मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ १८ शनिबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

अज्ञात समूहद्वारा नेकपा गाउँपालिका कमिटी अध्यक्षमाथि कुटपिट 

Read Time : < 1 मिनेट
२०७६ माघ १८ शनिबार १२:२९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका–३ को वडा कमिटी बैठकमा सहभागी हुन बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।

बैठकमा भाग लिन माेटरसाइकलमा जाँदा आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले राेकी जोशीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले बताए ।

जाेशी सवार माेटरसाइकलमा साे समूहले आगजनीकाे प्रयाससमेत गरेकाे थियाे । आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेटिएका थिए । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए । 

उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्र बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएका छन् । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलग्नलाई यथाशीघ्र खोजी कानुनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ । 

कुटपिटबाट गम्भीर घाइते जोशीलाई उपचारका लागि धनगढी लगिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको नेकपा डडेल्धुराले जनाएको छ  ।