मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रुचिर शर्मा
२०७६ माघ २१ मंगलबार ०९:०२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

प्रविधिले जोगाएको चिनियाँ अर्थतन्त्र

Read Time : > 4 मिनेट
रुचिर शर्मा
२०७६ माघ २१ मंगलबार ०९:०२:००

चीन अहिलेसम्म विश्वकै ठूलो ई–कमर्स बजार हो किनभने यस अवधिमा चीनमा नयाँ डिजिटल अर्थतन्त्रको अकल्पनीय तीव्र वृद्धि भयो 
हालै सांघाई सहरको यात्राका क्रममा मैले आफूलाई तीव्र प्रविधि क्रान्तिबीच पाएँ । यसको साक्षात्कार विमानस्थलदेखि नै हुन्थ्यो, त्यहाँ पासपोर्ट स्क्यानरले स्वचालित रूपमा यात्रुलाई तिनको मातृभाषामा सम्बोधन गर्छन् । डिजिटल भुक्तानी गर्ने एपले कागजी मुद्रालाई विस्थापित गरिसकेछन् । यसको ज्ञान नभएका विदेशी जब सामानको भुक्तानी गर्न नगद तेस्र्याउँछन्, स्टोरका कर्मचारी अलमलमा पर्छन् ।

सांघाईनजिकको सहर हाङझुमा रहेको एउटा नमुना होटेल ‘फ्लाई–जू’का ढोका खोल्न अनुहारको (फेसियल रिकग्निसन) प्रयोग हुन्छ, त्यहाँ कुनै साँचो चाहिँदैन । कक्टेल बनाउने र रुम सर्भिस दिने काम रोबोटले गर्छन् । अझ दक्षिणी सहर सेन्झेनमा हामीले त्यस्ता ड्रोन उडायौँ जुन चीनका ग्रामीण क्षेत्रमा ई–कमर्सका सामान वितरणका लागि प्रयोग हुन थालिसकेको छ । व्यस्त सडकमा सवारीसाधन ट्राफिकबत्ती र प्रहरी क्यामेराको निगरानीकै भरमा निर्बाध गुड्छन् ।

चीनबाहिर यी प्रविधिलाई चीनको ‘अटोमेटेड सर्वसत्तावाद’ को लक्षणका रूपमा हेरिन्छ । तिनका अनुसार चीनले भिडियो क्यामेरा एवं अनुहार चिन्ने ‘फेसियल रिकग्निसन’ प्रणालीलाई प्रयोग गरेर नागरिकको निष्ठा मापन गर्दै तिनको श्रेणीकरण गर्छ र कानुन तोड्नेलाई दण्डित गर्छ । सिन्जियाङ स्वायत्त क्षेत्रका उयीगुर मुसलमानमाझ फैलिएको अशान्तिको सामना गर्न चीनले यिनै प्रविधिको उन्नत संस्करण प्रयोगमा ल्याएको छ । 

तर, विभिन्न सर्वेक्षणमा प्रविधिप्रति चिनियाँमा उच्च भरोसा देखिन्छ । चिनियाँ नागरिक गोपनीयतालाई लिएर चिन्तित त छन्, तर ती बिग ब्रदरको डरले आफ्ना चिन्ता देखाउँदैनन् । चीनका तटवर्ती क्षेत्रको यात्रामा भेट भएका अधिकांशले प्रविधि महाशक्तिका रूपमा चीनको उदयप्रति गर्व भएको सुनाए ।  बाह्य विश्वका लागि खुला भएर नै चीनले आर्थिक चमत्कार सुरु गरेको थियो । तर, अहिले ऊ बाह्य प्रतिस्पर्धालाई छेकबार लगाउँदै घरेलु प्रविधि उद्योगलाई संरक्षण गर्दै छ । विदेशी पर्यटक चीनमा गुगल र फेसबुक खोल्न नपाउँदा अनौठो अनुभव गर्छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग हस्ताक्षर गरेको व्यापार सम्झौताले चाहिँ ती छेकबारमाथिका विमर्शलाई नै स्थगित गरिदिएको छ । 

सोभियत संघ यो रणनीतिमा असफल भएको थियो । तर, चिनियाँले संरक्षणवादको चौघेराभित्र एउटा प्रभावकारी उपभोक्ता संस्कृतिको विकास गरेका छन्, जसले राजनीतिक नियन्त्रणको औजार एवं आर्थिक वृद्धिको इन्जिनको काम गरिरहेको छ । यो अत्यन्त महत्वपूर्ण क्षणमा आएको छ ।  सन् २०१५ मा चिनियाँ अर्थतन्त्र आर्थिक सुधार सुरु भएयताका चार दशकमा पहिलोपटक आर्थिक मन्दीको संघारमा पुगेजस्तो देखिएको थियो ।

चीनको औसत आय मध्यमवर्गीय चरणमा पुगेको थियो, जुन चरणमा पुगेर धेरै विकासोन्मुख देश अड्किन्छन् । उसको कामकाजी उमेर समूह जनसंख्या खुम्चन सुरु मात्रै भएको थियो । विश्वव्यापी मन्दीसँग जुध्न बेइजिङले ऋण लिन सहज बनाइदिएको परिणामस्वरूप सुरु भएको ऋण लिने दौडका कारण निजी क्षेत्रको ऋण कुल गार्हस्थ्य उत्पादनको एक सय ५० प्रतिशतबाट बढेर दुई सय ३० प्रतिशतभन्दा माथि पुगेको थियो । 

अहिले चीन बाह्य प्रतिस्पर्धालाई छेकबार लगाउँदै घरेलु प्रविधि उद्योगलाई संरक्षण गर्दै छ, विदेशी पर्यटक चीनमा गुगल र फेसबुक खोल्न नपाउँदा अनौठो अनुभव गर्छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग हस्ताक्षर गरेको व्यापार सम्झौताले ती छेकबारमाथिका विमर्शलाई नै स्थगित गरिदिएको छ

यो उदीयमान मुलुकमा भएको सबैभन्दा ठूलो ऋण लिने दौडा थियो । यो स्तरको ऋणले अर्थतन्त्रलाई सधैँ ठूलो मन्दीमा लैजान्छ । तर, चीनको दोहोरो अंकको आर्थिक वृद्धि ६ प्रतिशतमा पुगेको भए पनि अझैसम्म उसले आफ्नो पहिलो आर्थिक मन्दी भोग्नु परेको छैन ।  यसबीच के भयो जसले चीनको अस्वाभाविक आर्थिक मन्दी टार्‍यो ? यस अवधिमा चीनमा नयाँ डिजिटल अर्थतन्त्रको अकल्पनीय तीव्र वृद्धि भयो । मुद्रा भाउमा यसको अर्थतन्त्र तीन हजार अर्ब डलर मूल्य रहेको अनुमान छ, जुन चीनको कुल राष्ट्रिय उत्पादनको झन्डै एकतिहाइ हो । अलिबाबा र टेन्सेन्टजस्ता ठूला इन्टरनेट उद्योगको नेतृत्व रहेको प्रविधि क्षेत्रले स्टिल एवं आलमुनियमजस्ता पुराना उद्योगको ह्रासलाई सन्तुलनमा मात्र राखिरहेका छैनन्, यो क्षेत्र मुख्यतः ऋणमुक्त पनि छ । 

त्यसैले, डिजिटल अर्थतन्त्र जति ठूलो हुँदै जान्छ चीनको पुरानो अर्थतन्त्रको अकासिँदै गएको ऋण व्यवस्थापन र आर्थिक वृद्धिलाई जीवन्त राख्ने क्षमता पनि उत्तिकै बढ्दै जानेछ । सन् २०१७ सम्म चीनको प्रविधि क्षेत्रले जर्मनीमा जत्तिकै उत्पादन गर्न थालिसकेको थियो । म्यासाच्युसेटस्थित ‘टफ्ट्स’ विश्वविद्यालयको सर्वेक्षणले चीनलाई विश्वकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको डिजिटल अर्थतन्त्रका रूपमा सूचीकृत गरेको छ । 

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘भिसा’का प्रमुख कार्यकारीका अनुसार बेइजिङका एक नियामकले चीनको प्रविधि उद्योगबारे निम्न कुरा भनेका थिए, ‘१८ महिनाअघिसम्म देशका ठूला प्रविधि उद्योग चिन्ता गर्न नपर्ने गरी साना थिए, अहिले ती चलाउनै नसकिने गरी ठूला भइसककेका छन् ।’  उपलब्ध अध्ययन कम्तीमा पनि दुई वर्ष पुराना तथ्यांकमा आधारित भएकाले यिनले चीनको प्रविधि शक्तिका रूपमा विकसित विश्वतर्फको तीव्र छलाङलाई कम देखाएको हुन सक्छ । पछिल्लो दशकमा चीनले प्रविधिको अनुसन्धान तथा विकासको लगानीलाई तीन गुणा बनाएर प्रतिवर्ष चार खर्ब ४० अर्ब डलर पुर्‍याइसकेको छ । यो लगानी सम्पूर्ण युरोपले गरेको भन्दा बढी हो । अहिले, विश्वका २० मध्ये नौ ठूला इन्टरनेट कम्पनी चिनियाँ छन् । बाँकी १० वटा अमेरिकी र एउटा क्यानडेली हो ।

अनलाइन बैकिङमा भइरहेको विस्फोटक वृद्धिले उपभोक्ता ऋणमा वार्षिक २० प्रतिशतको वृद्धि गराइरहेको छ । र, आर्थिक वृद्धिको मुख्य चालकका रूपमा निर्यात रहेकाले आन्तरिक उपभोगलाई नै आर्थिक वृद्धिको मूल आधार बनाउनमा पनि यसले मलजल गर्दै छ । यसका लागि, सन् २०१५ मा स्थापित अलिबाबा स्वामित्वको ‘माइबैक’ले एक करोड ६० लाख ग्राहकसम्म ‘३–१–०’ अर्थात् तीन मिनेट आवेदन, एक सेकेन्ड स्वीकृत र शून्य मानव संलग्नतामै लघुकर्जा प्रवाहलगायतका आफ्ना कर्जा सेवा पुर्‍याइरहेको छ । स्वचालनले रोजगारी खाइरहेको छ । अलिबाबा स्वामित्वको ‘हेमा’ नामक किराना स्टोरको ‘लन्च काउन्टर’मा वेट्रसको ठाउँमा साना सेता रोबोटले काम गर्छन् । चीनका जिमखानामा जानेहरू त्यहाँ जडित विशाल स्क्रिनको निर्देशन अनुसरण गर्छन्, प्रशिक्षक विस्थापित भएका छन् । सेन्झेन सहरनिवासी सिसिटिभी निगरानीका कारण सडकबाट अपराधी लखेटिएको बताउँछन् ।

अहिले प्रविधिले मास्ने र सिर्जना गर्ने रोजगारी बराबरजस्तै रहे पनि प्रविधिबाट मासिनेभन्दा बढी व्यवसाय सिर्जना हुँदै छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रतिवेदनले समेत प्रविधिका कारण मासिएको रोजगारी कटाएर बाँकी हुने रोजगारी वृद्धिको आधाभन्दा बढी वृद्धिमा प्रविधीकरण नै जिम्मेवार रहेको देखाउँछ । अलिबाबाका प्लेटफर्मले मात्रै पनि दसौँ लाख साना कम्पनीलाई प्रयोजन गरेको देखिन्छ, जसले गत दशकयता तीन करोडभन्दा बढी रोजगारी थपेको छ ।

यो रोजगारी चीनले हेभी इन्डस्ट्रीमा गुमाएको भन्दा निकै धेरै हो । चीनको प्रविधि क्रान्तिलाई अर्थतन्त्र सुस्त बनाउने ठानिएका दुईवटा कारकले सम्भव तुल्याएको छ– मध्यम आयस्तर र जनसंख्या । हुन त यहाँको जनसंख्या वृद्ध बन्दै गइरहेको छ यद्यपि प्रविधि स्टार्टअप फस्टाउन सक्ने विशालबजार भने अझै पनि उपलब्ध छ । मुलुकले मध्यमस्तरको आय हासिल गरेपछि सामान्यतया वृद्धि सुस्ताउँछ, तर चीनमा उदय भएको मध्यमवर्ग भने नयाँ मोबाइल इन्टरनेट सेवाका मुख्य ग्राहक बनेका छन् । 

विभिन्न सर्वेक्षणमा प्रविधिप्रति चिनियाँमा उच्च भरोसा देखिन्छ, चिनियाँ नागरिक गोपनीयतालाई लिएर चिन्तित त छन्, तर ती ‘बिग ब्रदर’को डरले आफ्ना चिन्ता देखाउँदैनन् साथै चीनका तटवर्ती क्षेत्रको यात्रामा भेट भएका अधिकांशले प्रविधि महाशक्तिका रूपमा चीनको उदयप्रति गर्व भएको सुनाए

अन्य कुनै पनि मुलुकसँग यस्तो अनुकूल संयोजन छैन । भारतसँग जनसंख्या त छ, तर त्यस स्तरको आय छैन । ब्राजिलमा आय छ, जनसंख्या छैन । त्यसैगरी, यी दुवै लोकतान्त्रिक मुलुकका समाज सरकारी निगरानीलाई लिएर चिनियाँभन्दा धेरै नै सशंकित छन् । भारतमा बायोमेट्रिक आइडीलाई लिएर व्यापक विवाद भएको देखिएकै हो । चीनमा, खासगरी सिन्जियाङ बाहिर, व्यक्तिगत डाटालाई लिएर तुलनात्मक रूपले चिन्ता न्यून छ, जसले डिजिटल भुक्तानी एवं ई–कमर्सको विस्तारमा मलजल गर्न सहयोग गरेको छ । चीन अहिलेसम्म विश्वकै ठूलो ई–कमर्स बजार हो । यहाँका मल र अफिसबाहिर अनलाइन डेलिभरी कम्पनीका मोटरसाइकल पाँचदेखि ६ लाइनसम्म पार्क गरिएका देखिन्छन् ।

आफ्नो खुम्चँदो श्रमबजार दुरुस्त पार्न चीनले आफ्ना बाँकी रहेका कामदारको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेछ । सन् २०१५ बाट प्रविधिले गति लिन थालेसँगै झन्डै एक दशक वृद्धि शून्यजस्तै रहेको चीनको उत्पादकत्व वृद्धि हुन थालेको छ । आइएमएफको प्रतिवेदनले पनि के तर्क गर्छ भने चिनियाँ अर्थतन्त्र आउँदा वर्षमा सुस्त हुने त निश्चितै छ, तर प्रविधीकरण हालको तीव्रगतिबाट सुस्तायो भने अलि बढी नै सुस्त बन्नेछ । 

कुनै पनि अर्थतन्त्र निरन्तर अक्षुण्ण रेखामा उदाइरहन सक्दैन । चुलिँदो ऋणभार र खस्कँदो श्रमबलको पल्ला चीनमाथि भारी जो छ । प्रविधिले चिनियाँ घरपरिवारलाई अनलाइन ऋण अति सहजै उपलब्ध बनाइदिएर वित्तीय संकटको जोखिम बढाएकै छ । यद्यपि, अहिलेका लागि, चीनको प्रविधिक्रान्तिको समय र गहिरो मन्दीबाट चिनियाँ अर्थतन्त्रलाई उद्धारको खाँचो एकै समयमा आएको देखिन्छ ।

शर्मा मोर्गन स्ट्यानले इन्भेस्टमेन्ट म्यानेजमेन्टमा प्रमुख विश्वव्यापी रणनीतिकार तथा वित्तीय विषयका लेखक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य