मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १७ शुक्रबार १७:२१:००
Read Time : > 1 मिनेट
समाचार

परीक्षाको मुखमा महोत्सव गर्न एक साता विद्यालय बन्द

सोच्नेले विचार नपुर्‍याएपछि मैले के गर्ने ?

Read Time : > 1 मिनेट
२०७६ माघ १७ शुक्रबार १७:२१:००

माघ र फागुन शैक्षिक सत्रको महत्वपूर्ण महिना हो । वार्षिक परीक्षा नजिकिँदै गर्दा यी महिनामा विद्यार्थीले बढी मात्रामा पढ्ने गर्दछन् । तर, गुल्मीको मुसिकोट नगरपालिका-७ वामीको महेन्द्र आर्दश मावि एक हप्ताका लागि बन्द गरिएको छ- त्यो पनि महोत्सवका लागि । उक्त विद्यालय नगरको सबैभन्दा ठूलो र महत्वपूर्ण शिक्षालय हो । गत १५ माघदेखि प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योकि तथा व्यापार महोत्सव संचालन भएसँगै विद्यालय बन्द भएको हो ।

विद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटाले आफू बन्द गर्ने पक्षमा नभए पनि चौतर्फी दबावका कारण यस्तो निर्णय गर्नु पर्ने बताए । विद्यालयमा यस वर्षदेखि प्राविधिक शिक्षासमेत सुरु भएको छ । महोत्सवका कारण ४२ जना सिभिल इन्जिनियरिङ्गसहित नौ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ । ‘अहिले होस्टेलका विद्यार्थीहरू अध्ययनमा रहेका छन्, तर कम्पाउण्डमा खेल भइरहेको छ,’ उनले भने, ‘सोच्नेले विचार नपुर्‍याएपछि मैले के गर्ने ?’

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा मुसिकोट नगरपालिका-७ का वडाध्यक्ष प्रकाश काफ्लेले समुदायले आयोजना गरेको महोत्सवसँग विद्यालय पनि जोडिएपछि बन्द गर्ने निर्णय भएको बताए । उनले विद्यालय संचालन भए पनि महोत्सव स्थल विद्यालयको नजिक भएकाले बिदा गर्नुको विकल्प नभएको बताए । विद्यालयको नजिक महोत्सव स्थल छनौट हुनु नै विद्यार्थीको हितविपरीत छ ।

महोत्सव मुल आयोजक समिति संयोजक तथा मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले सर्वपक्षीय निर्णयले विद्यालय बन्द गरेको बताए । 'महोत्सव स्थल वामीकै रुद्रावती क्याम्पस र महेन्द्र आदर्श मावि नजिक राख्ने विषयमा आयोजकमध्ये विवाद थियो । तर बजारकै केही व्यक्तिको दबावमा बिद्यालयको पढाइ प्रभावित हुने गरी महोत्सव संचालन गरिएको हो,' आयोजकमध्येका एक सदस्यले भने ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफूहरुले माघ १५ गते मात्रै सार्वजनिक बिदा दिएको बताए । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका थिए । महोत्सव २७ माघसम्म संचालन हुनेछ । महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । २५ निशुल्क र एक सय २५ वटा व्यवसायिक गरी एक सय ५० स्टल राखिएको स्टल व्यवस्थापन उपसमिति संयोजक सुन्दर प्रधानले बताए ।