मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १६:४७:००
Read Time : > 1 मिनेट
समाचार

मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनु नपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १६:४७:००

पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या ५ को खण्ड ‘य’ मा रहेको पत्रकारको रुपमा काम गर्न चाहानेका लागि परीक्षा गर्ने व्यवस्था र क्रमसंख्या १५ मा रहेको पत्रकारको लाइसेन्स सम्बन्धि परीक्षा, दर्ता तथा अभिलेख सम्बन्धी व्यवस्था हटाउन सांसद भट्टराईले गरेको प्रस्तावमा अधिकांश सांसदहरुले सहमति जनाएका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा समेत उक्त संशोधन प्रस्तावमा सकारात्मक भएपछि लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउँदै विधेयक पारित भएको हो ।

यसअघि विधेयक माथिको छलफलमा बोल्दै सांसद कोमल वलीले विश्वकै नेपालको संविधानको प्रतावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भन्ने कुरा उल्लेख भएको बताएका थिए । सरकारले नै पत्रकारीता क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भने, ‘पत्रकारीता सांगठनिक र व्यवसायीक हिसाबले आउने आएकाले अभिव्यक्तिलाई परीक्षा भन्नुहुन्न ।’ पत्रकार महासंघले पनि विज्ञप्ती नै जारी गरेर परीक्षा लिने प्रावधानको विरोध गरेकाले यो विषयमा विचार गर्न उनले माग गरे ।

सांसद राधेश्याम अधिकारीले परीक्षाको विषयमा विधायन समिति मै असहमति दर्ता भएको उल्लेख गरेका थिए । ‘पत्रकार हुनका लागि परीक्षा लिएर लाइसेन्स लिनुपर्ने भन्ने कुरा जब आयो हामीले त्यो उपयुक्त छैन भनेर भन्यौ । पत्रपत्रिका, रेडियो टिभीमा काम गर्ने पत्रकारहरुको हरेक दिन परीक्षा परीक्षण भइरहेको हुन्छ । परीक्षा लिने प्रावधान हटायो भने अरु विषयमा कुनै आपत्ति छैन’, उनले भने ।

समितिमा लाइसेन्स परीक्षा लिने व्यवस्था गर्नुपर्ने संशोधन राखेका सांसद ठगेन्द्र प्रकास पुरीले भने परीक्षा लिने व्यवस्था हटाउने प्रावधानले शरीर, आत्मा र अनुहार लिएर सदनमा प्रवेश गरेको भएपनि शरीर र आत्ममा कायम राखेर अनुहार पुरै परिवर्तन भएको बताएका छन् । व्यवसायीक पत्रकारीताका लागि परीक्षाको कुरा आएको उल्लेख गर्दै उनले विगतका कानूनहरु परीमार्जन गर्दै अगाडि बढ्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए ।

स्वतन्त्रता भनेको बोल्ने र लेख्ने अधिकार मात्रै नभएको उल्लेख गर्दै उनले परीक्षाको व्यवस्था गरेर निरंकुशता लाद्न नखोजिएको बताए । सदनमा उठेका प्रश्नहरुको जवाफ दिदै गोकुल बास्कोटाले मिडियाबाट पीडित हुनेहरुले न्याय पाउने मुल कानून मिडिया काउन्सिल विधेयक भएको बताए । ‘मिडियाका हातमा मात्रै नाङ्गो तरबार चलाउन पाउँदैन । उसले नाङ्गो तरवार चलायो भने अर्कोले पनि कलम बोकेर अदालत जान पाउनुपर्छ भन्ने कुराको सुनिश्चितता भएको छ’, उनले भने ।