१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १७ शुक्रबार ०७:४४:००
Read Time : > 2 मिनेट
अर्थ

गुरुङले जिते पल्सर डेयर भेन्चर

Read Time : > 2 मिनेट
२०७६ माघ १७ शुक्रबार ०७:४४:००

- बजाजले सन् २०१३ देखि एडभेन्चर बाइक रियालिटी सो आयोजना गर्दै आइरहेको छ

- आवेदन दिएका ८ हजारमध्ये १२ जना राइडरले महेन्द्रनगरबाट बोर्डर पार गरेका थिए

- प्रतियोगी राइडर महेन्द्रनगरबाट लद्दाखको पाङओङ लेकसम्म बाइक हाँकेरै पुगेका थिए

बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर सिजन ४’का विजेता गोर्खाका जेनिस गुरुङ बनेका छन् । उनले १० लाख रुपैयाँ नगदसहित पल्सर एनएस–२०० बाइक र नेपाल बेस्ट राइडर अवार्ड पनि जिते । जेनिससहित प्रदीप तामाङ र सौरभ केसी सिजन फोरको फाइनलमा पुगेका थिए । 

बजाज बाइकको नेपाली विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले २०१३ देखि नियमित रूपमा एडभेन्चर बाइक रियालिटी सो आयोजना गर्दै आइरहेको छ । तीनवटा सिजन नेपालमै गरेको कम्पनीले चौथो सिजनका लागि भारतको लद्दाख रोजेको थियो । लद्दाख विश्वभरिका बाइक राइडरको लोकप्रिय गन्तव्य हो । 

चौथो सिजनमा देशभरबाट ८ हजार जना राइडरले आवेदन दिएका थिए, जसमध्ये १२ जना राइडरले महेन्द्रनगरबाट भारतको बोर्डर पार गरेका थिए । बोर्डर पार गर्नेहरूमा सौरभ केसी, प्रियंका सिटौला, उर्मिला श्रेष्ठ, जयन्ती श्रीस मगर, जेनिस गुरुङ, प्रदीप तामाङ, निशान्त कुमार शाह, आकृति घले, सशांक बोहोरा, निरज महर्जन, जितबहादुर बडैला र सिजनराज महत रहेका थिए । मेलिना रायमाझी, सागर हमाल, गौरव साही र समीर थापामगर महेन्द्रनगरको बोर्डरसम्म पुगेर घर फर्किएका थिए । 

प्रतियोगी राइडर महेन्द्रनगरबाट लद्दाखको पाङओङ लेकसम्म बाइक हाँकेरै पुगेका थिए । पल्सर डेयर भेन्चरका मार्सल पासाङ खम्बाचे शेर्पाका अनुसार राइडरले पल्सर बाइकमै ३ हजार किमिभन्दा लामो यात्रा गरेका थिए । यो यात्रामा राइडरले तराईको हपहपी गर्मीदेखि निकै चिसो ठाउँसम्म बाइकमा यात्रा गरेका थिए । पल्सर डेयर भेन्चरको पहिलो सिजन मुस्ताङ, दोस्रो सोलुखुम्बु र तेस्रो मनाङमा आयोजना गरिएको थियो ।

‘मेरो एउटा सपना पूरा भएको छ,’ पल्सर डेयर भेन्चरका विजेता जेनिस भन्छन्, ‘म निकै उत्साहित छु, आफूलाई बल्ल एडभेन्चर राइडर भएको अनुभव भइरहेको छ ।’ उनी पल्सर डेयर भेन्चरको दोस्रो सिजनदेखि नियमित सहभागी भइरहेका थिए । सोलुमा भएको दोस्रो सिजनमा टप १६ मा पुगेर फालिए । मनाङमा भएको तेस्रो सिजनमा टप ५० बाटै आउट भए । ‘म जसरी पनि पल्सर डेयर भेन्चरको विजेता बनेरै छाड्छु भन्ने थियो, एक वर्ष ढिलो गरी आयोजना हुँदा पनि चौथो सिजन कुरेरै बसेको थिएँ,’ उनले उत्साहित हुँदै भने, ‘नभन्दै चौथो सिजनको नतिजा मेरै पक्षमा आयो ।’ 

जेनिसका अनुसार चौथो सिजन निकै रोमाञ्चक र लाइफ टाइम एक्सपेरियन्स भयो । ‘बाइकमा धेरै लामो यात्रा गरियो । समथर तराईदेखि ५४ सय ८० मिटर अग्लो उचाइसम्म बाइक कुदाइयो, विश्वकै अग्ला मोटरेबल पासहरू पार गर्दै अगाडि बढ्नुको मज्जा बेग्लै थियो,’ उनी थप्छन् । यो यात्रामा राइडरहरूले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित रोमाञ्चक अनुभव पनि बटुलेको हंसराज हुलासचन्द एन्ड कम्पनीकी सहायक महाप्रबन्धक पुनम सिंहले बताइन् । 

काठमाडौंबाट सुरु भएको यात्रा ऋषिकेश, चन्डीगढ, मनाली, रोताङ पास (३९०० मि.), नकिला पास (४७३८ मि.), लाचुङला पास (५०६४ मि.), ताङ्लाङ्ला पास (५३६० मि.), लद्दाखको ले सिटी, खारदुङ्ला पास (५४८० मि.), नुर्बा भ्याली हुँदै पाङओङ लेकसम्म पुगेको थियो । खारदुङ्ला र ताङ्लाङला क्रमशः विश्वकै सबैभन्दा अग्ला पासमध्ये पहिलो र दोस्रो नम्बरमा पर्छन् । 

चौथो संस्करणको पूरै ‘फम्र्याट’ नै परिवर्तन गरिएको थियो । टास्क पनि फरक थिए । ‘योपटक अल्टिच्युडको यात्रा मात्र होइन, प्रतियोगीलाई टास्क पनि निकै कठिन थिए,’ डेयर भेन्चरका होस्ट रोबिन तामाङले भने । यो सिजनको क्रिएटिभ डाइरेक्टर, एसोसिएट डाइरेक्टर र एडिटरमा इन्डियाको अनुभवी टिम थियो । भारतकै रियालिटी सो क्षेत्रमा ख्याति कमाएका विवेक भूषण माथुर (बम्पी) चौथो सिजनका क्रिएटिभ डाइरेक्टर थिए । दोस्रो संस्करणदेखि काम गर्दै आइरहेका सिमोस सुनुवारले चौथो सिजमा पनि डाइरेक्सनको भूमिका निर्वाह गरेका छन् ।