मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २३ बिहीबार ११:१४:००
Read Time : > 2 मिनेट
खेलकुद

आइसिसी विश्वकप लिग २ शृंखला : ओमानसँग नेपाल १८ रनले पराजित

Read Time : > 2 मिनेट
२०७६ माघ २३ बिहीबार ११:१४:००

ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आइसिसी विश्वकप लिग २ शृंखलामा नेपालको सुरुवात सुखद रहेन । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित हुन पुग्यो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाहुना टोली ओमानलाई निर्धारित ५० ओभरमा नौ विकेट लिएर १९७ रनमै रोकेको थियो । प्रत्युत्तरमा ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो । यो पराजयले नेपाललाई लिग २ शृंखलामा खाता खोल्न अर्काे खेल कुर्नुपर्ने भएको छ । नेपाललाई पराजित गरेको ओमान भने दुई अंक थप्दै सात टोली सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । 

लिग २ शृंखला सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिता हो, जसअन्तर्गत सन् २०२२ सम्म तीन–तीन टोलीको सहभागितामा २१ शृंखला आयोजना हुनेछन् । लिग २  अन्तर्गत नेपालले आयोजना र प्रतिस्पर्धा गरेको यो नै पहिलो शृंखला हो । जारी शृंखलामा अमेरिका पनि सहभागी छ । ओमानसँगको हारले नेपालका लागि घरेलु मैदानमा आयोजित पहिलो एकदिवसीय खेल पनि सुखद बनेन । १ चैत ०७४ मा एकदिवसीय टोलीको मान्यता पाएको नेपालले पहिलोपटक घरेलु मैदानमा एकदिवसीय खेलको आयोजना गरेको हो । 

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सिनियर खेलाडीहरूबाट जिम्मेवारीपूर्ण ब्याटिङ प्रदर्शन नहुँदा पराजय बेहोर्नुपरेको बताए । ‘सायद, पारस (खड्का) र म आफैँ पनि क्रिजमा केही समय टिकेको भए ब्याटिङमा यत्तिको तलसम्म सोच्नुपर्ने थिएन,’ खेलपछि ज्ञानेन्द्रले हारको कारण खुलाए, ‘त्यसपछि पनि राम्रै प्रदर्शन भइरहेको थियो, तर फेरि पनि गलत समयमा विकेट जाने क्रम रोकिएन । सिनियर खेलाडीबाट जिम्मेवार ब्याटिङ प्रदर्शन नहुनु नै पराजयको कारण बन्यो ।’

नेपालले पहिलो विकेटका रूपमा कप्तान ज्ञानेन्द्रलाई एक रनमै गुमाएको थियो । त्यसवेला नेपालले चार रन मात्र जोडेको थियो । त्यसपछि थप रन जोड्नुअघि नै तीन रन बनाएर खेलिरहेका पारस पनि आउट हुन पुगे । पहिलोपटक कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रारम्भिक ब्याट्सम्यानका रूपमा मैदानमा उत्रिएको ज्ञानेन्द्र र पारसको जोडी चाँडै पेभिलियन फर्किएपछि नेपालको इनिङ्स संकटमा परेको थियो । यद्यपि, तेस्रो क्रममा क्रिजमा छिरेका शरद शेषवाकरले नेपालको ब्याटिङ इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । उनले पाँच चौकाको मद्दतमा ५५ रनको अर्धशतकीय योगदान दिए । उनीपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे । शरद र दीपेन्द्रले ६२ रनको साझेदारी गरेका थिए, जुन एकदिवसीय खेलमा नेपालले तेस्रो विकेटका लागि गरेको अहिलेसम्मकै ठूलो साझेदारी बन्यो । 

यद्यपि, अन्य खेलाडी एकपछि अर्काे गरी सहजै आउट भएपछि ऐतिहासिक खेलमा नेपालको जित असम्भव देखियो । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले २६ र सन्दीप लामिछानेले २७ बलमा २८ रनको योगदान दिए । रोहितकुमार पौडेल र करण केसीले खाता खोल्न सकेनन् । रोहित र आरिफ सेख (६) ओमानका कप्तान जिसन मक्सुदको एकै ओभरमा आउट भएका थिए । 

त्यसअघि मध्यम गतिका बलर करण केसीले चार र स्पिनर सुसन भारीले तीन विकेट लिएपछि नेपालले ओमानलाई २०० भन्दा कम रनको योगफलमै रोक्न सकेको थियो । करणले ओमानका प्रारम्भिक ब्याट्सम्यानद्वय जतिन्दर सिंह (४) र खवार अली (५) लाई आउट गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । यद्यपि, मोहम्मद नदिमले अविजित ६९ रनको योगदान गर्दै ओमानको इनिङ्स उकासे । 

करणले नौ ओभरमा एक मेडनसहित ४७ रन खर्चिएका थिए । उनले खेलको अन्तिम ओभरमा १७ रन खर्चिए । करण एकदिवसीय एकै खेलमा चार वा त्योभन्दा बढी विकेट लिने चौथो नेपाली खेलाडी पनि बनेका छन् । उनीभन्दा अघि पारस, सोमपाल र सन्दीपले यो उपलब्धि हात पारेका छन् । दीपेन्द्रले ओमानविरुद्ध थप एक विकेट लिए । 

ओमानका कप्तान मक्सुदले शरदको विकेट नै आफ्नो टोलीको जितमा टर्निङ प्वाइन्ट बनेको बताए । ‘पिचको अनुभव फरक रह्यो । बल सहजै ब्याटमा आइरहेको थिएन । त्यसले पनि ब्याटिङमा मुस्किल भइरहेको थियो । यद्यपि, खेलाडीबीच थोरै–थोरै भए पनि साझेदारी बनि नै रह्यो,’ उनले भने, ‘शरदको विकेट लिन सक्नु नै जितको टर्निङ प्वाइन्ट बन्यो ।’

सुसनको सानदार ‘डेब्यु’

ओमानविरुद्धको खेलसँगै सुसन भारीले नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय मान्यताप्राप्त खेलमा सानदार डेब्यु गरेका छन् । उनले आफ्नो पहिलो खेलमा महत्वपूर्ण तीन विकेट लिए । खेलको १७औँ ओभरमा पहिलोपटक बलिङका लागि आएका सुसनले तीन रन खर्चिए । तर, १९औँ ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सुसनले दुई महत्वपूर्ण विकेट लिए । उनले चौथो बलमा २० रनमा खेलिरहेका ओमानका कप्तान मक्सुदलाई एलबिडब्लु धरापमा पारेर पहिलो विकेट लिए । सोही ओभरको छैटौँ बलमा ओमानका नेपाली मूलका विकेटकिपर ब्याट्सम्यान सुरज कुमार (०)लाई ज्ञानेन्द्रद्वारा क्याचआउट गराउँदै उनले व्यक्तिगत दोस्रो विकेट लिए । त्यसपछि सन्दीप गउडलाई ३३ रनमा आउट गराउँदै उनले तेस्रो विकेट लिएका थिए । उनी डेब्यु खेलमै तीन वा त्योभन्दा बढी विकेट लिने नेपालका तेस्रा खेलाडी बनेका छन् । यसअघि डेब्यु खेलमा पारसले चार र सोमपालले तीन विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडन निकाल्दै १४ रन खर्चिएका थिए । 

घरेलु भूमिमा पहिलो एकदिवसीय अर्धशतक

शरदको अर्धशतक घरेलु मैदानमा आयोजित एकदिवसीय खेलको पहिलो अर्धशतक बनेको छ । त्रिवि क्रिकेट मैदानले नेपालमा पहिलो एकदिवसीय मान्यताप्राप्त खेलको आयोजना गर्दा शरदले महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । घरबाहिर खेलिएको एकदिवसीय खेलमा कप्तान ज्ञानेन्द्रसँगै पूर्वकप्तान पारस, सुवास खकुरेल, रोहितकुमार पौडेल र सोमपाल कामीले अर्धशतक प्रहार गरिसकेका छन् । शरद एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने समग्रमा छैटौँ खेलाडी पनि बनेका छन् ।