मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २२ बुधबार १३:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पूर्णअपांगमैत्री छैनन् भूकम्पपछि बनेका महानगरका विद्यालय

प्राधिकरण भन्छ, ‘यो सामान्य विषय हो’ 

Read Time : > 2 मिनेट
२०७६ माघ २२ बुधबार १३:१९:००

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरभित्र निर्माण भएका अधिकांश विद्यालय पूर्ण अपांगमैत्री छैनन् । नेपालको संविधान धारा ३१ को उपधारा (३) मा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकले कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउनुपर्ने भनी स्पष्ट उल्लेख गरेको छ । 

त्यस्तै सरकारले पनि विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन र नेपाललाई पूर्णसाक्षर घोषणा गर्न विभिन्न कार्यक्रम गरी नै रहेको छ । तर सरकारको लक्ष्य पूरा हुन सकेको देखिँदैन । कारण, विद्यालय संरचना बाधक बनिरहेका छन् । पुराना र भूकम्पपछि निर्माण भएका संरचना पूर्ण अपांगमैत्री नहुँदा सरकारले लिएको लक्ष्य समयमै पूरा नहुने देखिन्छ । 

विद्यालय संरचनाकै कारण अधिकांश अपांगता भएका बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । विद्यालय संरचनाकै कारण पढ्न नपाउने हो कि भन्ने डर लाग्ने गरेको सानोठिमी क्याम्पस भक्तपुरमा अध्ययनरत लक्ष्मण रानामगर बताउँछन् । मानविकी संकायमा अंग्रेजी विषय लिएर स्नातक पहिलो वर्षमा अध्ययन गरिरहेका उनको २०७१ सालमा रूखबाट लडेर घाइते भएका थिए । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा महानगरभित्र ६ वटा सामु्दायिक विद्यालय निर्माण गरेको छ । जुन पूर्ण अपांगमैत्री छैनन् । एडिबीको सहयोगमा त्रिपुरेश्वरको विश्वनिकेतन, कालिमाटी बाफलको ज्ञानोदय, गीतामाता, नेपाल युवा, रत्नराज्य र प्रर्दशनीमार्गमा रहेको पद्यमोदय माध्यमिक विद्यालय पुनर्निर्माण भए । 

तिनका भुइँतलाका कक्षाकोठाहरू मात्र अपांगमैत्री छन् । मध्यबानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयको पनि भुइँतलाबाहेक माथिका कक्षाकोठा अपांगमैत्री नभएको विद्यालयका पूर्वप्रधानाध्यापक कृपाश्वर खड्का बताउँछन् । ‘ह्विलचियरमा आउने विद्यार्थीहरूलाई माथिल्ला तलामा लैजान बोक्नुपर्ने बाध्यता छ’, उनले बताए ।

अहिले विद्यालयमा ह्विलचियरमा आउने विद्यार्थी नभए पनि भविष्यलाई ध्यानमा राखेर विद्यालय भवन निर्माण गर्नुपर्ने खड्काकाे तर्क छ । गत वर्ष १८ माघमा विद्यालय निर्माण कार्य सम्पन्न भएको विद्यालयको चार तलाको छ । करिब तीन सय विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । 

त्यस्तै ज्ञानोदय माध्यमिक विद्यालयकी सहप्रधानाध्यापक विष्णु घिमिरे रिमाल पनि अपांगता भएका विद्यार्थीलाई विद्यायल संरचनाले बाधा पु-याइरहेको बताउँछिन् । भन्छिन्, ‘दृष्टिविहीन र बैशाखी प्रयोग गर्ने विद्यार्थी जसोतसो सिँडीमार्फत माथिल्लो तलामा लैजान सकिए पनि ह्विलचियर भने लान सकिने अवस्था छैन ।’ साथै विद्यालयमा भुइँतलाबाहेक अन्त शौचालय नहुँदा शारीरिक रूपले अशक्त विद्यार्थीहरूलाई सास्ती हुने गरेको पनि उनले बताइन् । 

‘शौचालय जान/आउन निकै समय लाग्छ’   

करिब पाँच करोड ८७ लाख लागतमा बनेको पद्मोदय माध्यमिक विद्यालयको नयाँ भवनमा २४ वटा कक्षाकोठा छन् । जसमा बिहानी र दिवासत्रका करिब एक हजार विद्यार्थी अध्ययनरत छन् । यस भवनको चौथो तलामा अध्ययन गर्ने विद्यार्थीलाई शौचालय प्रयोग गर्न भुइँतलामा जानुपर्ने बाध्यता छ । प्रअ मीनाकुमारी कोइराला पोखरेल भन्छिन्, ‘कर्मचारीका लागि दोस्रो र विद्यार्थीका लागि भुइँतलाबाहेक अन्त शौचालय नै छैन ।’ 

भवनको बीच र चौथो तलासम्म ह्विलचिएर जान मिल्ने खालको संरचना बनाउन आफूहरूले माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । चौथो तलाका विद्यार्थीलाई शौचालय जान÷आउन करिब पाँचदेखि सात मिनेट लाग्ने प्रअ पोखरेल बताउँछिन् ।  

ज्ञानोदय माध्यमिक विद्यालयको समस्या पनि त्यस्तै छ । गत असारमा उद्घाटन गरिएको उक्त भवनमा २४ वटा कक्षाकोठा छन् । करिब सात सय विद्यार्थी अध्ययनरत विद्यालयको भुइँतलाभन्दा माथिका अन्य तलामा शौैचालय नभएको रिमाल बताउँछिन् । भवन निर्माणका क्रममा भवनका बीच तलामा शौचालय राख्न आग्रह गरे पनि सुनुवाइ नभएको उनले पनि गुनासो सुनाइन् । 

दरबार हाईस्कुल पनि उस्तै 

चीन सरकारको सहयोगमा निर्माण भएको दरबार हाईस्कुलको हालत पनि उस्तै छ । प्रधानाध्यापक अखिलेशप्रसाद आजाद भन्छन्, ‘भुइँतला अपांगमैत्री भए पनि माथिका तलामा जान सिँढी नै प्रयोग गर्नुपर्छ,  ह्विलचियरमा आउने विद्यार्थीका लागि माथिल्ला तलामा जाने वैकल्पिक व्यवस्था छैन ।’ विद्यालय डिजाइनका वेला अपांगतामैत्री बनाउनुपर्नेमा कसैले ध्यान नदिएको उनको पनि गुनासो छ । 

के भन्छ प्राधिकरण ?

प्रअ, विद्यार्थीले विद्यालय संरचना अपांगमैत्री नबनाएको पटक पटक गुनासो गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने यो समस्या सामान्य भएको बताउँछ । प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्याल भन्छन्, ‘चौथो तलाबाट शौचालय जान भुइँतलामा आउनु कुनै ठूलो कुरो होइन ।’ हरेक कक्षाकोठा र हरेक तला अपांगमैत्री बनाउने र समयअनुसार सबैमा शौचालय राखिने उनले प्रस्ट्याए । विद्यालयको पहिल्लो तलासम्म जानसक्ने गरी अपांगमैत्री बनाइएको र यो सुविधा आवश्यकताअनुसार थप्दै जान सकिने उनले जनाए ।