१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ २१ मंगलबार ०६:१४:००
Read Time : > 1 मिनेट
खेलकुद

नेपाली मूलका सुरज ओमानबाट खेल्दै

Read Time : > 1 मिनेट
२०७६ माघ २१ मंगलबार ०६:१४:००

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न ओमानको राष्ट्रिय टोली सोमबार काठमाडौं आइपुगेको छ । टोलीका सदस्य सुरज कुमार नेपाली मूलका हुन् । त्यही भएर काठमाडौं ओर्लिँदा उनको भाव र उत्साह पनि फरक थियो । 

३१ वर्षीय सुरजको पुख्र्यौली घर बाग्लुङको बुर्तिबाङ हो । एकपटक बुर्तिबाङ पुगे पनि काठमाडौं भने पहिलोपटक आएको उनले बताए । बुधबार उनको टोलीले पहिलो खेल नेपालविरुद्ध खेल्दै छ । 

रोजगारीको सिलसिलामा सुरजका बाबु केयर सिंह र आमा सकुन्तला भारत पुगेका थिए । परिवारको जेठो सन्तानको रूपमा भारतमै जन्मिए सुरज । उतै क्रिकेट सिके । नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीसँगै उनले भारतमा विभिन्न प्रतियोगिता खेलेका छन् । उनी पनि सोमपालजस्तै स्वदेश फर्केर नेपालकै लागि खेल्न चाहन्थे । तर, आर्थिक अभावले वैदेशिक रोजगारीका लागि ओमान पुग्नुपरेको र त्यहीँबाट खेलेको उनले बताए ।

‘सन् २०१४ मा सोमपाल ट्रायलका लागि नेपाल आउँदा नै उनले मलाई पनि जाऊँ भनेका थिए । सोमपाल नेपाली राष्ट्रिय टोलीमा परिसकेपछि पनि कुरा भएको हो । तर, आर्थिक अवस्थाका कारण म भारतीय पासपोर्ट बोकेर वैदेशिक रोजगारीका लागि ओमान पुगेँ । घरको आर्थिक अवस्था बलियो भएको भए सायद नेपाल आउने थिएँ,’ सुरजले नयाँ पत्रिकासँग भने ।

आफूलाई धेरैले नेपालीकै हैसियतमा चिन्ने गरेकोमा खुसी मान्छन् उनी । ‘अहिले म एउटा खेलाडीको जिम्मेवारीमा छु । त्यो जिम्मेवारीअनुसार म जुन टोलीसँग छु, त्यसलाई जिताउन खेल्नैपर्छ । यो कुनै पनि खेलाडीको बाध्यता हो,’ सुरज भन्छन्, ‘तर, खुसी यसमै छु कि म नेपाली हुँ । जहाँबाट खेले पनि मसँगै नेपाल जोडिएको पाउँछु । फेसबुकमा धेरैले म्यासेज पठाउनुभएको छ । नेपाली हो भनेर चिन्नुभएको छ, त्यसले पनि खुसी छु ।’

सुरज सन् २०१५ मा वैदेशिक रोजगारीका लागि ओमान पुगेका थिए । ओमानमा उनी अल तुर्की नामको कम्पनीमा सेल्स म्यानको रूपमा काम गर्छन् । कम्पनीले सुरुवातमै जागिरसँगै उनलाई आफ्नो टोलीबाट क्रिकेट खेल्न ‘अफर’ गरेको थियो । कम्पनीको टोलीबाट क्रिकेट खेल्दा गरेको प्रदर्शनको आधारमै उनी ओमानको राष्ट्रिय टोलीमा छनोट भएका हुन् । कुनै खेलाडी कुनै पनि देशमा बसोवास गरेको तीन वर्ष पुगेपछि त्यस देशको राष्ट्रिय टोलीबाट खेल्न योग्य हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियम छ । सुरज त्यही प्रावधानअनुसार दुई वर्षदेखि ओमान राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । 

संयोगवश उनले नेपालविरुद्ध नै खेल्दै ओमानको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २०१८ मा मलेसियामा भएको एसिया कप छनोटअन्तर्गत नेपालविरुद्धको खेल नै ओमानको राष्ट्रिय टोलीबाट उनको पहिलो थियो । त्यसवेला ब्याटिङ नपाएका उनले फिल्डिङ मात्रै गरे । 

गत अक्टोबरमा ओमान आफैँले आयोजना गरेको पाँच देश सम्मिलित आमन्त्रण प्रतियोगितामा सुरजले दोस्रोपटक नेपालविरुद्ध खेले । त्यसवेला भने उनले अविजित ४६ रन प्रहार गरेका थिए । यसपालि उनी तेस्रोपटक नेपालविरुद्ध मैदानमा उत्रने छन् । यो सन् २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकप छनोटको आधार प्रतियोगिता लिग–२ शृंखला हो ।

छोराले नेपालमा खेलेको हेर्न सुरजका बुबा केयर सिंह र आमा सकुन्तला पनि मंगलबार बिहान काठमाडौं आइपुग्दै छन् । ‘म ओमानबाट सीधै नेपाल आइपुगेँ । बुबा र ममी पनि आउँदै हुनुहुन्छ,’ सुरजले भने, ‘उहाँहरूले पहिले नै नेपालमा खेल भयो भने हेर्न जान्छु भन्नुभएको थियो । उहाँहरू आफैँ योजना बनाएर नेपाल आउनुभएको हो ।’

सन् २०१८ पछि नियमित रूपमा ओमानको राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका सुरजले हालसम्म सात एकदिवसीय, १३ टी–२० र १५ लिस्ट ए मान्यता प्राप्त खेल खेलिसकेका छन् । यी खेलमार्फत उनले एकदिवसीयतर्फ ३६.२५ को एभरेजमा १४५ रन प्रहार गरेका छन् । लिस्ट एतर्फ ३४.१० को एभरेजमा ३४१ रन जोडेका छन् ।

तस्बिर : ज्ञानेन्द्र कार्की