मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २१ मंगलबार ०६:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विश्व सम्पदा क्षेत्रका विद्यालय पुनर्निर्माणमा विवाद : चार वर्षदेखि टहरामै पठनपाठन

Read Time : > 1 मिनेट
२०७६ माघ २१ मंगलबार ०६:३१:००

काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सञ्चालित विद्यालय पुनर्निर्माणमा विवाद हुँदा चार वर्षदेखि टहरामै पठनपाठन भइरहेको छ । थोरै विद्यार्थी भएका अन्य क्षेत्रका विद्यालयसमेत पुनर्निर्माण भइसक्दा हजारौँ विद्यार्थी अध्ययनरत भक्तपुर, काठमाडौं दरबार क्षेत्रका बालबालिका भने कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य छन् । 

विश्व सम्पदा क्षेत्रमा परेको भक्तपुर दरबार क्षेत्रमा तीन माध्यमिक विद्यालय सञ्चालनमा छन् । दरबार क्षेत्रमा सञ्चालित एउटै विद्यालयमा एक हजार ६ सयसम्म विद्यार्थी अध्ययनरत छन् । तर, पुरातात्विक क्षेत्र भएकाले फलामेरड र सिमेन्ट प्रयोग गरेर (आरसिसी) भवन बनाउन नदिएपछि विद्यार्थी पीडामा परेका हुन् । पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाले सुर्की प्रयोग गरेर मात्र विद्यालय भवन बनाउने भए अनुमति दिने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षाका हिसाबले रड र सिमेन्ट नै प्रयोग गर्ने अडानले विद्यालय भवन निर्माण रोकिएको हो । 

भक्तपुर दरबार क्षेत्रमा सञ्चालित पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडाले राम्रो भवन नहुँदा विद्यार्थीले चार वर्ष टहरामै बिताएको बताए । करिब १६ सय विद्यार्थी रहेको यो विद्यालय पुरातात्विक  क्षेत्रमा भएकाले कस्तो बनाउने भन्ने विवाद रहेको उनको भनाइ छ । उनले भने, ‘भवन निर्माणका विषयमा धेरैपटक छलफल भयो, अब बन्छ कि भन्ने आशा छ, आधिकारिक चिठी नआएसम्म भन्न सकिँदैन ।’ विद्यालय परिसरको पछाडिपट्टि नयाँ भवन बनाउने र अगाडि पहिलेको जस्तै बनाउने गरी सहमति भएको उनले बताए । यो २००७ सालअघि नै स्थापना भएको विद्यालय हो । 

भक्तपुर दरबार क्षेत्रमै रहेको शारदा र विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि यस्तै समस्या छ । भूकम्प जानुअघि विद्यार्थी निकेतन माविले नयाँ भवन बनाएकाले कम समस्या भए पनि शारदा माविका विद्यार्थी भने टहरामै छन् । मध्यपुरथिमि नगरपालिकास्थित लामकु दरबारमा रहेको आदर्श आजाद मावि पनि पुरातात्विक  सम्पदाभित्र रहेका कारण पुनर्निर्माण हुन सकेको छैन ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) भक्तपुरका इन्जिनियर अजयकुमार साहले पुरातात्विक सम्पदाभित्र पर्ने भएकाले पुनर्निर्माण गर्न नदिएको बताए । सुर्की प्रयोग गरेर मात्रै विद्यालय भवन पुनर्निर्माण गर्ने भने पनि बनाउन नसकेको इन्जिनियर साहको भनाइ छ । भूकम्प गएपछि ‘रेड स्टिकर’ लगाएको भवनमै बसेर विद्यार्थी अध्ययन गरिरहेको उनले बताए । साहले भक्तपुरमा ८० विद्यालय बन्न नसक्ने अवस्थामा रहेको बताए । कतै थोरै जग्गा, कतै विद्यार्थी न्यून रहेका कारण विद्यालय पुनर्निर्माण हुन सक्ने अवस्था नरहेको उनले बताए । 

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रभित्र पनि तीन विद्यालय सञ्चालनमा छन् । यहाँ नव आदर्श मावि, कान्ति ईश्वरी मावि र कन्या मावि सञ्चालनमा छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ –शिक्षा शाखा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले दरबार क्षेत्रमा विद्यालय पुनर्निर्माण नहुने बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाले सम्पदालाई खुला बनाउने योजना बनाएको छ, सम्पदामा रहेका विद्यालय व्यवस्थापन गरेर बगैँचा बनाउने भएको छ ।’ सम्पदाभित्र र केही एकदमै न्यून जग्गामा रहेकाले विद्यालय पुनर्निर्माण गर्न सक्ने अवस्थासमेत छैन ।