मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
  देवेन्द्र कार्की 
२०७५ माघ ३ बिहीबार ०९:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

धरानमा विनाशकारी महाभूकम्पको सम्झना

Read Time : > 1 मिनेट
  देवेन्द्र कार्की 
२०७५ माघ ३ बिहीबार ०९:५७:००

प्रदेश १ अन्तर्गतका विभिन्न जिल्लामा विविध कार्यक्रम आयोजना गरेर २१औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । धरानमा भएको प्रभातफेरीका सहभागीले विसं १९९० र २०४५ सालको महाभूकम्पको सम्झना गरेका छन् । 

२१औँ भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति, सुनसरी र धरान उपमहानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको र्‍यालीमा सहभागी भएकाहरूले ‘विपत्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 

कहिले कति क्षति ?
विसं १९९० माघ २ गते गएको ८.५ रेक्टर स्केलको महाविनाशकारी भूकम्पमा परेर झन्डै आठ हजार पाँच सयजनाको मृत्यु भएको थियो । त्यस्तै, २०४५ भदौ ५ गते बिहान ५ बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिवेला धरान नगर क्षेत्रका एक सय १६ जनाको मृत्यु भयो भने एक हजार पाँच सयजना घाइते भएका थिए । अहिले पनि धरान १३ र १४ वडा तथा पुरानो बजार क्षेत्रका अधिकांश घरहरू भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण अवस्थामै छन् । 

२०७२ वैशाख १२ गते गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा काठमाडौं उपत्यकासहित देशभरका झन्डै नौ हजार मानिसको ज्यान गएको थियो । २२ हजार मानिस घाइते भएका थिए । यस भूकम्पमा आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र १० अर्ब अमेरिकी डलरबराबरको धनसम्पत्तिमा क्षति पुगेको थियो । ‘अबउप्रान्त यस्तो घटनामा धेरै धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले २०५५ सालदेखि नै माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो,’ धरान उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले भने । 

‘दह्रो घर, दिगो बस्ती’
विराटनगर/‘दह्रो घर, दिगो बस्ती’ मूल नाराका साथ राष्ट्रिय भूकम्प दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, संघीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

भद्रपुरमा प्रभातफेरी र अन्तरक्रिया
झापा/राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा झापाको भद्रपुरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रभातफेरीका सहभागीले ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर, सस्तो सुलभ वैज्ञानिक प्रविधिको विकास गरौँ’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा भद्रपुरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।