२०७६ माघ १८ शनिबार १३:०९:००
मल्टिमिडिया

रानीपोखरी र धरहरा पुनर्निर्माण, फर्केला पहिलाकै संरचनामा ?

२०७६ माघ १८ शनिबार १३:०९:००

रानीपोखरी र धरहरा पुननिर्माणको काम तीब्रगतिमा हुँदैछ । लामोसमयदेखि विवादित यी संरचना पुननिर्माण प्राविधिकरणले जिम्मा पाएसँगै निर्माणको कामले गति लिन थालेको हो ।

१२ वैशाख २०७२ को भूकम्पले क्षति पुगेका यी संरचना ऐतिहासिक संरचना मानिन्छ ।

भुकम्पले निकै क्षति पु¥याएको यी संरचना नबन्ने हो की ? पहिलाकै जस्तो नहुने हो कि ? भन्ने आम चासोको विषय बनेको थियो ।  

भूकम्प गएको १० महिना पछि २ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पूनर्निर्माणको सुभारम्भ गरे पनि काम भने अघि बढ्न सकेको थिएन । 

पुननिर्माण प्राधिकरणले रानीपोखरी आगामी १२ वैशाख अर्थात भुकम्प गएकै मिति र समयमा उद्घाट गर्ने गरी निर्माणको कामलाई अघि बढाएको पुननिर्माण प्राविधिकरण अन्तर्गत पुरातत्वविद् राजु मानन्धरले जानकारी दिए  ।

पोखरी निर्माणको काम उपभोक्त समितिले निर्माण गर्दै आएको छ भने वाल गोपालेश्वरको मन्दिर, पूल र सौन्दर्यकरणको काम भने सि.एम.सी जेभीले गर्दै आएको छ । 

पोखरी निर्माणको काम झण्डै ५० प्रतिशत सकिएको उनले बताए । पोखरीमा माटो भर्न बढी समय लाग्ने भएकाले फागुन मसान्तसम्ममा पोखरी निर्माणको पाटो सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

पोखरीमा हालिएको माटो खानीबाटै ल्याउनु पर्ने बाध्यता रहेकाले पोखरी निर्माणमा समय लागेको उनले बताए । 

त्यस्तै, रानीपोखरी भित्रको पूल निर्माण पनि ८० प्रतिशत सकिएको मानन्धरले जानकारी दिए । पुलमा १९ वटा ठूला प्वाल बनाउनुपर्नेमा १७ वटा बनिसकेको छ । 

मानन्धरका अनुसार चन्द्रशमशेरको पालमा पूनर्निर्माण गर्दा गुम्बज शैलिमा निर्माण गएिको मन्दिर भत्काएर पुरानै शैलिमा निर्माण गरिनेछ । मन्दिरको उचाई ५३ फिटको हुनेछ ।

धरहरा पुननिर्माण, ०७७ कत्तिकमा सक्ने
भुकम्पले क्षति पु-याएको अर्को ऐतिहासिक संरचना धरहराको पुननिर्माण पनि यतिबेला तीब्र गतिमा भइरहेको छ । भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा केपी शर्मा ओलीले ‘मै बनाउँ छु, मेरो धरहरा’ भन्ने नारा अभियान समेत चलाएका थिए । अभियानको गति त्यति प्रभावकारी हुन नसकेपछि पुननिर्माण प्राविधिकरणलाई जिम्मा दिएको थियो ।

पुननिर्माण प्राविधिकरणले जिम्मा पाएपछि निर्माण तीब्रताका साथ अघि बढेको छ । वि.सं.१८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप बनाएको उक्त धरहरा त्यसको एक सय आठ वर्षपछि वि.स. १९९० को भुकम्पले भत्किएको थियो । पूनः तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भुकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनःनिर्माण गराएका थिए ।

तर, अब भने पहिलाकै झै चुनढुङ्गाबाट मौलिक संरचनामा नभइ आधुनिक शैलीमा निर्माण हुन लागेको पुरातत्व विद् मानन्धरले जानकारी दिए ।हालसम्म छैटौं तल्लाको काम सकेर सातौं तला बनाउने तयारी भएको मालन्धरले बताए । २९ माघसम्ममा सातौं तलाको निर्माण सक्ने उनको भनाई छ । बाहिर हेर्दा जुद्ध समशेरले बनाएको जस्तो देखिएपनि पहिलेको भन्दा निकै भिन्न र आधुनिक हुने उनले जानकारी दिए ।
हाल बन्न थालेको धरहरामा दुई तला अन्डरग्राउण्ड कार पार्किङ छ । चढ्न झर्नका लागि ‘लिफ्ट’ राखिने छ । 

तर, पुरातत्व विद्हरूले भने धरहरा भित्र ‘लिफ्ट’ राख्न नहुने भन्दै विरोध जनाइरहेका छन् । मालन्धरले भने ‘यसमा विरोध गर्नु कुनै तुक छैन, धरहरा विशुद्ध आधुनिक तरिकारले निर्माण भइरहेकोले यसलाइ जुन ढाँचाबाट पनि लैजान सकिन्छ ।’ 

मानन्धरका अनुसार हालसम्म रानीपोखरी पुननिर्माणमा ८ करोड र धरहरामा ८४ करोड रूपैयाँ बजेट खर्च भइसकेको छ । पुननिर्माण प्राधिकरणले धरहराको पुननिर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको छ ।

पुननिर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बन्दै गरेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।

तस्बिर : संजित परियार / दीपेन्द्र ढुंगाना