मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २१ मंगलबार ०८:१८:००
Read Time : > 1 मिनेट
राजनीति

शपथग्रहणको पर्खाइमा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य

Read Time : > 1 मिनेट
२०७६ माघ २१ मंगलबार ०८:१८:००

राष्ट्रिय सभामा निर्वाचित भएपछि तुलसा दाहाल काठमाडौं आएकी छैनन् । उनी प्रदेश २ का मतदातालाई धन्यवाद दिनमै व्यस्त छिन् । ‘अहिले त हामी बधाई कार्यक्रममा सहभागी हुन र जिताउन सहयोग गर्ने मतदातालाई धन्यवाद दिनमै व्यस्त छौँ,’ दाहालले भनिन् ।  ९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा उनी प्रदेश २ बाट महिला समूहअन्तर्गत विजयी भएकी हुन् । शपथग्रहण नभएपछि प्रदेशमा बसिरहेको उनले बताइन् । ‘बधाई लिने र धन्यवाद दिनेबाहेक अरू संगठन र व्यक्तिगत काममै व्यस्त हुन्छु,’ दाहालले नयाँ पत्रिकासँग भनिन् । 

राष्ट्रिय सभा सदस्यमा निर्वाचित शेखरकुमार सिंह पनि बधाई लिने र धन्यवाद दिने कार्यक्रममै सहभागी भइरहेका छन् । ‘अहिले अभिनन्दन कार्यक्रममा सहभागी हुने, बधाई लिने र धन्यवाद दिने कार्यक्रममै सहभागी भएर समय बितिरहेको छ,’ प्रदेश २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्य सिंहले भने, ‘शपथग्रहण नहुँदासम्म अन्य योजना र कार्यक्रममा त सहभागी हुन पनि भएन नि !’

उनीहरूजस्तै राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू आ–आफ्नो प्रदेशमा बधाई लिने र शुभकामना दिनेलगायतकै कार्यक्रममा व्यस्त छन् । किनकि, उनीहरूको शपथग्रहण हुन अझै एक महिना बाँकी छ । पहिलो दुईवर्षे कार्यकाल सकेर १८ जना राष्ट्रिय सभा सदस्य बाहिरिएपछि मात्रै उनीहरूको शपथग्रहण हुनेछ । 

राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले नवनिर्वाचित सदस्यको शपथग्रहण २१ फागुनमा हुने बताए । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने भएअनुसार उहाँहरू माघ ९ गते नै निर्वाचित हुनुभएको हो । तर, फागुन २० गतेसम्म दुईवर्षे कार्यकाल सकिने सदस्यहरूको समयावधि छ । उहाँहरू बाहिरिएपछि नयाँ सदस्यहरूले शपथग्रहण गर्नुहुनेछ,’ सचिव फुँयालले भने । 

९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशबाट १८ जना सदस्य निर्वाचित भएका छन् । प्रदेश १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश २ बाट तुलसा दाहाल, राधेश्याम पासवान, शेखरप्रसाद सिंह र मृगेन्द्रकुमार सिंह, बागमती प्रदेशबाट गंगा बेलवासे र बेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् । त्यस्तै, प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर विजयी भएका हुन् ।  राष्ट्रिय सभाका १८ जनामध्ये नेकपाका १६ र राजपाका दुई सदस्य विजयी भएका छन् । प्रदेश २ मा नेकपा र राजपाबीच तालमेल भएको थियो ।

 कानुनमा के छ ?
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६८ अनुसार सदस्यले राष्ट्रिय सभा वा त्यसको कुनै समितिकोे बैठकमा भाग लिनुअघि राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष श
पथ लिनुपर्नेछ ।  ऐनमै निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा ३ बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन हुने गरी तोक्नुपर्ने उल्लेख छ ।

सोबाहेक अन्य कुनै कारणले पद रिक्त भई उपनिर्वाचन गर्नुपर्ने अवस्थामा पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्नुपर्ने व्यवस्था छ ।  त्यसैअनुसार राष्ट्रिय सभाको निर्वाचन भएको हो भने अब १८ जना सदस्य २० फागुनमा बाहिरिएपछि नवनिर्वाचित सदस्यहरूको शपथग्रहण हुनेछ ।