मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १९ आइतबार १८:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

छाउगोठ भत्काउँदा प्रहरीमाथि आक्रमण

Read Time : > 1 मिनेट
२०७६ माघ १९ आइतबार १८:३३:००

अछाममा छाउगोठ भत्काउने क्रममा प्रहरीमाथि नै आक्रमण भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३, लामागाउँकी धना साउदले प्रहरीमाथि आक्रमण गरेकी हुन् ।

छाउगोठ भत्काउने क्रममा उनले भैंसी बाँध्ने किलोले प्रहरी हवल्दार धनबहादुर कैलाको ढाडमा हिर्काएकी थिइन् । सुरुमा उनले आफूलाई देउता चढेको भन्दै काँपेर छाउगोठ नभत्काउन आग्रह गरेकी थिइन् । तर प्रहरीले जबरजस्ती गोठ भत्काउन थालेपछि साउदले प्रहरीलाई आक्रमण गरेकी थिइन् ।

प्रहरी र सरोकारवालाहरूले साउदसहित स्थानीयसँग छाउगोठ भत्काउने विषयमा लामो छलफल गरेका थिए । तर छाउगोठ भत्काउने विषयमा स्थानीय सकारात्मक नभएपछि प्रहरीले जबरजस्ती छाउगोठ भत्काउन थालेको थियो । त्यही क्रममा ती महिलाले प्रहरीलाई आक्रमण गरेको अछामका प्रहरी प्रमुख डिएसपी दिपक भारतीले बताए ।

साउदको कुटाइबाट प्रहरी हवल्दार कैनीको ढाडमा नीलडाम बसेको छ । गाउँका सबै छाउगोठ भत्काउने लक्ष्यका साथ जयगढ प्रहरी चौकीको टोलीसहित स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवाला लामागाउँ पुगेका थिए ।

घटनापछि साउदलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । डिएसपी भारतीले छाउगोठ भत्काउने अभियान थालेयता प्रहरीमाथि आक्रमण भएको यो पहिलो हो । प्रहरी र स्थानीयले अहिलेसम्म जिल्लामा पाँच हजार तीन यस ५३ छाउगोठ भत्काइसकेका छन् । 

अभियानमा अवरोध गर्ने शिक्षक पक्राउ 
छाउगोठ भत्काउने अभियानमा अवरोध गरेको भन्दै प्रहरीले चौरपाटी–४, पायलको मष्टामान्डौ आधारभूत विद्यालयका शिक्षक खम्म धामीलाई पक्राउ गरेको छ । उनी छाउगोठ भत्काउन गाउँ गएका वडाध्यक्ष हर्कबहादुर लुहारलाई गालीगलौज गरेको उजुरी परेपछि पक्राउ परेका हुन् ।

शिक्षक धामीले छाउगोठ भत्काउने क्रममा वडाध्यक्ष लुहारलाई जातीय भेदभावसहित गाली गरेको भन्दै उजुरी परेको छ । सोही उजुरीका आधारमा शिक्षक धामीलाई पक्राउ गरेर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।