनअघि मात्र भट्टराईको नेतृत्वमा संघर्ष समिति गठन गरेको थियो । समितिले दवावका कार्यक्रम नै सार्वजनिक गरेको छ । सोहीअनुसार बिहीबार दिउँसो ३ घन्टा उद्योगको मुलगेटमा तालाबन्दी गरेर धर्ना बसेको हो । समितिले तत्काल समस्या समाधानका लागि पहल नभए उद्योगको सम्पूर्ण कामकारबाही ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको लुगा कालै हुने गरेको भन्दै स्थानीय राजकुमार लामाले धुलो र धुँवाका कारण बस्नै नसकिने अवस्था रहेको बताए । चिनी उद्योगअन्तर्गतकै अमरावती डिष्टिलरीबाट निस्किएको फोहोर पानीको दुर्गन्धले स्थानीयमा श्वास प्रश्वासलगायतका स्वास्थ्य समस्या देखिने गरेको पनि लामाले बताए ।

उद्योग प्रशासनले समस्या समाधानको पहल भइरहेको भन्दै प्रदुषण पूर्ण रूपमा नियन्त्रण गर्न भने एक वर्ष लाग्ने जनाएको छ । विभिन्न उपकरण खरिद गरेर जडान गर्नुपर्ने भएकाले स्थानीयलाई एक वर्ष पर्खन आग्रह गरिएको उद्योग प्रशासन प्रमुख ठाकुर नेपालले बताए । उनले भने, ‘चिम्नीमा फिल्टर जडान गर्नुपर्छ । यो काम भन्नेबित्तिकै गर्न सकिँदैन । तर उद्योगबाट निस्कने फोहोर तथा प्रदुषण नियन्त्रण गर्न उद्योग प्रतिबद्ध छ ।’