मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
२०७६ माघ २० सोमबार १६:१६:००
Read Time : > 1 मिनेट
पर्यटन

कोरोनाले पर्यटनमा पारेको असर

Read Time : > 1 मिनेट
२०७६ माघ २० सोमबार १६:१६:००

नेपालले भ्रमण वर्ष २०२० मनाईरहँदा नोबेल कोरोना भाइरस पहिलो गाँसमै ढुंगा साबित भएको छ । यस वर्ष चीनबाट आश गरिएको साढे तीन लाख पर्यटकको संख्यापूर्ति गर्न सरकारले वैकल्पिक पर्यटन बजारको खोजीमा एउटा समिति गठन गरि काम अघि बढाएको छ । तर हालको लागि यस्तो वैकल्पिक बजार सरकारले काम गरेकोजस्तो देखाउने कुरामात्र भएको बताउँछन् पर्यटन व्यवसायी कृष्ण कुमार अर्याल । आउँदो मार्च÷एप्रिलको लागि उक्त विकल्पले काम गर्न नसक्ने उनको ठम्याई छ । ‘आजको भोलि नै प्लान बनाएर पर्यटक नेपाल घुम्न आउने होइन । वर्षौंको तयारी हुन्छ । पर्यटन जस्तो संवेदनशील क्षेत्रमा भोलि आउने विपतको लागि सरकारले अगाडि नै विकल्प तयार गर्नुपर्ने हुन्छ’, उनले भने । 

फेब्रुअरीको अन्तिमसम्म पनि कोरोना नियन्त्रण नभए चीन र  नेपालको भौगोलिक सामिप्यताका कारण यसको असर अन्य देशबाट आउने पर्यटकमा पनि देखिने अर्यालको मत छ । ‘अहिलेसम्म अमिरिकी र युरोपियनले भ्रमण रद्द गरेका छैनन् तर कोरोनाको नियन्त्रण नभए यसको प्रबल सम्भावना भने पक्कै छ’, उनले भने ।

अर्का पर्यटन व्यवसायी सुवर्ण श्रेष्ठ पनि यतिबेला विकल्पले काम गर्न नसक्ने बताउँछन् । यतिबेला सरकारले पर्यटक भित्र्याउने आफ्नो स्वार्थमा भन्दा पनि चीनलाई सहयोग गर्नुपर्ने उनको बुझाइ छ । नाटाका कार्यकारी सदस्यसमेत रहेका श्रेष्ठद्वारा सञ्चालित कम्पनीमा यो फेब्रुअरीको ६० वटा र आगामी मार्चको ८० वटा बुकिङ क्यान्सिल भएको छ । यस्तो विपतमा अपनाउने विकल्पबारे सोध्दा उनले भने, ‘प्राकृतिक प्रकोपलाई स्वीकार्नुवाहेक अन्य केही विकल्प हुनै सक्दैन ।’

चिनियाँ पर्यटक घुमाउने ट्राभल एजेन्सीका व्यवसायी श्रीराम थापा कोरोनाले गर्दा नेपालमा रहेका चिनियाँ पर्यटकलाई घुमाउन पनि गाइडहरू हिच्किचाइरहेको बताउँछन् । ‘क्वारेन्टाइन परीक्षण भएर आएका पर्यटक हुन् भनेर बुझाएपछि बल्ल गाइडहरू तयार हुन्छन्’, उनले भने । जनावरीको अन्तिमतिर चिनियाँ पर्यटक नेपाल घुम्न आउने समय थियो । ठिक त्यही समयमा कोरोनाको महामारी फैलिएपछि अधिकांश ट्राभल एजेन्सीको बुकिङ रद्द भएको छ । एयरलाइन्स कम्पनीहरूले अन्य देशमा उडान थपे चिनियाँ बाहेकका पर्यटक बढ्ने उनको बुझाइ छ ।  

अघिल्लो वर्ष चीनबाट एक लाख ६९ हजार पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको पछिल्ल्लो चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भइरहेको छ । यो वर्ष चिनियाँ राष्ट्रपति सि जिन फिङको भ्रमणपछि चिनियाँ पर्यटकको आगमन पहिला भन्दा बढ्ने आशा सरकारले गरेको थियो ।